भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुगेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार तीन जिल्लामा क्षति पुगेका २३ विद्यालयमध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्नसमेत चुनौती भएका आठ विद्यालय छन्।
मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार ८ विद्यालयमा धेरै क्षति पुगेको छ भने सातवटा विद्यालयमा आंशिक क्षति पुगेको प्रारम्भिक तथ्यांक छ। ‘पछिल्लो विवरणमा क्षतिग्रस्त विद्यालय संख्या २३ पुगेको छ। विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति गरी तीन प्रकारको क्षति पुगेको मन्त्रालयमा प्राप्त प्रारम्भिक विवरणमा पाइयो’, सूचना अधिकारी धामीले नागरिकसँग भने, ‘तीमध्ये ८ विद्यालयका भवन पूर्णरूपमा बगेका छन् भने ८ विद्यालय भवन भत्किर धेरै क्षति भएको छ। ७ विद्यालयमा आंशिक क्षति भएको छ। विद्यालयका कक्षाकोठा लेदो, बालुवा र माटोले पुरिएका छन्।’ उनले थपे, ‘२३ मध्ये सात निजी विद्यालयमा क्षति भएको तथ्यांक छ।’
सूचना अधिकारी धामीका अनुसार बाढीका कारण विद्यालय मात्र होइन, विद्यार्थी र शिक्षकसमेत प्रभावित भएका छन्। मन्त्रालयको प्रारम्भिक विवरणअनुसार क्षतिग्रस्त विद्यालयमा अध्ययनरत २३० विद्यार्थी र १९ शिक्षक र एक कर्मचारी गरी २५० जना सम्पर्कविहीन रहेका छन्। उद्धार तथा खोजी कार्यसँगै यो संख्या परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ।
रसुवा, नुवाकोट र धादिङमा विद्यालय क्षति
प्रारम्भिक सरकारी विवरणअनुसार रसुवाका सात विद्यालयमा क्षति पुगेको छ, जसमध्ये एक निजी विद्यालय पनि रहेको छ। ३ विद्यालय पूर्ण क्षति छन् भने ४ विद्यालयमा आंशिक क्षति पुगेको छ। नुवाकोटका आठ विद्यालयमा क्षति पुगेको छ, जसमध्ये २ विद्यालय पूर्ण क्षति भएका छन् भने ६ विद्यालयमा आंशिक क्षति पुगेको छ। यस जिल्लाका ८ मध्ये ५ निजी विद्यालयमा क्षति पुगेको सूचना अधिकारी धामीले जनाए। धादिङका ८ विद्यालयमा क्षति पुगेको छ, जसमध्ये एक विद्यालय निजी रहेको छ। यस जिल्लाका ८ वटै विद्यालयमा आंशिक रूपमा क्षति पुगेको तथ्यांक छ।
रसुवाका टिमुरे, गोसाइँकुण्ड तथा उत्तरगया क्षेत्रका विद्यालय बढी प्रभावित भएका छन्। नुवाकोटका त्रिशूली तथा बेत्रावती आसपासका विद्यालयमा पनि बाढीले ठुलो क्षति पुर्याएको छ। विद्यालय भवन नै बगाएकाले तत्काल कक्षा सञ्चालन गर्न कठिन देखिएको उनले जनाए। मन्त्रालयका अनुसार प्रभावित विद्यालयको नाम, विद्यार्थी तथा शिक्षक संख्या, भवनको क्षति अवस्था र पुनः पठनपाठन सुरु गर्न आवश्यक पर्ने कामको छुट्टाछुट्टै विवरण संकलन भइरहेको छ। उनले मन्त्रालयको पहिलो प्राथमिकता नागरिकको जीवन जोगाउने र सामान्यीकरणतर्फ लैजाने रहेको जनाए।
द्रूत सर्वेक्षण टोली गठन
मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबिच सूचना आदानप्रदानका लागि संयन्त्र बनाइएको सूचना अधिकारी धामीले बताए। आगामी योजनाबारे बताउँदै उनले भने, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रका तीनजना निर्देशकको सहभागितामा शिक्षाको द्रूत सर्वेक्षण टोली गठन भएको छ। रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा स्थलगत पुगेर क्षतिको तथ्यांक संकलन कार्य भदौ १७ देखि हुन्छ।’ उनले थपे, ‘टोली सदस्यहरूलाई भदौ १६ गते अभिमुखीकरण गरिने छ। स्थलगत निरीक्षण र भ्रमणबाट वास्तविक क्षतिको तथ्यांक संकलन हुन्छ।’
अस्थायी सिकाइ केन्द्र स्थापना गर्ने
क्षतिग्रस्त विद्यालय तत्काल सञ्चालन गर्न नसकिने अवस्थाका बाढीबाट प्रभावित जिल्लाका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने र मनोसामाजिक सहयोग प्रदान गर्ने योजना मन्त्रालयले अघि सारेको छ। ‘विद्यालय मात्र होइन; बस्ती, सडक, घरपरिवार सबै गुमेको स्थिति छ। यस्तो अवस्थामा जीवन रक्षा महत्वपूर्ण पक्ष हो’, उनले थपे, ‘मन्त्रालयले विद्यालय पुनर्निर्माण कार्य पछि गर्ने छ। पहिलो कार्य मानवीय क्षति भएका, परिवार गुमाएका ती क्षेत्रका सबै बालबालिका र अभिभावका लागि मनोसामाजिक परामर्श उपलब्ध गराइने छ।’ उनका अनुसार जीवनयापन सामान्य भएपछि बालबालिकाको सिकाइलाई अस्थायी सिकाइ केन्द्र स्थापना गरेर सुरु हुन्छ।
मन्त्रालयका अनुसार करिब चार हजार विद्यार्थीका लागि शिक्षण–सिकाइ किट तयार अवस्थामा छन्। बाढीका कारण घरपरिवार गुमाएका वा विस्थापित भएका बालबालिकाको मानसिक अवस्थालाई ध्यानमा राख्दै मनोसामाजिक परामर्शलाई पनि शैक्षिक पुनर्स्थापनाको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउने तीव्र तयारी रहेको उनको भनाइ छ।
विद्यालय पुनर्निर्माणमा सरकारको जिम्मेवारी
प्रभावित क्षेत्रका विद्यालय पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने उनले बताए। तत्काल उद्धार र राहतमा केन्द्रित हुँदै त्यसपछि विद्यालय तथा शैक्षिक संरचना पुनर्स्थापनामा जाने सरकारी तयारी छ। यसैबिच बाढीका कारण राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेका क्षेत्रमा विद्यालयसहित अत्यावश्यक सार्वजनिक संस्थामा वैकल्पिक विद्युत् पहुँच पुर्याउने काम पनि सुरु भएको छ। शिक्षा मन्त्रालयले विद्यालयमा सौर्य विद्युत् जडान गर्न तयारी गरेको छ।
भवन मात्र बनाउने कि सुरक्षित विद्यालय बनाउने ?
भोटेकोशी बाढीले विद्यालय पुनर्निर्माणलाई केवल भवन बनाउने विषय नभई विपद्–प्रतिरोधी शैक्षिक पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता देखाएको छ। भवन बगेका विद्यालयमा नयाँ संरचना बनाउँदा नदी तथा बाढीको जोखिम क्षेत्रको पुनर्मूल्यांकन, सुरक्षित स्थानमा विद्यालय सार्ने सम्भावना, वैकल्पिक सिकाइ केन्द्र, सुरक्षित खानेपानी तथा शौचालय, विद्युत् र सञ्चारको व्यवस्था गर्नुपर्ने इटहरी सुनसरीमा रहेको जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए। दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष पनि हुन्।
सरकारले तत्कालका लागि उद्धार र राहतसँगै बालबालिकालाई विद्यालय शिक्षाबाट पूर्णरूपमा विच्छेद हुन नदिने, अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थायी विद्यालय पुनर्निर्माण गर्ने तीन तहको रणनीति अघि बढाउन अध्यक्ष दंगालको सुझाव छ। सुनसरी इटहरीस्थित जनता माध्यमिक विद्यालयका बालबालिकाले रसुवाका बाढीपीडितलाई आफ्नो खाजा खर्चबाट केही कटाएर आर्थिक सहयोग गरेका छन्।
विद्यार्थीले खाजा रकमबाट दैनिक एक रुपैयाँ कटाएर विद्यालयले स्थापना गरेको विपद् राहत कोषमा जम्मा गर्ने गरेका थिए। २०७५ सालदेखि विद्यार्थीले आपत्विपत्मा परेकाहरूलाई आर्थिक सहयोग गर्ने लक्ष्यसहित रकम संकलन गर्दै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दंगालले बताए।
‘हाम्रो विद्यालयमा हाल ३५ सय विद्यार्थी छन्। विद्यार्थीले खाजाबाट एक रुपैयाँ कटाएर ५१ हजार जुटाएका छन्’, अध्यक्ष दंगालले भने, ‘विद्यालय करारका शिक्षकका तलबबाट कट्टा गरी एक लाख ४० हजार ८ सय ९ रुपैयाँ सोमबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।’ उनले यसअघि पनि कोरानाका बखत विद्यालयका विद्यार्थी र शिक्षकले इटहरी उपनगरपालिकालाई एक लाख रुपैयाँ राहत सहयोग गरेको थियो।
प्रकाशित: १६ भाद्र २०८३ ११:४७ मंगलबार