स्वास्थ्य

मोतियाबिन्दु भएका १०५ बिरामीको निःशुल्क शल्यक्रिया

<br>

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ९ सय २३ जनाले आँखा परीक्षण गराएका छन् भने १०५ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ।

बुद्धभूमि नगरपालिकाको आयोजना तथा छन्दकाले आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा वडा नम्बर-५ चौरीमा दुई दिने शिविर सञ्चालन गरिएको हो।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णुदेव खनालका अनुसार शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो। यसका साथै, आवश्यकता अनुसार १५५ जनालाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी वडा-वडामै स्वास्थ्य सेवा पुऱ्याउने अभियानअन्तर्गत शिविर आयोजना गरिएको उनको भनाइ थियो।

निःशुल्क शल्यक्रियामार्फत आँखाको ज्योति फिर्ता पाएपछि ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले घरदैलोमै यस्तो महत्वपूर्ण सेवा पाएर नयाँ जीवन पाएको अनुभूति भएको प्रतिक्रिया दिए।

प्रकाशित: २२ कार्तिक २०८२ २०:१२ शनिबार