अमेरिका–इजरायलले शनिबार इरानमा संयुक्त आक्रमणपछि मध्यपूर्वमा युद्धको दुन्दुुभि बजेको छ। आजको विश्वको कुनै एउटा कुनामा युद्ध भड्किँदा अर्को कुना पनि उत्तिकै प्रभावित हुन्छ। त्यहाँको युद्धसँगै इजरायल र इरानलगायत खाडी क्षेत्रमा कार्यरत करिब १९ लाख नेपालीको जीवन गम्भीर खतरामा परेको छ। तेहरानले खाडी मुलुकहरूमा रहेका थुप्रै अमेरिकी आधारहरूमा मिसाइल आक्रमण गरेको छ।
अमेरिका–इजरायल आक्रमणमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएपछिको स्थितिमा प्रत्याक्रमणका घटना बढ्ने नै छन्। त्यसैले प्रत्यक्ष रूपमा त्यहाँ कार्यरत नेपालीमाथि प्रभाव पर्ने जोखिम बढ्दो छ। त्यहाँ रहेका नेपालीको शिरमाथि मडारिइरहेको खतराको बादललाई महसुस गर्दै गैरआवासीय नेपाली संघले उनीहरूलाई सजग रहन आग्रह गरेको छ। नेपाली दूतावासहरूले अत्यावश्यकबाहेक यात्रा नगर्न र घरभित्रै बस्न सुझाव पनि दिएका छन्। सरकारले नेपालीहरूलाई इजरायल, इरान र अन्य प्रभावित देशमा यात्रा नगर्न आग्रह गरेको छ।
सर्वसाधारणको जीवन जोगाउने यी महत्त्वपूर्ण कदम हुन्। तैपनि एडभाइजरी र अपिलबाट मात्र नेपाली कामदारलाई जोगाउन सम्भव छैन। हाम्रो सरकारले यो कुन तहको आपत्कालीन स्थिति हो भन्ने महसुस गर्नु आवश्यक छ। खाडी मुलुकहरूमा अमेरिकाका थुप्रै सैन्य आधारहरू रहेका छन्। यी आधारहरूमा नेपालीले निर्माण, सुरक्षा, अतिथि सत्कार, यातायात र घरेलु कामदारका रूपमा सेवा दिइरहेका छन्। नागरिक आवास क्षेत्र नजिकका यस्ता आधारहरूमा मिसाइल आक्रमण भएको खण्डमा सर्वसाधारण नेपाली प्रभावित हुन सक्ने खतरा छ। यस क्षेत्रका हवाई सेवा अवरुद्ध हुनेबित्तिकै नेपालीहरू आत्तिने स्थिति छ। यस्तो स्थितिमा नेपालीले काम, खाद्यान्न आपूर्ति र सहज यातायातबाट वञ्चित हुनुपर्ने छ। यसका साथै उनीहरूले भय र अनिश्चितताको स्थितिमा रहनुपर्ने अवस्था छ।
नेपालका निम्ति यतिका धेरै नेपालीको उद्धारलगायतका पक्षमा ध्यान दिनुपर्ने अवस्था छ। यस्तो अवस्थाका नेपालीलाई कसरी जोगाउने भन्ने योजना सरकारले तत्काल बनाएर काम गर्नुपर्नेछ। यसका निम्ति जति ढिला गर्यो, खतरा त्यति नै छ। हाम्रो परराष्ट्र मन्त्रालयले प्रत्येक पलको खबर लिन र अवश्यक कामका निम्ति क्रियाशील हुनुपर्ने अवस्था छ। यस क्षेत्रमा क्रियाशील नेपाली दूतावासहरूले आफ्ना नागरिकको आधिकारिक सूची तयार पारी उद्धार कार्य थालनी गर्नुपर्नेछ। कतिपय नेपालीले दूतावासलाई जानकारी नदिई काम वा बसाइ परिवर्तन गरेका हुन सक्छन्। यस्तो स्थिति उद्धार कार्यका निम्ति कठिन हुन सक्छ।
यसकारण त्यहाँको सरकार र नेपालीको सहयोगमा दूतावासहरूले नेपालीको अवस्था अद्यावधिक गर्नु उचित हुन्छ। आतिथेय मुलुकसँग समन्वय गर्नु महत्त्वपूर्ण हुन्छ। खाडी मुलुकहरूको सुरक्षा र नागरिक प्रतिरक्षा प्रणाली सशक्त रहेको छ। आक्रमणको अवस्थामा नेपाली श्रमिकको सुरक्षा व्यवस्था र आवासका निम्ति यथोचित व्यवस्था मिलाउन हाम्रा दूतावासहरूले सम्बन्धित सरकारहरूसँग समन्वय गर्नु उचित हुन्छ। कुनै खास क्षेत्रमा बढ्ता खतरा रहेमा तिनलाई सुरक्षित ठाउँमा लैजान उद्धार कार्यको तयारी पनि गर्नुपर्छ। उद्धार कार्य खर्चिलो र जटिल हुन्छ। त्यसैले नेपालले पहिल्यै यसको तयारी थाल्नुपर्छ। यसअघि पनि लिबिया, इरान र लेबनानबाट अन्तिम घडीमा मात्र नेपालीलाई स्वदेश फर्काउन सकिएको थियो। यसका निम्ति भारतले विशेष सहयोग प्रदान गरेको थियो। यसकारण पनि वर्तमानको योजनालाई विगतको अनुभवले सहयोग पु¥याउनु उचित हुन्छ। चार्टर्ड फ्लाइट, भारतसँग समन्वय गर्ने वा अन्य अन्तर्राष्ट्रिय साझेदारको सहयोग लिने विषयमा पहिल्यै छलफल थाल्नुपर्छ। अन्यथा भोलि यही काम गर्न ढिलो हुन्छ। मिसाइल आक्रमण भइसकेपछि तिनको उद्धार सहज हुँदैन। हाम्रा नागरिक मात्र त्यस्तो जटिल ठाउँमा छाडिने अवस्था हुनु हुँदैन।
यस्तो विषम परिस्थितिमा हाम्रा विदेशमा भएका नागरिकसँग इमानदारीपूर्वक संवाद गर्नुपर्छ। उनीहरूसँग कुराकानी गर्न र आवश्यक उद्धार कार्यका निम्ति समन्वय गर्ने पूर्वाधार तयार पार्नुपर्छ। कामदारहरूले पनि आफ्ना कागजात तयारी अवस्थामा राख्नुपर्छ। तिनले आफ्नो सम्पर्क र समन्वय रोजगारदातासँग गर्नुपर्छ। तिनको स्थानीय नेपाली समुदायसँग प्रत्यक्ष सम्बन्ध हुनु पनि उत्तिकै आवश्यक छ। उनीहरू कसैको हल्लामा लाग्ने होइन। यस्तो अवस्थामा अनावश्यक हल्लाले पनि स्थिति बिगार्छ।
देशबाहिर रहेका १९ लाख नेपालीको सुरक्षाप्रति सरकारको आधारभूत जिम्मेवारी रहेको छ। नेपाली अर्थतन्त्रलाई दशकौंदेखि सघाउँदै आएका सर्वसाधारण नेपालीलाई अहिलेको कठिन अवस्थामा त्यतिकै छाड्न सकिँदैन। खाडी मुलुकको आकाशमा युद्धको बादल मडारिएका बेला नेपाल सरकारको ध्यान आफ्ना नागरिकतर्फ हुनुपर्छ। मध्यपूर्व यसै पनि अन्तर्राष्ट्रिय भूराजनीतिको केन्द्रविन्दुका रूपमा रहेको छ। त्यहाँका सरकारहरूले यसबाट जोगिने यथोचित उपाय गर्ने नै छन्। नेपाल सरकारले भने यस क्षेत्रमा रहेका नेपालीलाई जोगाउन आवश्यक भूमिका खेल्नुपर्नेछ। युद्धको स्थिति तत्काल समाधान हुन सक्ने देखिँदैन। यसकारण पनि सबै नेपालीको कल्याण गर्ने हिसाबले पनि सुरक्षात्मक उपाय अपनाउन हामी आग्रह गर्छौं।
प्रकाशित: १८ फाल्गुन २०८२ ०६:१३ सोमबार