स्वास्थ्य

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिको आयोजनामा तृप्ति फाउन्डेसन अस्ट्रेलियाको आर्थिक तथा काठमाडाैं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा आयोजित शिविरको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्दै महिलाका संवेदनशील अंगमध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचार गर्नुपर्ने बताए। फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिनसमेत आयोजकले अनुरोध गरेको छ।

मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरूको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरूको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए।

स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि म्याग्दीका सबै स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना रहेको बताउँदै पहिलो चरणमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सञ्चालन गरिने बताए।

स्क्रिनिङ शिविरको अवसरको पहिलो दिन १ सय ४२ जनाले नाम दर्ता गरेको मोना आइइसीका सचिव सुबोध बरुवालले बताए। काठमाडौं क्यान्सर सेन्टर भक्तपुरका डा. किशोर प्रधानले पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केही मात्रामा समाधान हुने र हरेक महिलाले ३० देखि ६० वर्ष उमेरमा चेकजाँच गर्नुपर्ने बताए।

महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके मात्रै पनि धेरै रोगबाट बच्न सकिने डाक्टर प्रधानको भनाइ थियो। डा. प्रधानको नेतृत्वमा चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मीको टोली शिविरमा रहेको छ। शिविरका आर्थिक सहयोगदाता तृप्ति फाउन्डेसनको संस्थापक मोना आइइसीका महासचिव हरि राम्जाली हुन्।

शिविरमा रघुगंगा–२ का वडाध्यक्ष अमृत भण्डारी, मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष महेन्द्र खड्का, मोना युएईका अध्यक्ष सुवास राम्जाली, मोना मलेसियाका प्रतिनिधिका पूर्ण रोका मगर, मोना डेनमार्क प्रतिनिधि पदम शर्मालगायतको उपस्थिति रहेको थियो। रघुगंगामा फागुन २४ र २५ गते र अन्नपूर्ण गाउँपालिकामा २६ र २७ गते शिविर सञ्चालन हुने आयोजकले जनाएको छ। 

प्रकाशित: २५ फाल्गुन २०७९ ००:४८ बिहीबार

दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समिति