शिक्षा

विद्यालय शिक्षा विधेयक दर्ता कहिले?

लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकारले मस्यौदा निर्माणको काम तीव्र बनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको र त्यसलाई मन्त्रालयको वेबसाइटमा राख्ने तयारी भइरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार सरकारले चालु आर्थिक वर्षभित्रै विद्यालय शिक्षा विधेयक ल्याउने तयारीमा जुटेको छ। ‘५५ वर्षपछि बल्ल विद्यालय शिक्षा क्षेत्रले आफ्नो ऐन–कानुन पाउने भएको छ’, प्रवक्ता भट्टराईले भने, ‘चिरप्रतीक्षित विधेयकको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सातै प्रदेशमा शिक्षा क्षेत्रका सरोकारवालासँग छलफल गरी सुझाव संकलन भएको छ।’

उनले थपे, ‘चालु आवभित्र विधेयकलाई कानुनी रूप दिन संसद्मा पेस गर्ने सरकारी तयारी छ।’

प्राप्त सुझावका आधारमा विधेयकलाई अन्तिम रूप दिने प्रक्रियामा रहेको बताउँदै उनले तर विधेयक संसद्मा कहिले दर्ता हुन्छ र नयाँ शिक्षा ऐन कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्नेबारे यकिन भने देखिँदैन।

सरकारले आर्थिक वर्ष २०८३/८४ मा संघीय संसद्मा पेस गर्ने १६६ वटा विधेयकको सूचीमा विद्यालय शिक्षा विधेयकलाई पनि समेटेको प्रवक्ता भट्टराईले बताए।

शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार सरकारको कार्यतालिकाअनुसार विधेयक तर्जुमाको काम भइरहेको छ। मन्त्रालयले यसअघि विभिन्न प्रदेशमा गरेको छलफलबाट प्राप्त सुझावलाई विधेयकमा समेट्ने तयारी गरेको छ। यसअघि प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८० संसदीय समितिमा लामो समय छलफल भए पनि प्रतिनिधिसभा विघटन भएपछि निष्क्रिय भएको थियो।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले नयाँ प्रक्रियाबाट विधेयक तयार गर्न थालेको हो। पुरानो विधेयकमा सरोकारवाला पक्षको असहमति थियो। सांसदहरूले ठुलो संख्यामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। शिक्षक, निजी विद्यालय सञ्चालक र अन्य सरोकारवालासमेत विभिन्न विषयमा असहमति व्यक्त गर्दै आएका थिए।

सात सदस्यीय कार्यदलबाट मस्यौदा निर्माण

मन्त्रालयले नयाँ विधेयकको प्राविधिक मस्यौदा तयार गर्न शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरी विधेक निर्माण कार्य अघि बढाएको छ।

प्रवक्ता भट्टराईका अनुसार कार्यदललाई विद्यालय शिक्षाका वर्तमान आवश्यकता, शिक्षक व्यवस्थापन, विद्यालय सञ्चालन, शैक्षिक गुणस्तर सुधार, निःशुल्क शिक्षा, प्रारम्भिक बालविकास शिक्षा र दीर्घकालीन नीतिगत सुधारलगायतका विद्यालय शिक्षाका विषय समेटेर मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट शिक्षक, स्थानीय तह, विद्यालय सञ्चालक तथा शिक्षा क्षेत्रका विज्ञबाट सुझाव संकलन गरेको छ। त्यसपछि काठमाडौंमा समग्र शिक्षा संवाद आयोजना गरी प्रदेशबाट प्राप्त सुझावको समीक्षा गरिएको र प्राप्त सुझावअनुसार विधेयक अगाडि बढाइएको मन्त्रालयको दाबी छ।

निःशुल्क शिक्षा र शिक्षक व्यवस्थापन मुख्य चुनौती

नयाँ विधेयकमा सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने, शिक्षकको सेवासुविधा स्पष्ट गर्ने तथा संघ, प्रदेश र स्थानीय तहबिच अधिकार र जिम्मेवारी बाँडफाँट गर्ने विषय प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

संविधानले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ, तर पर्याप्त बजेट, शिक्षक दरबन्दी र शैक्षिक पूर्वाधार अभावले संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन चुनौतीपूर्ण रहेको शिक्षा क्षेत्रका विज्ञहरूले औंल्याउँदै आएका छन्।

त्यस्तै, शिक्षकको नियुक्ति, सरुवा, बढुवा, सेवासर्त तथा पेसागत सुरक्षाका विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने माग शिक्षकहरूको छ। स्थानीय तहको संवैधानिक अधिकार सुरक्षित गर्दै शिक्षक व्यवस्थापनमा संघीय सरकारको भूमिका कसरी निर्धारण गर्ने भन्ने विषयमा पनि सहमति पेचिलो छ।

निजी विद्यालयको सञ्चालन, शुल्क निर्धारण, नियमन र सार्वजनिक शिक्षासँगको सम्बन्धसमेत विधेयकका संवेदनशील विषय हुन्। विगतका विधेयकमा निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने प्रस्तावले विवाद निम्त्याएको थियो।

नयाँ विधेयकमा निजी लगानीको सुरक्षा र सबै बालबालिकाको शैक्षिक अधिकारबिच सन्तुलन कायम गर्ने आधार तयारी भइरहेको मन्त्रालयका प्रवक्ता भट्टराईको दाबी छ।

संसदमा दर्ता भएपछि मात्रै विधायी प्रक्रिया अघि बढ्ने

सरकारले विद्यालय शिक्षा विधेयकलाई चालु आर्थिक वर्षमा संसद्मा पेस गर्ने विधेयकहरूको सूचीमा राखेको छ, तर नयाँ विधेयक मस्यौदा निर्माण तथा परिमार्जनकै प्रक्रियामा छ। कार्यदलबाट मस्यौदा तयार भएपछि मन्त्रालयले त्यसलाई आवश्यक परिमार्जन गरी मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्नेछ। त्यसपछि मात्र संसद्मा दर्ता भएर संसदीय प्रक्रिया अघि बढ्ने प्रवक्ता भट्टराई बताउँछन्।

उता ऐनसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल शिक्षक महासंघका महासचिव तुला थापाले भने सरकारले विद्यालय शिक्षा विधेयकबारे सातै प्रदेशमा छलफल गरेको भए पनि मुख्य सरोकारवाला निकाय शिक्षक महासंघलाई नै बाइपास गरेको गुनासो गरे। ‘सातै प्रदेशमा छलफल गरे पनि नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयले समन्वय गरेन’, महासचिव थापाले भने, ‘ऐनसम्बन्धी छलफल गर्न सात प्रदेशमा छलफल गर्ने तर महासंघलाई बाइपास गर्ने ? मन्त्रालयमा वैशाख २० गते अन्तिम छलफलपछि कुनै सम्पर्क सरकारले गरेको छैन।’

सरकारले शिक्षा नियमावली दशौं संशोधनको बखत पनि शिक्षक महासंघको माग सम्बोधन नगरेको र अहिले पनि शिक्षकको विगतको माग ऐनमा नसमेटिएको उनको ठहर छ।  

प्रकाशित: ७ मंसिर २०८३ ०९:५५ सोमबार