शिक्षा

डिजिटल शिक्षामा प्रवेश गर्दै साकेला

स्थानीय विद्यालयमा डिजिटल शिक्षा पूर्व तयारी तालिमको उद्घाटन गर्दै अध्यक्ष राई। तस्बिरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाले डिजिटल शिक्षाको प्रारम्भ गर्दैछ। परम्परागत र पुरानो शिक्षालाई अद्यावधिक गर्दै समय र पछिल्लो पुस्ताको माग अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा डिजिटल शिक्षा प्रारम्भ गर्न लागेको हो।

चार वर्षअघि निर्माण गरिएको आवधिक योजनाअन्तर्गत साकेलाको शिक्षालाई देशकै नमूना बनाउने योजना अन्तर्गत डिजिटल माध्यमको शिक्षण प्रणाली लागू गर्न पूर्वतयारीस्वरुप चार दिने तालिम आयोजना गरिएको छ। सामुदायिक विद्यालयहरूको शिक्षण प्रणालीलाई प्रविधिमैत्री, व्यावहारिक र भविष्यमुखी बनाउने उद्देश्यले डिजिटल माध्यममा पठनपाठन सुरु गर्नुअघि दक्ष जनशक्ति निर्माणार्थ आइतबारदेखि सुरु ‘नमूना डिजिटल विद्यालय तालिम’ बुधबार सम्पन्न हुनेछ।

गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङका अनुसार यही शैक्षिक वर्षदेखि गाउँपालिका भित्रका आधा दर्जन माध्यमिक तहका विद्यालयमा डिजिटल शिक्षा प्रारम्भ गरिँदैछ। गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयमा डिजिटल शिक्षाऔपचारिक प्रारम्भ गर्ने गरी तालिमसँगै अन्य आवश्यक उपकरण जोहो गरिसकेको छ भने भर्खरै तयार गरेको स्थानीय पाठ्यक्रमको कार्यान्वयन पनि गर्ने चामलिङले बताए।

गाउँपालिकाले लागू गर्ने स्थानीय पाठ्यक्रममा शिक्षालाई आधुनिक र प्रविधिसँग जोड्दै विज्ञान, समयको महत्व, पृथ्वीको उत्पत्ति तथा विकास, मानव सभ्यताको विकासक्रम, वातावरणीय चेतना, आध्यात्मिक चिन्तन, स्थानीय सँस्कृति तथा समसामयिक ज्ञानजस्ता कुराहरूको सिकाइ सामग्री समेटिएको छ। यी आधारभूत ज्ञानगुणका कुरालाई डिजिटल माध्यममार्फत हरेक विद्यार्थीसम्म पुर्याउने गरी पाठ्यक्रम निर्माण गरिएको छ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्थानीय विद्यालयमा डिजिटल शिक्षा लागू गर्ने तयारीस्वरूप तालिम ञ्चालन गरेको बताउँदै साकेलाका बालबालिकालाई व्यावहारिक, बस्तुवादी, प्रविधियुक्त तथा प्रयोगात्मक शिक्षा दिलाउने तयारी गरेको बताए। डिजिटल शिक्षा लागू गर्न तयारी अवस्थाका ६ वटै माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक–शिक्षिकाहरू तालिममा सहभागी छन्।

डिजिटल माध्यममा पठनपाठन गराउनका लागि गाउँपालिकाले पहिलो चरणमा ३६ वटा स्मार्टबोर्ड ती माविहरूलाई हस्तान्तरण गरेको पनि अध्यक्ष राईले बताए। माविहरूलाई हस्तान्तरण गरिसकेको र बाँकी विद्यालयलाई पनि यही शैक्षिक सत्रदेखि डिजिटल माध्यमको पठनपाठन गराउन केही समयभित्रै २८ वटै सामुदायिक विद्यालयलाई उपलब्ध गराइने राईले बताएका छन्।  

अध्यक्ष राईले अहिलेको युग कृतिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि र ज्ञानमा आधारित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेको बताउँदै नेपालको शिक्षा प्रणालीलाई समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता देखेर यो कदम चालेको बताए। ‘जबसम्म पृथ्वी रहन्छ र मानव अस्तित्वमा रहिरहन्छ, तवसम्म शिक्षा निरन्तर निरन्तर चलिरहन्छ,’ अध्यक्ष राई भन्छन्, ‘त्यसैले हाम्रो शिक्षा नीति पनि समयसँगै परिवर्तन भइरहनुपर्छ। विद्यार्थीले केवल पाठ्यपुस्तक घोँक्ने र उत्तर दिने मात्र होइन, विज्ञान, समयको मूल्य, पृथ्वीको बनौट, मानव सभ्यताको विकास र भविष्यका चुनौतीहरू के के हुन् भन्ने बुझ्नेखालको शिक्षा दिनु आवश्यक छ।’

अहिलेको पुस्तालाई सूचना प्रविधि, एआई, वैज्ञानिक सोच, अनुसन्धान क्षमता र व्यावहारिक सीपसँग जोड्न सकिएन भने नेपालको शिक्षा प्रणालीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नसक्ने ठहर अध्यक्ष राईको छ। उनका अनुसार किताबी ज्ञानले मात्र समाज परिवर्तन नहुने हुँदा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने क्षमताको विकास गर्न प्रविधिको प्रयोग गर्ने सीप र समस्या समाधानको सोच डिजिटल शिक्षाले पूरा गर्छ भन्ने ठहर हो।

वर्तमान शिक्षा प्रणालीमा थुप्रै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष राईले शिक्षा नै समृद्ध राष्ट्र निर्माणको प्रमुख आधार भएको बताए। धेरैले वर्षौंदेखि शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेखाँचो औँल्याउँदै आएको तर नीति निर्माण तहबाट भने देशको विकास भनेको केवल सडक र भवनजस्ता पूर्वाधार मात्र हो भन्ने बुझ्ने गरेको भन्दै उनले गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिबिना जस्तोसुकै विकास पनि फिक्का हुने अध्यक्ष राईको ठोकुवा छ।

केन्द्रीयस्तरमा व्यावहारिक र वस्तुवादी शिक्षाप्रति ध्यान गएको नपाएकै कारण स्थानीय सरकारको नाताले साकेला गाउँपालिकाले नयाँ सोच र विचारका साथ शिक्षामा लगानी गरिरहेको उनले बताए। उनका अनुसार नेपालका ७ सय ५३ स्थानीय तहमध्ये सम्भवत: साकेला गाउँपालिका फरक ढंगले शिक्षा क्षेत्रमा सुधारको अभ्यास गरिरहेको छ। यो अभ्यासको कार्यान्वयन सफल भए अन्य स्थानीय तह र प्रदेश तथा संघीय सरकारका लागि पनि नमूनायोग्य र उदाहरणीय बन्नसक्ने विश्वाससमेत अध्यक्ष राईको छ।

प्रकाशित: १६ असार २०८३ १३:३८ मंगलबार