शिक्षा

परीक्षा सुरु भएको १२ मिनेटमै प्रश्नपत्र ‘आउट’ भएपछि...

माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको केही मिनेट नबित्दै प्रश्न पत्र बाहिरिएको घटनाले जुम्लाको परीक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

तातोपानी गाउँपालिका-२ स्थित हिमाशिखर माध्यमिक विद्यालय केन्द्रमा मंगलबार सामाजिक विषयको परीक्षा सुरु भएको करिब १२ मिनेटमै एक परीक्षार्थीले मोबाइल प्रयोग गरी प्रश्न पत्र बाहिर पठाएको प्रारम्भिक तथ्य बाहिरिएको हो।

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश लुवारका अनुसार घटना थाहा पाउने बित्तिकै केन्द्राध्यक्षलाई छानबिनका लागि निर्देशन दिइएको छ। ‘विद्यार्थीहरूको समूह च्याटमा प्रश्न पत्र देखिएको छ, सबै मोबाइल जफत गरिएका छन्, तर संलग्न व्यक्ति अझै पहिचान हुन सकेको छैन,’ उनले भने।

घटना सार्वजनिक भएको तीन मिनेटमै केन्द्रमा निगरानी कडा बनाउन निर्देशन दिइएको उनले बताए। परीक्षा हलमा मोबाइल निषेध गरिए पनि त्यहीँबाट प्रश्न पत्र बाहिरिनुले सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको स्थानीयको भनाइ छ।

हिमाशिखर मावि केन्द्रमा पाँच विद्यालयका विद्यार्थी सहभागी छन्। हिमशिखर मावि तातोपानीमा १ सय ५७ (१४७ नियमित, १० ग्रेडवृद्धि) विद्यार्थी छन्।

यसैबिच, चन्दननाथ नगरपालिका-१० बोहोरागाउँस्थित रत्नचुडेश्वर माध्यमिक विद्यालय केन्द्रमा सोमबार विज्ञान विषयको परीक्षामा पनि प्रश्न पत्र बाहिरिएको आशंका गरिएको छ। रत्नचुण्डेश्वर मावि बोहोरा गाउँमा १ सय ७८ (१७५ नियमित, ३ ग्रेडवृद्धि) विद्यार्थी सहभागी छन्।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार भित्रबाट प्रश्न लेखेर बाहिर पठाउने र बाहिरबाट म्यासेन्जरमार्फत उत्तर पठाउने गतिविधि भेटिएको छ। दुवै घटनालाई लिएर प्रशासनले अनुसन्धान तीव्र पारेको जनाएको छ। 

शिक्षा इकाई प्रमुख लुवारले बोहोरागाउँ केन्द्रको सम्बन्धित कक्षका निरीक्षकलाई बर्खास्त गर्न निर्देशन दिइसकेको जानकारी दिए।यसअघि नै तातोपानी-५ रहेको दुर्गा माविमा पनि अंग्रेजी विषयको परीक्षामा लापरबाही गरेको आरोपमा एक केन्द्राध्यक्ष र निरीक्षक हटाइसकिएको छ।दुर्गा मावि लाम्रामा १ सय ४५ (१३८ नियमित, ७ ग्रेडवृद्धि) विद्यार्थी छन्।

परीक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अनुसन्धान गर्न टोली खटिएको छ। घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै मंगलबार बेलुकासम्म प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। “दोषी जोसुकै भए पनि कारबाही हुन्छ,’ उनले भने।

प्रकाशित: २४ चैत्र २०८२ १०:३२ मंगलबार