शिक्षा

नगरपालिकाले रोक्यो क्याम्पस प्रमुखको तलब!

शैक्षिक सुधारमा पालिकाको पहल

चौदण्डीगढी नगर प्रशासनिक भवन ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्थानीय नारद आदर्श शिक्षा क्याम्पस प्रमुखको तलबभत्ता रोक्का गरेको छ । पदीय दायित्व पूरा नगरेको भन्दै नगरपालिकाले क्याम्पस प्रमुख राजकुमार राईको तलब भत्ता रोकेको हो ।  

नगर शिक्षा समितिको भदौ ११ गतेको बैठकले चौदण्डीगढी ४ बसाहा बर्खेडाँडाको क्याम्पसका प्रमुख राईले नियमानुसार जिम्मेवारी पुरा नगरेको निश्कर्ष निकाल्दै तलब भत्ता रोक्ने निर्णय गरेको जनाएको छ ।  

समिति अध्यक्ष तथा नगरप्रमुख कालुमान लामाको अध्यक्षतामा भएको बैठकले तोकिए अनुसार जिम्मेवारी पूरा नगरेका कारण दखाउँदै प्रमुख राईको तलब भत्ता रोक्ने निर्णय गरेको नगर शिक्षा शाखाले जनाएको छ ।  

शाखाका अनुसार बैठकले राई क्याम्पसमा नियमित उपस्थित नहुने, क्याम्पसलाई दिने समय ठेक्कापट्टा र अन्य काममा व्यस्त रहने तथा क्याम्पसलाई आत्मनिर्भर बनाउन शैक्षिक योजना कार्यान्वयन नगरेको निश्कर्ष निकालेको छ। क्याम्पस आत्मनिर्भर र सक्षम बनाउन, विद्यार्थी संख्या बढाउने खालका योजना प्रमुख राईले बनाएको ठहर बैठकले गरेको छ ।  

जिम्मेबारी पुरा नगरेको भन्दै क्याम्पस प्रमुखमाथि विद्यार्थी र अभिभावकले गुनासो गरेपछि नगरपालिकाले क्याम्पसमा भए गरेका कामको निगरानी गरेको हो ।  

मेयर लामाकै गृहवडा बसाहाको क्याम्पस सुधार गर्न भन्दै नगरपालिकाले वर्षेनी क्याम्पस प्रमुखलाई पूर्णकालीन कामकाज गर्ने गरी तलब भत्तावापतको बजेट दिदै आएको छ ।  

नेपाल सरकारको निजामति सेवा राजपत्राङ्कित द्वितीय श्रेणीले पाउने सरह तलबभत्ता दिने गरी नगरपालिकाले बजेट दिएर क्याम्पस सुधार गर्ने योजना अनुसार लगाइएको काम नगरेपछि तालब भत्ता रोक्ने निर्णय गरेको नगरले जनाएको छ ।

मेयर लामाले आफू निर्वाचित भएर आएपछि नगरपालिका भित्रका दुई क्याम्पसको शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सुझाएको र सोही अनुसारको बजेट दिँदा पनि काम नभएको गुनासो बढेको बताए ।  

पटक पटक सचेत गराउँदै कामको मूल्यांकन गर्दा सन्तोषजनक नदेखिएपछि चेतावनी स्वरुप तलबभत्ता रोकेको मेयर लामाले बताएका छन् ।

लामा मेयर भएपछि वडा नं. ४ को नारद आदर्श र ६ को सातधारेस्थित ज्योति बहुमुखी क्याम्पस बेलटारलाई शैक्षिक सुधार योजना अन्तर्गत पूर्णकालीन प्रमुख तोकेर वार्षिक तलबभत्ता दिने गरी ६ लाखका दरले सशर्त वार्षिक बजेट दिदै आएको बताए ।  

क्याम्पस सुधारका लागि वर्षेनी बजेट दिए पनि अपेक्षित नतिजा नआएपछि नगरपालिकाले नै सेवासुविधा रोक्नु परेको उनको भनाइ छ।

प्रकाशित: १४ भाद्र २०८२ १८:२९ शनिबार