स्वास्थ्य

कानुन छ, चेतना छैन

मस्तिष्क मृत्युपछिको अंगदान

फाइल तस्वीर

सरकारले मस्तिष्क मृत्यु (ब्रेनडेथ) पछि अंगदानका लागि बाटो खोल्दै सात वर्षअघि कानुन निर्माण गर्‍यो। ब्रेनडेथ भएका एक व्यक्तिको अंगबाट सातजनासम्मले नयाँ जीवन पाउने चिकित्सकहरुको भनाइ छ, तर पछिल्लो सात वर्षमा जम्मा पाँचजनाले मात्र अंगदान गरेका छन्।

आइतबार विश्व अंगदान दिवस विभिन्न कार्यक्रम गरी मनाइए पनि चिकित्सकहरूले नेपालमा अहिले पनि अंगदान गर्ने विषयमा भ्रम कायमै रहेको बताए। ‘अंगदान गरेमा अर्को जुनीमा आँखा नभएको, कुनै अंग नभएको जन्मिने हो कि भन्ने भ्रम अहिले पनि छ’, धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने।

कुनै पनि व्यक्तिको चोटपटक या अन्य कारणले मस्तिष्कको मृत्यु भएपछि व्यक्तिका विभिन्न अंग अरू बिरामीलाई प्रत्यारोपण गर्ने उद्देश्यले दिइने प्रक्रियालाई मस्तिष्क मृत्यु (ब्रेनडेथ) पछिको अंगदान भनिन्छ। यस्तो दान मस्तिष्क मृत्यु हुनुअघि नै सोही व्यक्तिले अंगदान दिइसकेको अवस्थामा र परिवारको सदस्यको अनुमतिमा अरू व्यक्तिका लागि दान गर्न सकिन्छ। मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएको व्यक्तिको छिटोभन्दा छिटो शल्यक्रिया गरी निकालिन्छ र आवश्यक परेको अर्को व्यक्तिमा २४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ। नेपालमा मस्तिष्क मृत्युपछि मिर्गौला, कलेजो, फोक्सो, प्यानक्रियाज, मुटु र सानो आन्द्रा दान गर्न सकिन्छ।

आइतबार विश्व अंगदान दिवस विभिन्न कार्यक्रम गरी मनाइए पनि चिकित्सकहरूले नेपालमा अहिले पनि अंगदान गर्ने विषयमा भ्रम कायमै रहेको बताए।

अंगदानसम्बन्धी पूर्व कानुनी व्यवस्थाले जीवित व्यक्तिबाट जीवित व्यक्तिमा मात्र अंगदान दिने र नजिकका नाताबाट मात्र दिन मिल्ने प्रावधान राखेकोमा २०७२ सालमा सरकारले कानुन संशोधन गरी ब्रेनडेथ भएका व्यक्तिको पनि अंगदान र प्रत्यारोपणको व्यवस्था गरेको थियो।

 अंगदानसम्बन्धी नयाँ कानुनी व्यवस्थाले ५१ किसिमका नाताले अंग दिन मिल्छ। नाताबाट अंग नमिलेको अवस्थामा दाताहरूबीच विनिमय गरेर पनि अंगदान गर्न मिल्ने व्यवस्था गरेको छ।

मस्तिष्क मृत्यु (ब्रेनडेथ) अंगदान अर्थात् अंगदानका लागि खुकुलो कानुनी व्यवस्था भए पनि जनताको तहमा व्यापक जनचेतनाको कमीले अहिले पनि नेपालमा सहजै अंगदान हुन नसकेको उनीहरू बताउँछन्।

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म साना अस्पतालबाट मस्तिष्क मृत्यु भएकामध्ये पाँचजनाबाट १० वटा मिर्गौला र ३ वटा कलेजो दान भएको छ। ती सबै अंग मिर्गौला र कलेजो बिग्रेकाहरूमा प्रत्यारोपण गरिएको थियो। कानुन बनेको ७ वर्ष बितिसक्दा पनि हालसम्म बेनडेथ भएका व्यक्तिहरूबाट भएको डा. श्रेष्ठले औंल्याए।

अंगदानसम्बन्धी पूर्व कानुनी व्यवस्थाले जीवित व्यक्तिबाट जीवित व्यक्तिमा मात्र अंगदान दिने र नजिकका नाताबाट मात्र दिन मिल्ने प्रावधान राखेकोमा २०७२ सालमा सरकारले कानुन संशोधन गरी ब्रेनडेथ भएका व्यक्तिको पनि अंगदान र प्रत्यारोपणको व्यवस्था गरेको थियो।

उनका अनुसार विकसित मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुन्छ। हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको पर्खाइमा छन्।

नेपालमा हरेक वर्ष ३ हजार जना मिर्गौला र एक हजार जना कलेजो प्रत्यारोपण गर्ने अवस्थाका छन्। नेपालमा सन् २०१६ मा पहिलोपटक मस्तिष्क मृत्युबाट पाएको मिर्गौला प्रत्यारोपण भएको थियो भने २०१९ मा मस्तिष्क मृत्युपछि भएको कलेजो दान प्रत्यारोपण भएको थियो।

अंगदानका लागि हालसम्म २६ सय जनाले मानव अंग प्रत्यारोेपण केन्द्रमा दर्ता गराएका छन्। अस्पतालहरूमा हुने मस्तिष्क मृत्युपछिको अंगदान भने कम संख्यामा रहेको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले बताइन्।

उनका अनुसार राजाधानीका ठूला अस्पतालहरूबाटै अहिलेसम्म मस्तिष्क मृत्युपछिको अंगदानका लागि खबर आउन सकेको छैन। आइतबार राष्ट्रिय ट्रमा सेन्टरबाट खबर आए पनि प्रहरीले उजुरी लिन नमानेपछि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान हुन नसकेको जानकारी दिइन्। ‘सात दिनदेखि आइसियुमा बे्रनडेथ भएका व्यक्ति हुनुहुन्छ, परिवारले अंगदान गर्न चाहनुभएको छ, तर प्रहरीको प्रक्रियाले रोकिएको छ’, डा. श्रेष्ठले भनिन्।

प्रत्यारोपणपछि गुणस्तरीय जीवन पाउन सफल हुने र परिवारलाई पनि भार कम जटिल दीर्घरोगमा अंग प्रत्यारोपण नै उचित उपाय भएकाले सरकारले मिर्गौलाको डाइलासिसमा भन्दा प्रत्यारोपणमा खर्च बढाउन डा. श्रेष्ठले सुझाए। साथै हरेक व्यक्तिले जीवनकालमै आफ्नो अंगदान गरेमा मृत्युसँगै थप पाँचजनालाई जीवन दिन सकिने बताए। ‘आफ्नो अंगलाई खरानी भएर जान दिने कि? अंगदान दिएर थप पाँचजनालाई नयाँ जीवन दिने?’, डा. श्रेष्ठले भने।

उनका अनुसार नेपालको हकमा दुईवटा मिर्गौला, एउटा कलेजो, दुइटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यानक्रियाज र एउटा सानो अंग दान दिन मिल्छ। यसैले मस्तिष्क मृत्युबाट दिइने अंगदानले धेरैलाई बचाउन सकिन्छ।

अंगदानका लागि हालसम्म २६ सय जनाले मानव अंग प्रत्यारोेपण केन्द्रमा दर्ता गराएका छन्। अस्पतालहरूमा हुने मस्तिष्क मृत्युपछिको अंगदान भने कम संख्यामा रहेको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले बताइन्।

सोही क्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेतले नेपालमा नसर्ने रोगको भार बढिरहेको बेला अंगदानको महत्व बढ्दै गएको बताए।

नेपालमा हाल १० देखि १५ प्रतिशतमा रक्सी सेवनका कारण लिभरसिरोसिस हुने गर्छ। नेपाल मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर भए पनि कलेजो प्रत्यारोपणमा अहिले पनि पूर्ण आत्मनिर्भर नभएको केन्द्रले जनाएको छ।

अहिले पनि कलेजो प्रत्यारोपण गर्दा भारतीय विज्ञको सहयोग लिने गरिन्छ, तर नेपालमै कलेजो प्रत्यारोपण गर्दा बिरामीको अनावश्यक खर्च घटेको उनीहरूले औंल्याएका छन्। हाल नेपालमा उपत्यकाभित्र तीनवटा अस्पताल र उपत्यकाबाहिर चारवटा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भइसकेको छ भने कलेजो प्रत्यारोपण टिचिङ अस्पताल महाराजगन्ज, चितवन मेडिकल कलेज र धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा भइरहेको छ।

विश्व अंगदान दिवसका अवसरमा धर्मभक्त अंग प्रत्यारोपण केन्द्र र लिभर फाउन्डेनसनले नेपालमा सरकारले मिर्गौला तथा अन्य जटिल रोगमा सहयोग प्रदान गरको भए पनि कलेजो उपचारमा विभेद गरेको गुनासो गरे। लिभर फाउन्डेसनका अध्यक्ष उमेशजंग रायमाझीले भने, ‘नेपालमा अन्य रोगमा जस्तै कलेजो बिग्रेकाहरूको प्रत्यारोपणका लागि सरकारले सहयोग गर्नुपर्छ’, उनले मन्त्री बस्नेतलाई अनुरोध गर्दै भने। रायमाझीले कलेजो प्रत्यारोपण भारतमा गराएका थिए।

अंग प्रत्यारोपण हुने पुरुष दिने महिला

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म मिर्गौला प्रत्यारोपण भएका मध्येमा ७८ प्रतिशत अंग लिनेमा पुरुष र दिनेमा महिला छन्। जम्मा २८ प्रतिशत महिलामा मिर्गौला प्रत्यारोपण भएको छ। आमाले छोराले, श्रीमतीले पतिलाई, दिदीले भाइलाई दिने या दाइलाई दिने कारण नेपालमा अंगदान गर्नेमा महिला बढी भएको डा. श्रेष्ठले बताए। मिर्गौला दान दिने व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उनीहरू स्वस्थ हुने बताए।

वीर अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कलेजो प्रत्यारोेपण सेवा सुरु गर्ने घोषणा गरेका छन्। विश्व अंगदान दिवसका अवसरमा कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। ‘मैले कुनै पनि स्रोतबाट वीर अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने छु’, उनले भने। 

प्रकाशित: २९ श्रावण २०८० ०३:२७ सोमबार

कानुन छ चेतना छैन मस्तिष्क मृत्युपछिको अंगदान वीर अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने