शिक्षा

अध्ययन भिसा सिफारिसमा कर्मचारीको भूमिका छानबिन गर्दै सरकार

छानबिन समिति गठन

अध्ययन भिसा सिफारिस प्रक्रियामा नक्कली पत्र तथा कागजात प्रयोग भएको विषयलाई गम्भीर रूपमा लिँदै शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नतामाथि छानबिन प्रक्रिया सुरु गरेको छ। यसका लागि मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।

समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा संलग्नताको विषयमा आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत विस्तृत अध्ययन गरिनेछ।

मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। सोही आधारमा यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको छ।

यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि मन्त्रालयले गृह मन्त्रालयलाई समेत पत्राचार गरेको थियो।

मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको यस घटनालाई संवेदनशील विषयका रूपमा लिँदै अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने स्पष्ट गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १६:३९ शुक्रबार