स्वास्थ्य

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताए। ‘ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ’, उनले, ‘त्यसैले टाइफाइड रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाइ र वातावरण स्वच्छ राख्नु हो।’

मन्त्रालयले सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने, बेला–बेलामा साबुनपानीले मिचीमिची हात धुने, राम्ररी पकाएको र सधैँ छोपेर राखेको खानामात्र खाने भने जानकारी पनि दिएको छ । यस्तै बासी, सडेगलेको र झिङ्गा भन्केको खाना कहिल्यै नखाने र पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याब्लेट प्रयोग गरी सफा र सुरक्षित पानी पिउने गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: ४ जेष्ठ २०८० १५:०० बिहीबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी