शिक्षा

चार वर्षे स्नातक तह विद्यार्थीलाई बोझ

एआईको सहयोमा बनाइएको सांकेतिक तस्बिर।

सरकारले स्नातक तहको पाठ्यक्रमलाई तीन वर्षेबाट चार वर्षेमा परिणत गरेपछि उच्च शिक्षाका लागि विद्यार्थीको विदेश पलायन हुने क्रम तीव्र बनेको छ।

विश्वविद्यालयको संरचना परिमार्जनसँगै अतिरिक्त एक वर्ष पढ्नुपर्ने बाध्यताले धेरै युवा देशमै पढ्नुभन्दा विदेशतर्फ आकर्षित भएको पाइएको हो।

नेपालमा चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीलाई आर्थिक, मानसिक र समयको भार बढाएको तथा उच्च शिक्षाका लागि बिदेसिन प्रेरित गरिरहेको तथ्यांकले देखाएको छ।

पहिले नेपालमा पढाइ नहुने विषय अध्ययनका लागि विदेश जाने विद्यार्थी अहिले नेपालमै पढाइ हुने विषय पढ्न पनि बिदेसिन थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाको तथ्यांकले देखाएको छ। पछिल्ला केही वर्षको तथ्यांक हेर्दा उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको संख्या बढ्दै गएको छ।

एनओसीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा एक सय ११ देशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीले एनओसी लिएका छन्। यस अवधिमा तीन लाख ३८ हजार नौ सय ७४ जना विद्यार्थीले एनओसी लिएका छन्।

तथ्यांकअनुसार चार वर्षको अवधिमा आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढीले एनओसी लिएका छन्। यस वर्ष उच्च शिक्षा अध्ययनका लागि एक लाख १२ हजार पाँच सय ९३ जनाले एनओसी लिएका छन्। उक्त आर्थिक वर्षको साउन १ देखि पुस १४ गतेसम्म ४६ हजार सात सय ८५ जनाले एनओसी लिएका छन्।

मन्त्रालयमा दर्ता भएका विदेशी कलेजले समेत त्यहाँको शिक्षा यहाँ उपलब्ध गराइरहेकै छन् तर पनि नेपाली विद्यार्थीमा विदेश मोह बढ्दै जानु चिन्ताजनक भएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्।

कक्षा १२ उत्तीर्ण विद्यार्थीको एक हातमा शैक्षिक योग्यताको प्रमाणपत्र र अर्को हातमा विदेशको भिसा हुने अवस्थामा नेपाल रहेको उनको भनाइ छ। ‘विद्यार्थी सानै उमेरमा शिक्षासँगै अवसरका लागि विदेश जान खोजेको यसले बुझाउँछ,’ कोइराला भन्छन्, ‘यस कारण हाम्रो पाठ्यक्रममा जीवनोपयोगी सिकाइ पनि राख्नुपर्छ। उच्च शिक्षा अध्ययनका लागि एनओसी लिनेको मुख्य लक्ष्य विदेशमा अवसरको खोजी नै रहेको पाइएको छ।’

एनओसी शाखाको तथ्यांकअनुसार आव २०८०/८१ को एनओसी तथ्यांकले सबैभन्दा धेरै विद्यार्थीको रोजाइ जापान, क्यानडा, अस्ट्रेलिया, अमेरिका, बेलायत र कोरिया देखाएको छ।

उक्त अवधिमा एनओसी लिएका एक लाख १२ हजार पाँच सय ९३ जनामध्ये जापानका लागि ३४ हजार सात सय ३१ जना छन्। त्यसपछि क्यानडा १५ हजार नौ सय ८२, अस्ट्रेलिया १४ हजार तीन सय ७२, बेलायत १३ हजार तीन सय ३९, अमेरिका ११ हजार दुई सय ६१ र कोरियाका लागि ६ हजार आठ सय ८९ जनाले एनओसी लिएका छन्।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा एक लाख दुई हजार ६ सय १० थान एनओसी जारी भएको देखिन्छ। त्यसमध्ये सबैभन्दा धेरै २८ हजार ७९ जनाले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएका थिए।

यसैगरी सोही वर्ष क्यानडा पढ्न जान २० हजार आठ सय १० जनालो एनओसी लिएका थिए। त्यस्तै, चार हजार ९८ जनाले अमेरिका, १० हजार दुई सय ८० जनाले बेलायत र २१ हजार ६ सय ४१ जनाले जापानका लागि एनओसी लिएको देखिन्छ।

त्यस्तै आव २०७८/७९ मा सरकारले ९५ हजार पाँच सय ३२ वटा एनओसी जारी गरेको थियो। त्यस वर्ष अस्ट्रेलियाका लागि ५० हजार तीन सय जनाले एनओसी लिएका थिए। त्यसपछि जापान १६ हजार ६ सय ९५, क्यानडा पाँच हजार दुई सय ६८, अमेरिका ६ हजार तीन सय ८१, बेलायत पाँच हजार एक सय ५१ र कोरियाका लागि एक हजार दुई सय ५१ जनाले एनओसी लिएका थिए।

प्रकाशित: १ भाद्र २०८२ २०:४५ आइतबार