शिक्षा

ताप्लेजुङका उत्कृष्ट विद्यालय तथा कर्मचारी पुरस्कृत

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्र भित्रका चार बिद्यालय,दुई व्यवस्थापन समिति र सातजना शिक्षक तथा विद्यालय कर्मचारीलाई नगदसहित अवार्ड प्रदान गरेको छ। रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर बोगटीको उपस्थितिमा मंगलवार रिड नेपाल ताप्लेजुङले उक्त अवार्ड प्रदान गरेको रिड नेपाल ताप्लेजुङका जिल्ला प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 

पन्तका अनुसार २०८० सालको शैक्षिक गतिविधि, उत्कृष्टता र लगनशिलता सहितका क्षेत्रलाई आधार मानेर पुरस्कृत हुने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुको छनौट गरिएको छ। उनका अनुसार फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालय र इखाबुस्थित रानी आधारभूत विद्यालय ‘बेष्ट पर्फमिङ विद्यालय’को रुपमा नगद ४५ हजार रुपैयाँसहित पुरस्कृत भएका छन्। रानी आठौं पटक उक्त अवार्डबाट पुरस्कृत भएको हो। 

यसअघि एउटा विद्यालयमात्र  ‘बेष्ट पर्फमिङ विद्यालय’को रुपमा पुरस्कृत हुने गरेकोमा यसपटक दुबै विद्यालयको छनौट मापन अंक बराबर भएकोले दुबैलाई छनौट गरी अवार्ड बितरण गरिएको पन्तले जानकारी दिए।

पन्तका अनुसार सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक विद्यालय र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित सुनदेवी माध्यमिक बिद्यालय नगद ३० हजार रुपैयाँ सहित क्रमशः ‘स्टार स्कुल अवार्ड’ र ‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसईई २०८०’बाट पुरस्कृत भएका छन्। 

विद्यालय व्यवस्थापन समितितर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका बिव्यस अध्यक्ष नेत्रकुमार आचार्य र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित बिपुधाम आधारभूत विद्यालयका बिव्यस अध्यक्ष इन्द्रप्रकाश लिम्बू नगद जनही ५ हजार रुपैयाँ ‘एसएमसी अवार्ड २०८०’बाट पुरस्कृत भएका छन्।

रिड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूका अनुसार स्रोत शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका प्रअ रामकुमार लिम्बू,खेवाङस्थित पाथीभरा महादेव आधारभूत विद्यालयका बिन्दुकला लिम्बू तथा फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित पार्वती माध्यमिक विद्यालयका कमलकुमार हेल्लोक नगद ५ हजार रुपैयाँ सहित‘आरएलटी अवार्ड २०८०’बाट पुरस्कृत भएका छन्।

४ जनाले प्राप्त गर्ने ‘स्टार टिचर अवार्ड २०८०’बाट सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक बिद्यालयका लक्ष्मीप्रसाद लिम्बू,फक्ताङलुङ गाउँपालिकाको बिपुधाम आधारभूत बिद्यालयका बिरेशमान वनेम, इखाबुस्थित सुनदेवी माविका सन्तोष राई पुरस्कृत भए।

वाल विकास शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित महेन्द्र आधारभूत विद्यालयका रमादेवी विक पुरस्कृत हुँदा विद्यालय कर्मचारीतर्फ फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयका कार्यालय सहयोगी रनबहादुर लिम्बू पुरस्कृत भए। उनीहरुले जनही नगद ५ हजार सहितको अवार्ड प्राप्त गरेको रिड नेपालले जनाएको छ।

प्रकाशित: १९ असार २०८१ ११:४२ बुधबार

#Taplejung #read #Award