बिहीबारदेखि सुरु हुन गईरहेको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी उदयपुरमा पुरा भएको छ । यो वर्ष उदयपुरका ५ हजार ६ सय १२ जना परक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई उदयपुरले जनाएको छ ।
एकाई कार्यालयका अनुसार सामुदायिकतर्फ १ सय १६ विद्यालयबाट २ हजार ९ सय २३ तथा संस्थागततर्फ ४३ विद्यालयका २ हजार ६ सय ८९ जना विद्यार्थी एसईईमा सहभागी हुदैछन् । जसमा छात्रा परीक्षार्थीको संख्या ४ हजार ५ सय ३ जना छन् भने छात्र १ हजार १ सय ९ जना रहेको एकाई प्रमुख उपसचिव भवानी कट्टेलले बताए ।
प्रमुख कट्टेलका अनुसार यसवर्ष नियमित (साधारण)तर्फ ५ हजार १ सय ४१ र नियमित (प्राविधिकधार)तर्फ १ सय ७८ जना परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरि ग्रेडबृद्धितर्फका परीक्षार्थी संख्या साधारण र प्राविधिक दुवैतर्फ २ सय ९३ जना रहेको छ ।
सामुदायिक र संस्थागत ४३ गरि कुल १ सय ५९ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहने परीक्षाका लागि जिल्लाभरि २२ वटा केन्द्र तय गरिएको छ । जस अनुसार सदरमुकाम त्रियुगा नगरपालिकामा ८ केन्द्र तय गरिएको छ भने कटारी, चौदण्डी र बेलका नगरमा ३–३ वटा कायम गरिएको छ ।
गाउँपालिकातर्फ उदयपुरगढीमा २ तथा, लिमचुङबुङ, रौतामाई र ताप्लीमा १–१ केन्द्र तय गरिएको छ । गतवर्षको दाँजोमा यसवर्ष ४ वटा केन्द्र संख्या घटाइएको छ । हाकिम कट्टेलका अनुसार चौदण्डीगढीको थानपोखरी मावि हडिया, त्रियुगा नगरपालिका ३ स्थितसत्यवति मावि भुल्के त्रिनपा ५ स्थित मावि श्रीपुर र कटारी नगरपालिका २ स्थित कल्याणपुर माविको केन्द्र हटाइएको छ ।
परीक्षार्थी संख्या घटेका कारण यसवर्ष केन्द्र संख्या घटाइएको कार्यालयले जनाएको छ । गतवर्षको परीक्षार्थी संख्या ५ हजार ८ सय ८९ जना रहेकोमा यसवर्ष घटेर ५ हजार ६ सय १२ मा सीमित भएको छ । गतवर्षको दाँजोमा १ सय ७७ जना कम परीक्षार्थी भएसँगै ४ वटा परीक्षा केन्द्र घटाउनु परेको कट्टेलले बताए ।
यसवर्षको परीक्षाका केन्द्राध्यक्षदेखि कार्यालय सहयोगी तथा सुरक्षाकर्मीसहित ८ सय ६४ कर्मचारी परिचालन गरिनेछन् । जसमा २२ जना केन्द्राध्यक्ष रहनेछन् भने ४३ सहायक केन्द्राध्यक्ष, २ सय ९५ निरीक्षक ५९ परीक्षा सहायक र १ सय १५ जना कार्यालय सहयोगी रहनेछन् । त्यसैगरि सुरक्षाकर्मी प्रत्येक केन्द्रमा बढीमा १५ जनाका दरले ३ सय ३० जना परिचालन हुने हाकिम कट्टेलले बताएका छन् ।
प्रकाशित: १८ चैत्र २०८२ १९:१८ बुधबार