शिक्षा

घाम ताप्दै पढ्दै विद्यार्थी, गाउँमै कोचिङ कक्षा चलाइँदै

सिँजा गाउँपालिका–६ भाडगाउँकी अनिसा रावत हातमा एक महिनाको बसाइँका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा बोकेर मंसिर पहिलो हप्ता सदरमुकाम खलंगा झरिन्।  

कक्षा १० मा अध्ययनरत उनी यसपटक ‘ट्युसन’ पढ्न गाउँबाट बाहिरिन बाध्य भइन्। जाडो बढेसँगै विद्यालय बन्द हुने परम्परा भएकाले सिँजासहित कर्णालीका विभिन्न गाउँका विद्यार्थी शहरका ट्युसन केन्द्रतिर आकर्षित भइरहेका छन्।

अनिसासँगै सोही विद्यालयमा कक्षा १० पढ्ने नमिता र कविता बुढा तीन साताअघि नै सुर्खेत पुगेका छन्।  

‘पुस–माघमा विद्यालय नै बन्द हुने भएकाले नियमित कक्षा चल्दैन,’ विद्यालयका प्रधानाध्यापक सिंहबहादुर बुढाले भने, ‘एसईई दिने ७ मध्ये सबै विद्यार्थी शहर पसेका छन्। ट्युसन बाहेक विकल्प छैन।’

गाउँका अधिकांश एसईई परीक्षार्थी अंग्रेजी, गणित, विज्ञान र ऐच्छिक गणित गरी चार विषयको ट्युसन पढ्न खलंगा तथा सुर्खेततिर लागेका छन्। एक विषयको मासिक शुल्क झन्डै तीन हजार रुपैयाँ पर्छ। न्यूनतम कोठा भाडा दुई हजार पाँच सय रूपैयाँदेखि सुरु हुन्छ। तीन महिनाको बसाइँ, खाना र ट्युसन जोडिँदा एक विद्यार्थी पिछडिएको परिवारका लागि ७० देखि ८० हजार रुपैयाँसम्म खर्चिनुपर्ने बाध्यता छ।

कैलाश माध्यमिक विद्यालय फुङ्गका कक्षा १० का विद्यार्थी नमराज रोकाया दिदीसहित पुस लागेपछि नै सुर्खेत पुगे। ‘गाउँमा हिउँ र चिसोले पढ्नै सकिँदैन,’ उनले भने, ‘एसईई नजिकिँदा ट्युसन पढ्न गाउँ छोड्ने चलन वर्षौँदेखि छ।’  

यो समस्या जुम्लासम्म सीमित छैन। कर्णालीका पाँचै जिल्लाका हजारौँ विद्यार्थी सुर्खेत, नेपालगन्ज र खलंगा बजारमा ट्युसनमा भर पर्न बाध्य छन्। ‘आर्थिक रूपमा कमजोर अभिभावकले ऋण–सापटी लिएर भए पनि छोराछोरीलाई बाहिर पठाइरहेका छन्,’ शिक्षक रामचन्द्र रोकायाले बताए।

यता सिँजा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार २२ वटा  माध्यमिक विद्यालयमा पुस–माघमा पठनपाठन बन्द हुने परम्परा छ। ‘सक्षमले शहर जान्छन्, कमजोरले जिल्लाभित्रै ट्युसन खोज्छन्,’ उनले भने। यता जुम्लाका ट्युसन केन्द्रले मंसिर तेस्रो सातादेखि फागुन अन्त्यसम्म सञ्चालन गरेर ‘वर्षभरिको खर्च उठाउने’ चलन बसेको छ। अभिभावक रामलाल बुढाका दुई सन्तान अहिले खलंगामै ट्युसनमा छन्।  

‘कोर्स नै अधुरो भएकाले ठूलो खर्च बेहोरेर पठाउनुपरेको हो,’ उनले भने। हिउँदे बन्दको असर घटाउन जुम्लाको हिमा गाउँपालिकाले यस वर्षदेखि बड्की, ओदी र मोफ्ला क्षेत्रका विद्यालयमा नि:शुल्क कोचिङ सञ्चालन गर्ने भएको छ। कालिका मावि बड्की, ज्योति मावि ओदी र राहदेव मावि मोफ्लालाई कोचिङ केन्द्र तोकिएको छ।

‘उपलब्ध शिक्षकमध्ये उत्कृष्ट विषयगत शिक्षक छानेर चाँडै कोचिङ सुरु गरिनेछ,’ वरिष्ठ शिक्षा अधिकृत बमबहादुर शाहले बताए। अभिभावकले यसलाई राहतका रूपमा लिएका छन्।  

‘महँगो खर्च हालेर टाढा पठाउनुपर्ने होइन,’ स्थानीय नेत्रबहादुर शाहीले भने, ‘गाउँमै बस्दा लहलहैमा बिग्रने जोखिम पनि कम हुन्छ।’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार गुणस्तरीय शिक्षा दिन स्थानीय सरकारले विशेष ध्यान दिएको छ। ‘उपयुक्त कक्षाकोठा र विषयगत शिक्षक सुनिश्चित गर्दै जाडोयाममै सिकाइ निरन्तर राख्ने योजना अघि बढाएका छौँ,’ उनले भने। जुम्लाका अन्य स्थानीय तहमा पनि यस्तै पहल सुरु हुँदै छ।  

 

प्रकाशित: २० मंसिर २०८२ २०:५३ शनिबार