शिक्षा

तालाबन्दी नखोली पियूका भिसी, रजिष्ट्रार र डीन विदेश सयरमा

पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको करिब एकमहिना भएको छ। जसका कारण विश्वविद्यालयको प्रशासनिक कार्य प्रभावित बनेको छ। तर विश्वविद्यालयका उपकुलपति, रजिस्टार र डीन भने तालाबन्दी खुलाउन पहल गर्नुको साटो विदेश सयरमा निस्किएका छन्।  

विश्वविद्यालय अस्तव्यस्त छाडेर भिसी प्रेमनारायण अर्याल, रजिस्टार दीपकबहादुर भण्डारी र इञ्जिनियरिङ विभागका डीन राजेशकुमार ठकुराठी दुईसाताका लागि विदेश सयरमा गएका हुन्। बुधबार प्रस्थान गरेका उनीहरु करीब डेढहप्ता विदेशमै रहनेछन्। उनीहरु स्पेन, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशको भ्रमण सकेर साउन तेश्रो हप्ता मात्रै पोखरा फर्किने श्रोतले बताएको छ।

भिसी अर्यालले सिनियर डीन (मानविकी संकाय)का डा.अजय थापालाई कार्यवाहक जिम्मेवारी दिएका छन् भने रजिस्टार भण्डारीले हेल्थ एण्ड साईन्सका डीन अमर नागिलालाई जिम्मेवारी तोकेका छन्।  तर पूर्ण जिम्मेवारी पाएका उनीहरु हुँदा त निर्णायक पहल नभएका बेला कामचलाउ जिम्मेवारी पाएकाहरुले त्यो जिम्मेवारी पूरा गर्ने सम्भावना नभएको स्वयं आन्दोलित विद्यार्थीहरुको भनाई छ।

नेविसंघ पोखरा विश्वविद्यालय एकाई समितिले गत असार १० गते विश्वविद्यालयले विशिष्टिकरण अर्थात विभिन्न क्याम्पसलाई आंगिक क्याम्पस बनाउने, सम्बन्धन दिने, कार्यक्रम थप्न ेलगायतका कार्यहरु बन्द गर्न माग गर्दै तालाबन्दी गरेको थियो। उनीहरुले भिसी, रजिस्टार र प्लानिङ डाईरेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

तालाबन्दी खुलाउने विषयमा यो बीचमा सामान्य प्रयास भएपनि निर्णायक पहल नभएको नेविसंघको बुझाई छ। भिसी, रजिस्टार र डीन विदेश उड्नका लागि काठमाडौं जाने अघिल्लो दिन साउन २ गते पनि छलफलका लागि बैठक बोलाइएको थियो। तर, परीक्षा परेका कारण नेविसंघका प्रतिनिधिहरुले छलफल अपराह्न मात्र बस्नसक्ने जानकारी गराएको थियो। तर भिसी, रजिस्टार र डीन वार्ताका लागि समय नदिई काठमाडौं गएको नेविसंघ पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदीले बताए। ‘विहान परीक्षा थियो। परीक्षा सकेर छलफलका लागि पुग्दा त उहाँहरु त काठमाडौं गइसक्नु भएको रहेछ,’ सभापति सुबेदीले भने।  

विश्वविद्यालय खुलाउने दायित्व बिर्सेर भिसी, रजिस्टार र डीन एकैपटक विदेश जानु गलत भएको नेविसंघ पोखरा विश्वविद्यालय एकाई समितिले जनाएको छ। एकाई सभापति सुबेदी भन्छन्, ‘विश्वविद्यालय अस्तव्यस्त बनाएर पदाधिकारी सबै विदेश सयरमा निस्किनु सरासर गलत हो। यो गैरजिम्मेवारीको पराकाष्ठा हो।’ उनले विदेश जाने कार्यक्रम सारेर भएपनि विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्नुपर्नेमा उनीहरु गैरजिम्मेवार बनेर विदेश गएको टिप्पणी गरे। ‘यता विश्वविद्यालय अस्तव्यस्त छ। उता विश्वविद्यालयका पदाधिकारी बिदेश जानु पक्कैपनि राम्रो कुरा होईन। यो त उहाँहरु आफैले बुझ्नुपर्ने कुरा हो।’

नेविसंघले क्याम्पसलाई आंगिक क्याम्पस बनाउने, सम्बन्धन दिने, कार्यक्रम थप्ने लगायतका कार्यक्रम बन्द नगरेसम्म तालाबन्दी नखोल्ने जनाएको छ। नेविसंघ एकाई सभापति सुबेदीले भने, ‘हामी हाम्रो माग पूरा नभएसम्म तालाबन्दी खोल्दैनौ। जबरजस्ती गरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं।’

उसो त डेढ वर्ष अघि विश्वविद्यालयबाट करिब ६ लाख रुपैयाँ बराबरको तामा चोरी भएको थियो। तामा मिलेमतोमै चोरी भएको विद्यार्थीको दाबी छ। एक कर्मचारीले चोरिएको तामा लैजाने व्यक्ति र स्थान बताउँदा पनि फर्काउन विश्वविद्यालय पदाधिकारीले पहल नगरेका कारण पनि त्यो मिलेमतोमै चोरीएको भन्ने कुरालाई पुष्टि गर्ने विद्यार्थीको भनाई छ। 

त्यस्तै, फुटबल प्रतियोगिता भएका बेला लगिएको सामान पनि होटलले कब्जा गरेको विद्यार्थीको दाबी छ। आयोजकले होटलको बिल नतिर्दा विश्वविद्यालयबाट लगेको सोफा र कुर्सी कब्जा गरेर राखेको श्रोतले बतायो। श्रोतले भन्यो, ‘व्यक्तिले पैसा तिरेन भन्दैमा विश्वविद्यालयको सोफा र कुर्सी कब्जा गर्न पाउँदैन। तर विश्वविद्यालयका पदाधिकारीलाई फिर्ता ल्याउन दवाब दिदा वास्ता गर्दैनन्।’

प्रकाशित: ५ श्रावण २०७९ ११:०७ बिहीबार

पोखरा विश्वविद्यालय