स्वास्थ्य

पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६१ जनाले लिए सेवा

पाठेघरको  जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। सान्नीत्रिवेणी गाउँपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजनाले सोमबार मुम्रा स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।  

परियोजना अधिकृत भरत हमालले शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको जानकारी दिए। उनका अनुसार शिविरबाट गाउँपालिका वडा नं ८ र ९ का ६१ जना महिलाले सेवा लिएका छन्।  

शिविरमा जिल्ला अस्पताल कालिकोटकी अस्पताल नर्सिङ निरीक्षक मिरा शाहीसहितको स्वास्थ्यकर्मीको टोलिले जाँच गरेको थियो। स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको उनले जानकारी दिइन्।  

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम गरेको उनले बताइन।  

स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका चार जना महिलाको रिङ पेसरी राखिएको र चार जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा  रिफर गरिएको परियोजना अधिकृत हमालले जानकारी दिए। उनका अनुसार तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि औषधि वितरण गरिएको छ।  चार वर्षीय समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इच) परियोजना सन् २०२२ देखि सान्नित्रिवेणी गाउँपालिकामा लागू छ।

पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सेवा लिदै बिरामी तस्विर ललित विष्ट कालिकोट ।  

प्रकाशित: २५ फाल्गुन २०७९ ०६:२६ बिहीबार