नेपालगन्जस्थित वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेड क्षमताको ‘लेभल तीन आइसियु सेवा’ सञ्चालनमा ल्याएको छ।
आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि १/१ जना तालिम प्राप्त ‘डेडिकेटेड’ नर्सका साथै चौबिसै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेण्ट’ डाक्टर ड्युटीमा रहने व्यवस्था मिलाइएको अस्पतालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
‘यस्तो सुविधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो,’ प्रबन्ध निर्देशक डा. राहुल थापाले भने। अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकका बारेमा जानकारी दिनका लागि डब्ल्यु.एच.ओ. को प्रोटोकल अनुसार बिरामीको हेल्थ इण्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको उनले बताए।
आइसियुमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्स कार्यरत रहेको डा. थापाले बताए। अस्पतालले क्बालिटी अफ नर्सिङ र आइसियु मै २४ घण्टा कन्सल्टेण्ट चिकित्सकको व्यवस्था गरेर गुणस्तरीय उपचार सेवालाई विशेष रूपमा केन्द्रित गरेको छ।
त्यसै गरी उपचार सेवालाई थप प्रभावकारी बनाउन अस्पतालले टिचिङ, ह्याम्स, ग्राण्डी जस्ता सुविधा सम्पन्न अस्पतालको आइसियु विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफसँग सहकार्य गर्दै आइरहेको जनाएको छ।
‘आइसियु मै डाइलासिस सुविधा छ, ६ वटा भेन्टिलेसन सहित अत्याधुनिक उपकरणहरू छन्, वेष्टर्न अस्पतालले आजैदेखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेको छ, केही दिन मै ६ बेडको एनआइसियु सञ्चालन गर्ने तयारी गरिरहेको छ,’ डा. थापाले भने ‘वेष्टर्न अस्पतालमा ९ बेडको अप्रेसन थिएटर छ, आइसियु लगायतका सुविधा बढाउनका लागि करिब ५ करोड रुपैयाँको लागतमा उपकरण र पूर्वाधारहरू थप गरिएको छ।’
अस्पतालको क्रिटिकल केयर विभागमा डा. पारस पाण्डे, मेडिसिन विभागमा कन्सल्टेन्ट फिडिसियन डा. मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफको टिम कार्यरत रहेको जानकारी दिएको छ।
विगत १९ वर्षदेखि सञ्चालित एक सय बेडको क्षमताको उक्त अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले निकट भविष्यमा बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालन गर्ने तयारी गरिरहेको प्रबन्ध निर्देशक डा. थापाले जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०७९ १४:४४ आइतबार