शिक्षा विकास निर्देशनालय धनकुटाबाट सिफारिस भई आएका १२ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले सामुहिक रुपमा नियुक्ति प्रदान गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका नेपाली, अंग्रेजी र सामाजिक विषयका १२ जनालाई स्थायी नियुक्ति प्रदान गरी कार्यस्थलमा लागि बिदाई गरिएको छ । भट्टराईका अनुसार नेपालीका ३ जना, अंग्रेजीका ४ जना र सामाजिकका ५ जना शिक्षक शिक्षा विकास निर्देशनालय धनकुटाबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए ।
भट्टराईका अनुसार नेपाली विषयतर्फ गंगाकुमारी श्रेष्ठ, मधुकुमारी झा र केशर टमाटा, अंग्रेजी विषयतर्फ पवित्रा यक्सो लिम्बू, अस्मिता धिमाल, कौशला राई र अजयकुमार महतोले स्थायी नियुक्ति बुझेका हुन् ।
त्यस्तै सामाजिक विषयतर्फ हरिबहादुर तामाङ, लक्ष्मी थापा, कपिल दर्जी, नवीन श्रेष्ठ र रामानन्दप्रसाद यादवले स्थायी नियुक्ति बुझेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
प्रकाशित: ३० कार्तिक २०८२ १७:०९ आइतबार