स्वास्थ्य

नेपालमा कोरोनाका १८ जना सक्रिय संक्रमित

चीनसहित विभिन्न राष्ट्रमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सतर्क हुन अपिल गरेको छ। बुस्टर खोप नलिएका र दीर्घरोेगी तथा वृद्धवृद्धालाई सर्तक हुन अपिल गरेको छ।

बुस्टर डोज खोप नलिएकाहरूलाई कोरोना संक्रमणबाट बढी प्रभावित हुने जोखिम रहेको र नेपालमा अहिलो पनि ३७.१ प्रतिशतले मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लिएको हुनाले बाँकी रहेका जनसंंख्याले बुस्टर डोज खोप लिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बताए। प्रवक्ता ठाकुरले बुधबार नियमित प्रेस ब्रिफिङ मार्फत छुटेका सबैलाई बुस्टर डोज खोप लिन अनुरोध गरेका हुन्।

‘बुस्टर डोज खोप लिएकाहरूलाई कोरोना संक्रमणले जटिल समस्या नहुने अहिलेसम्म देखिएको छ,’ सबैजना बुस्टर डोज खोप लिएर सुरक्षित हुनुहोला,’ उनले भने।

यसको साथै परिवारका हरेक सदस्यले घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न, भीडभाडमा कम जान र भौतिक दुरी कायम राख्न सुझाव दिए। हाल नेपालका सबैजसो कोभिड अस्पतालमा शय्या, अक्सिजन पलान्ट र आवश्यक सामग्रीको व्यवस्थापन तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ।

चीन, अमेरिका, कोरिया, जापान र भारतमा समेत पछिल्लो चरणमा कोरोना संक्रमण्मा फैलिएपछि भारतले हालै परीक्षणको दायरा बढाउने र जिन सिक्वेन्सिङ गरिरहेको जनाएको छ। नेपालमा पुन कोरोना संक्रमणको जोखिम रहेकोले हाल लक्षण देखिएका बिरामीहरूको हकमा निःशल्क पिसिआर परीक्षणको व्यवस्था अस्पतालहरूमा रहेको मन्त्रालयले जनाएको छ। तर लक्षण बिनापरीक्षण गर्नेहरूको हकमा शुल्क तिर्नुपर्ने व्यवस्था छ।

अहिले कोरोना फैलिएको स्थिति थाहा पाउन सरकारले जनसमुदायमा परीक्षणको व्यवस्था नगरेको आरोप राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट टे«सिङ शाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलेको आरोप छ। ‘यतिबेला ठाउँ-ठाउँमा रुघाखोकी लागेकाको पनि परीक्षण गर्ने बुथ राखिनुपर्थ्यो, त्यो तहको परीक्षण भएको छैन,’ उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेर बहादुर पुनले अहिले चीनमा देखिएको कोरोना भाइरसले धेरै जनासंख्या गम्भीर असर गरेको नदेखिएकाले अहिलेको कोरोना भाइरस कडा खालको नहुनुपर्ने बताए। तर जोखम समूह भने सधैं सर्तक हुनुपर्ने उनको सुझाव छ।

गत चौबिस घण्टामा नेपालमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। नयाँ संक्रमितसहित नेपालमा १ सय ९८ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबिस घण्टामा नेपालमा ६ सय ६३ जनाको परीक्षण भएको थियो। त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढेसंगै शितलहर र हुस्सुले तराइका जिल्लाहरूको जनजीवत प्रभावित भएकोले सबैलाई न्यानो बस्न सुझाएका छन्। हाल चिसोको कारण निमोनिया, रुघाखोकी जस्ता रोगहरू फैलिरहेको हुनाले चिसोवाट बच्न सबैलाई सुझाएको छ। 

प्रकाशित: ७ पुस २०७९ ०१:०० बिहीबार

बुस्टर डोज खोप १८ जना सक्रिय संक्रमित