शिक्षा

अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

भक्तपुरको ख्वप कलेजमा टाइम सिरिज एनालाइसिस युजिंग इ—भ्युज विषयमा पाँचदिने कार्यशाला गोष्ठी मंगलबारदेखि सुरु भएको छ।  जिल्लाको ख्वप कलेजको आयोजनामा भएको गोष्ठीको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गरे ।  

कार्यक्रममा नगर प्रमुख प्रजापतिले कलेजहरुले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। अनुसन्धानमा जोड दिएका देशहरुको विकास तुलनात्मक रुपमा बढी भइरहेको पाइएको उनको कथन छ।  

विज्ञान तथा प्रविधिमा यथेष्ट लगानी गरेरमात्र देश विकासको पूर्वाधारको विकास सम्भव हुने बताउँदै उनले राज्यले शिक्षा, विज्ञान तथा प्रविधिलाई कमै महत्व दिने गरेको बताए। सरकारले प्रविधि तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाएर यस क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गरी सस्तोमा गुणस्तरी मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उनले प्रष्ट पारे।

भक्तपुरका कलेज तथा विद्यालयहरुलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउँदै उनले विकास निर्माणका काममा विदेशीको भर पर्न नहुने र आफूमा भएको ज्ञान र सीपलाई विस्तार गर्न अनुसन्धानका कार्यहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले कलेजले प्रत्येक वर्ष विभिन्न विषयमा अनुसन्धान क्षेत्रका कार्यशाला गोष्ठीहरु आयोजना गर्दै आइरहेको जनाए। यस्ता कार्यक्रमहरुले शिक्षकहरुको मनोबल बढाउन मद्दत पुग्ने उनको बुझाइ छ। कार्यक्रममा प्रमुख प्रजापतिले कलेजका प्राचार्य रुपक जोशीलाई तालिमको सामाग्री हस्तान्तरण गरेका थिए।

प्रकाशित: १९ आश्विन २०७८ ०८:१५ मंगलबार

ख्वप कलेज