शिक्षा

स्वास्थ्य बाइपास, शिक्षाको हालीमुहाली

नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाएकोमा सरोकारवालाले विरोध जनाएका छन्।

सिफारिस समितिको संयोजकमा अंग्रेजी भाषाका प्रा.डा. जयराज अवस्थीलाई उपकुलपति र रजिस्ट्रार छनोटका लागि सिफारिस समिति संयोजक बनाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष डा. बद्री रिजालको नेतृत्वको टोलीले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो। संघका अध्यक्ष डा. बद्री रिजालका अनुसार उनले शिक्षामन्त्री पोखरेललाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिको सिफारिस समितिमा संयोजक स्वास्थ्यकै हुनुपर्ने दह्रो माग राखेका हुन्। ‘स्वास्थ्य क्षेत्रका उपकुलपति र रजिस्ट्रार छनोट गर्न समिति संयोजक स्वास्थ्य क्षेत्रकै व्यक्ति राख्दा मात्र उपयुक्त नेतृत्व स्वास्थ्य विज्ञान विश्वविद्यालयले पाउँछ’, अध्यक्ष रिजालले मन्त्री पोखरेललाई मागपत्र बुझाएपछि नागरिकसँग भने, ‘हामीले मन्त्रीज्यूलाई यही विषय राख्यौं। मन्त्रीज्यूको ध्यानकर्षण भएको छ। उहाँले हामीलाई आश्वासन दिनुभएको छ।’

यति मात्र होइन, स्वास्थ्य क्षेत्रमा विद्यावारिधि उपाधि हासिल गरेका व्यक्तिहरू न्यून भएकाले उक्त प्रावधान संशोधन गर्नसमेत माग गरिएको उनले बताए। ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ दफा २४(क) अनुसार विश्वविद्यालयका उपकुलपतिको योग्यता विद्यावारिधि, डिएम, एमसिएच वा सोसरहको प्रावधान रहेको छ। नेपालको चिकित्सा क्षेत्रमा एमडी (एमएस), एमडिएसलाई उच्च तहको उपाधिका रूपमा मानिन्छ’, अध्यक्ष डा. रिजालले भने, ‘नेपालमा पिएचडी अध्ययन अध्यापन न्यून संख्यामा हुने हुँदा उक्त प्रावधान संशोधन गरी स्नातकोत्तर तहको मेडिकल शिक्षा प्राप्त विज्ञ राख्न नेपाल चिकित्सक संघले जोडदार माग गरेको छ।’

अध्यक्ष रिजालका अनुसार मन्त्री पोखरेलले यसमा पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपयुक्त व्यक्ति नेतृत्वमा ल्याउन स्वास्थ्य क्षेत्रकै व्यक्ति पदपूर्ति समितिमा समेत हुनुपर्ने माग संघले राखेको जनाए। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. पद्म खड्काले स्वास्थ्य विज्ञान विश्वविद्यालय नितान्त स्वास्थ्य शिक्षासँग जोडिएकाले विश्वविद्यालय सभामा पनि स्वास्थ्यकै सदस्य हुनुपर्ने विषयमा मन्त्री पोखरेललाई अवगत गराएको बताए।

‘हाल उपकुलपति र रजिस्ट्रार छनोट सिफारिस समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाको हालिमुहाली देखियो’, अफिनका अध्यक्ष खड्काले भने, ‘विश्वविद्यालय भन्नासाथ शिक्षा मात्र हुँदैन यो त स्वास्थ्य विज्ञान विश्वविद्यालय हो। यसमा स्वास्थ्यका व्यक्तिहरू नै हरेक पदपूर्ति समितिमा हुनुपर्छ अनि मात्र विश्वविद्यालयको नेतृत्वको सही मूल्यांकन हुन्छ र विश्वविद्यालयले सही नेतृत्व पनि पाउँछ।’

शिक्षा तथा खेलकुद मन्त्रालयले जेठ ७ मा उपकुलपति तथा रजिस्ट्रार नियुक्तिका लागि सूचनाको कामकारबाही रद्द गरी स्वास्थ्य क्षेत्रका विज्ञको संयोकत्वमा सिफारिस समिति पुनर्गठन गर्न मन्त्री पोखरेलको गम्भीर ध्यानाकर्षण गराइएको संघका अध्यक्ष रिजालले जनाए।

हाल विश्वविद्यालय ऐनको दफा (२)(क) पदपूर्ति समितिको संयोजकबाट (ठ) नं प्रावधान हटाइनुपर्ने साथै उपकुलपति र रजिस्ट्रारको नियुक्तिका लागि बनाइएको सिफारिस समिति दफा २५ १(क) बाट पनि (ठ) नं बुँदा हटाइनुपर्ने माग संघले राखेको छ। शिक्षा मन्त्रालयमा मोबाइल, क्यामरा तथा पत्रकारलाई समेत बन्देज गरिएकोमा संघले आपत्ति जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०८३ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App