आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइमा ढिलाइ भइरहेको छ। २०८४ देखि नै पाठ्यपुस्तक परिमार्जन हुने–नहुने विषयमा निर्णय हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्रले नियमित रूपमा सुरु गर्नुपर्ने छपाइ प्रभावित भएको हो।
निर्णयमा ढिलाइ भएमा आगामी शैक्षिक सत्रमा समयमै बालबालिकाका हातमा पुस्तक पुर्याउन चुनौती देखिन्छ। अर्कातर्फ बर्सेनि मन्त्रालयले जनक शिक्षा र निजीको कार्य क्षेत्र तोकेर पुस्तक छपाइ कार्य अगाडि बढाउने प्रवृत्ति छ तर यस वर्ष निजी प्रकाशन गृह र जनक शिक्षाको पुस्तक छपाइको जिम्मेवारीसमेत मन्त्रालयले तोक्न सकेको छैन।
जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार साउनदेखि नै पाठ्यपुस्तक छपाइ सुरु गर्नुपर्ने भए पनि पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जनसम्बन्धी अन्योलका कारण काम अघि बढ्न सकेको छैन। केन्द्रका प्रेसहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
पाठ्यपुस्तक परिमार्जनका विषयमा अध्ययन गर्न यसअघि कार्यदल गठन गरिएको थियो। त्यसपछि सबै तहका पुस्तक परिवर्तन हुने हल्ला चलेपछि छपाइ प्रक्रिया रोकिएको जनक शिक्षाले जनाएको छ तर शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शैक्षिक सत्रदेखि सबै कक्षाका पाठ्यपुस्तक एकैपटक परिमार्जन हुने अवस्था नरहेको स्पष्ट पारेको छ।
केही कक्षाका पुस्तक पाइलट परियोजनाका रूपमा परिमार्जन हुन सक्ने मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले बताए। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन प्रक्रिया अगाडि बढाइएको छ’, प्रवक्ता भट्टराईले नागरिकसँग भने, ‘सबै तहका आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुन नसकेपछि केही तहमा पाइलट प्रोजेक्टका रूपमा कार्यान्वयन गर्ने मन्त्रालयको सोच छ। यसकारण पनि थोरै ढिलाइ भएको हो।’ उनका अनुसार मन्त्रालयमा निजी र जनक शिक्षाको छपाइ दायित्वबारे पनि छलफल भइरहेको छ। छिटै निर्णय हुन्छ।’
जनक शिक्षाका प्रबन्ध सञ्चालक पौडेलका अनुसार छपाइका लागि केन्द्रले आवश्यक तयारी र कार्यतालिका बनाइसकेको छ। तत्काल निर्णय भए पाठ्यपुस्तक छपाइ अघि बढाउन सकिने केन्द्रको दाबी छ। ‘जनक शिक्षाका स्थायी २६३ र करारका ११५ गरी कुल ३७८ कर्मचारी तीन महिनादेखि कामविहीन छन्’, प्रबन्ध सञ्चालक पौडेलले नागरिकसँग भने, ‘पाठ्यक्रमले पिआरसी दिनासाथ पुस्तक छपाइ सुरु गरिहाल्छौं। सरकारले कक्षा १० सम्मकै पुस्तक छपाइ कार्य हामीलाई दिनुपर्छ। जनक शिक्षा सक्षम छ।’
जनक शिक्षाले शैक्षिक सत्र २०८३ का लागि उत्पादित पाठ्यपुस्तकको मूल्य सूची र बिक्री–वितरण कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो। जनक शिक्षाका अनुसार पाठ्यपुस्तक छपाइ तथा वितरण उसको प्रमुख जिम्मेवारीमध्ये एक हो। ‘निर्णयमा थप ढिलाइ भए आगामी शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुर्याउने सरकारको तयारी प्रभावित हुन सक्ने चुनौती थपिने छ’, प्रबन्ध सञ्चालक पौडेलले सचेत गराए, ‘यही कारण देखाएर फेरि पनि जनक शिक्षालाई कमजोर देखाउने काम हुने छ।’
देशभरका विद्यालय तहका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी पाएको जनक शिक्षा तीन महिनादेखि निस्क्रियजस्तै छ। नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक छपाइ तथा वितरणको मुख्य जिम्मेवारी नपाएपछि जनक शिक्षाका मेसिन र जनशक्ति कामविहीन अवस्थामा पुगेका हुन्।
विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणको मुख्य जिम्मेवारी पाउँदै आएको जनक शिक्षामा पछिल्लो समय सरकारी संस्थालाई सक्षम बनाउने उद्देश्यले राज्यका विभिन्न निकायले छपाइ कार्य दिँदै आएकाले कामको चाप बढेको थियो तर पछिल्लो समय नयाँ सरकार गठनसँगै विद्यालय तहको पाठ्यपुस्तक परिमार्जन गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्ने तयारी गरेको छ। यसका लागि शिक्षाविद् प्रा.डा. बालाचन्द्र लुइँटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जनका लागि अध्ययन कार्य सुरु गरेको छ।
नयाँ शैक्षिक सत्रका लागि विगतमा भदौ पहिलो साता नै सरकारले पुस्तक छपाइको निर्णय गरी जनक शिक्षालाई सुम्पिने गरेको थियो, तर हालसम्म कुन निकायले कति पुस्तक र कुन तहको पुस्तक छाप्ने भन्ने विषयमा पनि शिक्षा तथा खेलकुद मन्त्रालयले निर्णय नगर्दा पुस्तक छपाइ कार्य पनि अन्योलमै छ।
सरकारले गठन गरेको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका संयोजक प्राडा बालाचन्द्र लुइँटेलका अनुसार हाल कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूपको कक्षागत र तहगत कमीकमजोरीबारे विभिन्न पक्षको अध्ययन कार्य अगाडि बढाएको छ। १२ वटा विषयगत समूहले यसबारे अध्ययन गरिरहेका छन्। ‘हरेक दिन सरोकारवालासँग विभिन्न कोणबाट प्रारूपबारे छलफल भइरहेको छ। अब सातै प्रदेशमा स्थलगत रूपमा पुगेर छलफल गर्ने छौं’, संयोजक लुइँटेलले नागरिकसँग भने, ‘यो वर्षको अन्त्यसम्म राष्ट्रिय पाठ्यक्रम प्रारूपको एउटा खाकाचाहिँ बन्छ। अर्को वर्ष मात्र कक्षागत र तहगत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्री तयारीमा जान्छ।’
उनका अनुसार कक्षाकोठामा कार्यान्वयन हुन अझै तीनदेखि चार वर्ष लाग्छ। कक्षा १२ सम्मै परिमार्जन हुँदैछ।
पाठ्यपुस्तक छपाइसम्बन्धी सैद्धान्तिक निर्णय मन्त्रालयले गर्ने परम्परा छ, तर हालसम्म छपाइबारे कुनै औपचारिक निर्णय नभएको सहसचिव शिव सापकोटाले बताए। ‘औपचारिक रूपमा फाइल विद्यालय शिक्षा महाशाखामा आइपुगेको छैन’, सहसचिव सापकोटाले भने, ‘मन्त्रालयमा निर्णयका लागि पेस भएपछि यथाशीघ्र त्यसको निर्णय हुनेछ।’
उता निजी प्रकाशन गृहहरूले भने सरकारसँग कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइ जिम्मेवारी आफूहरूले पाउनुपर्नेमा दबाब दिँदै आएका छन्। २०६४ सालतिर जनक शिक्षाले विद्यालय तहको पुस्तक छपाइ नभ्याउँदा सरकारले निजी प्रकाशन गृहलाई प्रवेश गराएको थियो। त्यसयता निजीले निरन्तर विद्यालय तहको पुस्तक छपाइमा सहकार्य गर्दै आएको निजी प्रकाशन गृहका सञ्चालक दीपक भण्डारीले जनाए।
‘२०६४ सालमा कक्षा ५ को पुस्तक छपाइ जिम्मेवारी पाएको निजी प्रकाशन गृहहरूले २०६६–६७ सम्म आइपुग्दा कक्षा १–८ को २१ वटा प्रकाशन गृहले ४१ जिल्लाका लागि छपाइ तथा वितरण कार्य पाएका थिए’, भण्डारी भन्छन्, ‘२०७१ देखि निजी क्षेत्र साँघुरियो। गत वर्ष कक्षा १, २ र ४ का लागि ८० लाख थान मात्र छपाइ कार्य ७ निजी प्रकाशन गृहले पाएका थियौं।’
प्रकाशित: २ आश्विन २०८३ १०:२८ शुक्रबार



