शिक्षा

सिदिङ्वामा अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सुरु

सिदिङ्वाको सिद्धेश्वरी माविका विद्यार्थी अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्र्तगत बाँसजन्य सामग्री बनाउन सिक्दै । तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

ताप्लेजुङको सिदिङ्वाका विद्यालयमा अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सुरु भएको छ ।  

दैनिक जीवनमा काम लाग्ने तर नयाँ पुस्ताले बिर्सदै गएका मौलिक सीपहरुको जर्गेना गर्दै व्यवहारिक कक्षामा जोड दिन सिदिङ्वा गाउँपालिकाले चालु आर्थिक वर्षबाट यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पालिकाका लेखा शाखा प्रमुख भुपेन्द्र बुढाक्षेत्रीका अनुसार अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम पालिकाका १२ वटा विद्यालयमा सुरु भएको छ । ६ भन्दा माथिको कक्षा सञ्चालन भएका आधारभूत र माध्यमिक विद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा रहेको बुढाक्षेत्रीले जानकारी दिए । 

अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रममा महिनामा ४ दिन पुराना र मौलिक सीपहरु बारेमा स्थानीय क्षेत्रका जानकारहरुबाट ज्ञान र सीप हस्तान्तरण गरिने छ । दैनिक जीवनमा प्रयोग हुने डोको, नाम्लो, मान्द्रो, राडीपाखी, थुन्सेसहितका सामग्री कसरी निर्माण गर्ने भनेर यो सीपका जानकारहरुले नयाँ पुस्तालाई सिकाउने छन् । 

सिदिङ्वाको सिद्धेश्वरी माविका विद्यार्थी अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्र्तगत बाँसजन्य सामग्री बनाउन सिक्दै । तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

चोया कात्ने देखि गुन्द्री र गजेरा बन्नेसम्मका सीपहरु हस्तान्तरण हुने गरेको उनले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम विद्यालयमा वर्षमा ५ महिना सञ्चालन हुनेछ । त्यसका लागि पालिकाले प्रति विद्यालयलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । सोहि रकम सीप हस्तान्तरण गर्न खटिने सहजकर्ताको पारिश्रमिकमा खर्च हुने गरेको बुढाक्षेत्रीले जानकारी दिए ।  

विद्यालयले यसलाई अतिरिक्त क्रियाकलापको एक अंगको रुपमा उपयोग गर्न सक्ने पालिकाले विश्वास लिएको छ । हराउँदै गएको मौलिक सीप र परम्परा नयाँ पुस्तालाई हस्तान्तरण गरेर सीप जर्गेना गर्ने कार्यमा यस्ता कार्यक्रमले निकै ठूलो भूमिका निर्वाह गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारी बताउँछन् ।  

लोप हुँदै गएका परम्परागत सीप र व्यवसायहरु,जर्गेना गर्नुपर्ने परम्परागत सीप र तिनको व्यवसायिकता र आधुनिकीकरण समेतलाई ख्याल गरी यस्तो कार्यक्रम सुरु गरिएको सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।  

प्रकाशित: २६ कार्तिक २०८२ १५:१० बुधबार