काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई घरमै सेवा दिने उद्देश्यले सुरु गरेको स्वास्थ्य सर्वेक्षणमा १०८ जनाको स्वास्थ्य अवस्था खतरायुक्त (रेड जोन) मा रहेको देखिएको छ। महानगरले पछिल्लो समय आवश्यक पर्ने ज्येष्ठ नागरिकहरूको घरमा पुगेर स्वास्थ्य परीक्षण तथा सर्वेक्षण गरेको थियो। रेड जोनमा परेका ज्येष्ठ नागरिकको स्वास्थ्य गम्भीर तथा जोखिमपूर्ण रहेको र उनीहरूलाई तत्काल उपचारका लागि पठाउनुपर्ने जनाइएको छ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई ग्रिन (हरियो), येल्लो (पहेंलो) र रेड (रातो) जोनमा वर्गीकरण गरिएको छ। ग्रिन जोन सुरक्षित अवस्था हो । येल्लो जोनमा रहेका व्यक्तिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तर निगरानी आवश्यक पर्ने जनाइएको छ भने रेड जोनमा रहेका व्यक्तिलाई तत्काल उपचार आवश्यक पर्ने उल्लेख गरिएको छ । ग्रिन जोनमा रहेका व्यक्तिलाई भने तत्काल निगरानी तथा हेरचाह आवश्यक नपर्ने बताइएको छ। सर्वेक्षणअनुसार ग्रिन जोनमा ९ सय ९५ जना रहेका छन्।
त्यसैगरी ९ सय ७२ जना येल्लो जोनमा रहेका छन् । उनीहरूलाई चिकित्सक, स्वास्थ्यकर्मी तथा परिवारको निगरानी आवश्यक पर्ने जनाइएको छ । जोखिमयुक्त स्वास्थ्य सूचीमा परेका ज्येष्ठ नागरिकलाई तत्काल उपचारका लागि सिफारिस गरिएको छ । उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाइएको काठमाडौं महानगरले जनाएको छ।
सर्वेक्षणमा ७० वर्ष नाघेका २ हजार ७५ जनाको तथ्यांक संकलन गरिएको थियो । जसमा १ हजार ३ सय ७० महिला र ७ सय ५ जना पुरुष रहेका छन् । विवरण संकलन गरिएकामध्ये १ हजार ९ सय ४६ जना ज्येष्ठ नागरिक परिवारसँग, १ सय ८ जना सहयोगीको साथमा एक्लै तथा २१ जना आफन्त वा नातेदारको आश्रयमा बस्दै आएका छन्।
स्वास्थ्य विवरणअनुसार १ हजार ५ सय ३२ जनामा उच्च रक्तचाप, ८ सय १७ जनामा मधुमेह, २ सय ४ जनामा स्ट्रोकपछि उपचार भएको, तथा ६ सय २३ जनामा दमको समस्या रहेको छ । त्यस्तै ६ सय ७४ जनामा मुटुरोग, ३ सय ५४ जनामा थाइराइड र ६ सय ७७ जनामा डिमेन्सियाको समस्या रहेको छ । त्यसैगरी १ सय १८ जनामा पार्किन्सन तथा १ हजार ६ सय ३६ जनामा हाडजोर्नीसम्बन्धी समस्या रहेको उल्लेख गरिएको छ।
६ सय ९९ जना पूर्ण रूपमा असक्त भई ओछ्यानमा परेका छन् । ओछ्यानमा परेकै कारण ४७ जनाको शरीरमा घाउ बनेको पाइएको छ । सर्वेक्षणमा संलग्न स्वास्थ्यकर्मीहरूले ओछ्यानका घाउ भएका ज्येष्ठ नागरिकको ड्रेसिङ गर्ने व्यवस्था गरिएको बताएका छन् । ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा दिने उद्देश्यले यो स्वास्थ्य सर्वेक्षण गरिएको हो ।
प्रकाशित: २७ वैशाख २०८३ १६:४२ आइतबार