सम्पादकीय

एसियाली खेलमा स्वर्णको प्रतीक्षा

एसियाली खेलकुदको २०औं संस्करण शनिबार जापानको नागोया/आइची सहरमा औपचारिक उद्घाटन हुँदै छ। असोज १८ गतेसम्म चल्ने यो संस्करणमा ओलम्पिक तथा विश्व च्याम्पियनसहित एसियाली स्टारहरू प्रतिस्पर्धा गर्दै छन्। एसियाका ४५ देशका करिब ११ हजार खेलाडीबिच जापानमा प्रतिस्पर्धा सुरु भइसकेको छ। ७५ वर्षे इतिहास बोकेको यस संस्करण नेपाल र नेपाली खलाडीका लागि बहुप्रतीक्षित छ।

नेपालले एसियाली खेलकुदमा सहभागिताको सात दशक लामो यात्रा पूरा गर्न लाग्दा अहिलेसम्म स्वर्णसहित दोहोरो अंकमा पदक जित्न सकेको छैन। करिब १८ महिनाको तयारी र मिसन २०२६ अन्तर्गत लामो तयारीसहित यसपल्ट ऐतिहासिक स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने विश्वाससाथ नेपाली खेलाडी नागोया/आइची पुगेका छन्। यस अवधिमा नेपाली खेलाडीले तीन रजत र २३ कांस्य गरी २६ पदक जितेका छन्। एसियाको सबैभन्दा ठुलो खेल महोत्सवमा नेपालको स्वर्ण पदकको प्रतीक्षा अझै कायमै छ।

नेपालले एसियाली खेलकुदमा सन् १९५१ देखि सहभागिता जनाउँदै आएको छ।  सन् १९८६ को सोल एसियाडमा तेक्वान्दोबाट पहिलोपटक पदक जितेको नेपालले त्यसयता विभिन्न संस्करणमा पदक थप्दै आएको हो। सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दो खेलाडीले नेपाललाई रजत पदक दिलाएका थिए। त्यसपछि पनि तेक्वान्दो, कराते र बक्सिङलगायत खेलबाट नेपाली खेलाडीले सफलता हासिल गरेका छन्।

सन् २०१४ को इन्चोन एसियाडमा नेपालले करातेबाट कांस्य पदक जितेको थियो। २०१८ को जकार्ता/पालेम्बाङ एसियाडमा पनि करातेले नेपालको पदक आशा कायम राखेको थियो। १९औं एसियाली खेलकुदमा नेपालले करातेबाट महत्त्वपूर्ण उपलब्धि हासिल गर्‍यो। यी उपलब्धिले नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्ने क्षमता रहेको देखाएका छन्। तीन रजत र २३ कांस्य पदकको इतिहासले सात दशक लामो सहभागितामा नेपाल किन स्वर्ण पदकसम्म पुग्न सकेन?

यसको उत्तर खेलाडीको व्यक्तिगत मेहनतमा मात्रै खोजेर पुग्दैन। खेलकुदको संस्थागत विकास, प्रशिक्षणको निरन्तरता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर र खेलाडीलाई उपलब्ध गराइने सुविधासहितका विषयले अर्थ र महत्त्व राख्छ। खेलाडीले आकांक्षा राख्नु र प्रयास गर्नु स्वाभाविक हो तर नतिजा निकाल्न त्यसअनुसारको तयारी मात्र होइन, लगानी पनि आवश्यक हुन्छ। यसपटक राष्ट्रिय खेलकुद परिषद्ले सुरु गरेको मिसन २०२६ अन्तर्गत लामो समयदेखि तयारी गरेको छ। लामो तयारी, खेलाडीको अन्तर्राष्ट्रिय अनुभव र पछिल्ला प्रतियोगितामा देखिएको प्रदर्शनका आधारमा यसपटक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखिएको छ। पदक प्राप्तिका लागि निरन्तरको तयारीसाथै प्रशिक्षणको गुणस्तर, खेलाडीको वास्तविक प्रतिस्पर्धात्मक स्तर र अन्तर्राष्ट्रिय अनुभवले समेत भूमिका खेल्छ।

खेलकुदमा व्यक्तिगत प्रतिभासँगै टिमको तयारी, रणनीति र प्रतिस्पर्धाको परिस्थितिले पनि नतिजा निर्धारण गर्छ। अघिल्लो एसियाली खेलकुदमा रजत पदक विजेता करातेकी एरिका गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको प्रदर्शनले नेपाली खेलप्रेमीमा आशा जगाएको छ  तर कुनै एक खेल र खेलाडीमाथि मात्रै स्वर्णको अपेक्षा केन्द्रित गर्नु उचित हुँदैन।

नेपालको अर्को चुनौती तेक्वान्दोमा देखिएको छ। कुनै समय नेपालको सबैभन्दा सफल खेलका रूपमा रहेको तेक्वान्दोले पछिल्ला चार संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। यसपटक छनोट चरण पार गर्न नसकेपछि वाइल्ड कार्डका आधारमा खेलाडी सहभागी हुँदै छन्। विगतमा पदक दिलाएको खेलको यस्तो अवस्थाले खेलकुदका सफलतालाई निरन्तरता दिन संस्थागत तयारी कति आवश्यक हुन्छ भन्ने देखाउँछ। बक्सिङ, कबड्डी, उसु र जुडोबाट पनि आशा गरिएको छ।

बक्सिङले यसअघि नेपाललाई ६ कांस्य पदक दिलाइसकेको छ।  चीन, जापान, दक्षिण कोरिया, भारत, इरान र काजकिस्तानजस्ता बलिया खेल राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा नेपाली खेलाडीको तयारीलाई नतिजाको आधारमा मूल्यांकन गर्नुपर्छ।  खेलकुदको सफलता पदकको संख्यामा मात्रै पनि मापन गर्नु हुँदैन। खेलाडीको प्रदर्शन सुधार, नयाँ प्रतिभाको विकास र संस्थागत क्षमता विस्तार पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हुन्। सरकार र सरोकारवाला पक्षले यसमा ध्यान पुर्‍याएको देखिँदैन।

२०औं एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा एक सय ३५ खेलाडी सहभागी हुने तयारी छ।  टोलीमा पुरुष खेलाडीको संख्या महिलाको तुलनामा बढी भए पनि विभिन्न खेलमा महिला खेलाडीले पनि बलियो उपस्थिति जनाउनेछन्। समग्रमा १० हजार सात सय ९८ खेलाडीले प्रतियोगिताका लागि दर्ता गरेका छन्।

यस्ता ठुला प्रतियोगितामा सहभागिता जनाउनु आफैंमा अवसर हो तर खेलकुदमा लगानी प्रतियोगिता सुरु हुनुभन्दा केही महिनाअघि मात्रै गरिने तयारीमा सीमित हुनु हुँदैन। प्रतिभा पहिचान, नियमित प्रशिक्षण, योग्य प्रशिक्षक, पोषण, खेलाडीको स्वास्थ्य र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसरलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ, साथै पदक जित्ने खेल र खेलाडीलाई मात्र होइन, भविष्यमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्ने खेलमा पनि लगानी र तयारी आवश्यक छ। यसले मात्र एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा सधैंका लागि अन्त्य हुनेछ।  

प्रकाशित: २ आश्विन २०८३ ०६:०० शुक्रबार