ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शैक्षिक नतिजा तथा शैक्षिक गतिविधिको उचित कार्यान्वयनका आधारमा विद्यालयलाई अनुदानदेखि १० उत्कृष्ट शिक्षकलाई शैक्षिक भ्रमणसम्मको कार्यक्रम अघि सारेको छ।
पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसारका अनुसार शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अनुदान दिनेदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत र सम्मानका कार्यक्रम अघि सारिएको हो। अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को नीतिगत व्यवस्था तथा स्वीकृत वार्षिक कार्यक्रम अनुसार शैक्षिक गुणस्तर सुधारलाई प्रेरित गर्न यि कार्यक्रम कार्यान्वयनमा जानेछन्।
पालिकाले प्रत्येक विद्यालयका महिनाका सर्वोकृष्ट विद्यार्थीलाई वृहत्त शब्दकोष, सामान्यज्ञान र विद्यालय पोशाक सेट प्रदान गरिने छ। प्रत्येक विद्यालयका प्रत्येक कक्षाका महिना उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गरिने भएको छ।
कक्षा ५ सम्म पढाइ हुने विद्यालयले गाउँपालिकाले विद्यार्थीको क्षमता विकासका लागि तयार पारेको अभ्यास पुस्तिकाको कार्यान्वयन गरेवापत विद्यार्थी संख्याका आधारमा कम्तिमा २५ हजारदेखि बढीमा १ लाख रुपैयाँसम्म अनुदान पाउने भएका छन्। पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार महिनामा कम्तिमा ५ वटा आन्तरिक अभ्यास परीक्षा, ४ वटा लेखन, हाजिरी जवाफ प्रतियोगिता, हिज्जे, हिसाव दौड, पेन्टिङ, वक्तृत्वकला, नृत्य, गायन लगायतका कार्यक्रमको कार्यतालिका बनाई पालिकाबाट स्वीकृत गरी कार्यान्वयन गरेमा अनुदानको व्यवस्था गरिएको छ।
पुस २० गतेबाट यस शैक्षिक सत्रमा अढाई महिना र वैशाखबाट असारसम्म डेढ महिना गरी ४ कार्य महिनाका आधारमा विद्यालयलाई अनुदान दिइने छ। यस्तो अनुदान २० जनाभन्दा कम विद्यार्थी हुने विद्यालयले २५ हजार, २० भन्दा माथि र ५० भन्दा कम विद्यार्थी हुने विद्यालयले ३५ हजार, ५० भन्दा माथि १ सयभन्दा कम विद्यार्थी हुने विद्यालयलाई ५० हजार, १ सयभन्दा बढी र १ सय ५० भन्दा कम विद्यार्थी हुनेलाई ७० हजार र १ सय ५० भन्दा बढी विद्यार्थी हुनेलाई १ लाख रुपैयाँसम्म अनुदान दिने पालिकाले जनाएको छ।
पालिकाले प्रत्येक विद्यालयले मासिक रूपमा सूचक बनाएर उत्कृष्ट शिक्षक घोषणा गर्नुपर्ने र उत्कृष्ट शिक्षकलाई एक दिन बराबरको तलवले पुरस्कृत गर्ने जनाएको छ। उत्कृष्ट शिक्षकले तोकिएको न्यूनतम् अंक भने ल्याएको हुनुपर्ने छ।
उत्कृष्ट शिक्षकमध्येबाट १० जनालाई चालु आर्थिक वर्षमै एक हप्ताको शैक्षिक भ्रमणको अवसर प्रदान गर्ने पालिकाले जनाएको छ। पालिकाले कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई जनही नगद १०–१० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने भएको छ। कम्तिमा ४० प्रतिशत विद्यार्थी उतीर्णगराउने विद्यालयमध्येबाट प्रथमलाई १ थान स्मार्ट बोर्ड र दोस्रो हुनेलाई १ थान ल्यापटप दिइने पालिकाले जनाएको छ।
एसइईमा कम्तिमा ३० प्रतिशत नियमित विद्यार्थी सफल गराउने विद्यालयलाई २ थानका दरले स्मार्टबोर्ड र १ लाख रुपैयाँका दरले अनुदान दिइने भएको छ। एसइईमा अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषयमा कम्तिमा ३० प्रतिशत विद्यार्थी उतीर्ण भएमा विषय शिक्षकलाई एक महिना बराबरको तलवले सम्मान तथा सर्वोकृष्ट हुने विद्यार्थीलाई एक थान ल्यापटप प्रदान गरिने भएको छ।
कक्षा ११ र १२ मा शिक्षा संकायतर्फ गणित विषयमा पालिकाका विद्यालयमा अध्ययन गर्ने नियमित विद्यार्थीहरूलाई वार्षिक २० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने समेत पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।
प्रकाशित: १९ पुस २०८२ ०७:३८ शनिबार