सम्पादकीय

परम्परा, पेसा र प्रगति

नेपालमा रोजगारी सिर्जनाको प्रश्न सधैं पेचिलो छ। वार्षिक करिब पाँच लाख  युवा श्रम बजारमा प्रवेश गर्ने तर यीमध्ये २० प्रतिशतले मात्र रोजगारी पाउने अवस्था छ। यसरी अवसरको अभावमा उनीहरू रोजगारीको खोजीमा बिदेसिन बाध्य छन्। यसरी  युवा बेरोजगारी दर उच्च हुनु दीर्घकालीन विकासका निम्ति निकै चुनौतीपूर्ण विषय हो। हामी युवालाई गाउँमै रोजगारी र स्वरोजगारका अवसर दिन सक्यौं भने मात्र यो प्रवृत्ति परिवर्तन गर्न सम्भव हुनेछ। अहिले गाउँका खेतबारी बाँझा छन्। ग्रामीण बस्तीमा वृद्ध र बालबालिका मात्र देखिन्छन् भने अर्कातिर उर्वर र उत्पादनशील उमेर समूहका जनशक्ति विमानस्थलका प्रस्थान कक्षमा लाइनबद्ध देखिन्छन्। नयाँ नेपाल र परिवर्तित नेपालको चर्चा भइरहेको वर्तमान सन्दर्भमा अब यसको समाधान र सिर्जनात्मक विकल्पबारे सोच्न जरुरी भइसकेको छ।

यसै पृष्ठभूमिमा भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्माको कथा लोभलाग्दो छ। स्नातक तहसम्म अध्ययन गरेका एक युवा, जसले सजिलै विदेश रोज्न सक्थे, गाउँमै बसेर पुख्र्यौली कालिगड पेसामा जुट्नु सामान्य निर्णय होइन। यो केवल व्यक्तिगत साहसको उदाहरण मात्र होइन, अन्य कैयन्ले सिक्नुपर्ने पाठ पनि हो। खुकुरी निर्माणजस्तो परम्परागत सिपलाई गर्वसाथ अवलम्बन गर्दै जीवन निर्वाह गर्ने उनको अठोटले एउटा स्पष्ट सन्देश दिन्छ–रोजगारीको सम्भावना सधैं विदेशमै खोज्नुपर्छ भन्ने मान्यता सही होइन। प्रश्न अवसरको मात्र होइन, हाम्रो दृष्टिकोणको पनि हो। अरूले विदेश जाने विकल्प मात्र देखे भनेर आफूले पनि विकल्प नखोज्ने भन्ने होइन।

खुकुरी केवल नेपाली लोकप्रिय हतियार होइन, नेपाली पहिचान र सांस्कृतिक प्रतीक पनि हो। भोजपुरे खुकुरी त झन् सिप, धैर्य र सौन्दर्यबोधको अनुपम संयोजन हो। विडम्बना, यस्ता परम्परागत सिप बिस्तारै लोप हुने खतरा बढ्दो छ। नयाँ पुस्ता आधुनिक शिक्षा र ‘सफेदपोसी’ रोजगारीको आकर्षणतिर उन्मुख छ, जबकि परम्परागत सिपलाई पुरानो, कम प्रतिष्ठित वा कम आम्दानी दिने भनेर हेर्ने प्रवृत्ति बलियो हुँदै गएको छ तर यथार्थ यति एकांगी छैन। सही नीति, प्रविधि र बजार व्यवस्थापन जोडियो भने परम्परागत पेसाले आधुनिक अर्थतन्त्रमा पनि सशक्त स्थान बनाउन सक्छ। हस्तकला, धातुकला, काठकला, ढाकाका कपडा, थारु तथा नेवारी परम्परागत सिप, यी सबै केवल सांस्कृतिक सम्पदा मात्र होइनन्, सम्भावित रोजगारीका स्रोत पनि हुन्।

विश्व बजारमा ‘हस्तनिर्मित’ ‘जनजाति’ र ‘कारिगरी’ उत्पादनको माग निरन्तर बढ्दो छ। नेपालजस्तो देश, जहाँ सिप र परम्पराको गहिरो जरा छ, त्यहाँ यो अवसर उपयोग गर्न सकिएन भने त्यो नीतिगत असफलता हुनेछ। हाम्रा सांस्कृतिक कथा जोडिएका यस्तो उत्पादनको आकर्षण अनुपमेय छ। हामीले अक्सर युवालाई ‘विदेश नजाऊ’ भन्ने भावनात्मक अपिल गर्छौं तर भावना मात्र पर्याप्त हुँदैन। युवालाई गाउँमै बस्न प्रेरित गर्ने हो भने गाउँमै सम्मानजनक आम्दानी, स्थायित्व र भविष्यको भरोसा देखिनुपर्छ । ज्ञानेन्द्र विश्वकर्माले उठाएका समस्या, कच्चा पदार्थको अभाव, मूल्यवृद्धि, सीमित बजार पहुँच, यी व्यक्तिगत होइनन्, संरचनागत समस्या हुन्। राज्यको भूमिका यहाँ निर्णायक हुन्छ। यस्ता उद्यमीलाई सहयोग गर्नसक्ने राज्यको चरित्र हुनुपर्छ।

पहिलो, कच्चा पदार्थ र उपकरणमा सहज पहुँच सुनिश्चित गर्नुपर्छ। साना उद्योग तथा घरेलु उद्यमका लागि आयात नीति, कर छुट र सहुलियत ऋणजस्ता उपाय प्रभावकारी हुन सक्छन्। दोस्रो, सिप विकास र प्रविधि हस्तान्तरण अनिवार्य छ। परम्परागत सिपलाई आधुनिक उपकरण र डिजाइनसँग जोड्न सके उत्पादन क्षमता र गुणस्तर दुवै बढ्न सक्छ। तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, बजार व्यवस्थापन। डिजिटल प्लेटफर्म, ई–कमर्स, ब्रान्डिङ र निर्यात प्रवर्धनमार्फत गाउँका उत्पादनलाई सिधै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिन्छ। यसमा राज्यले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ।

हामीले रोजगारीलाई प्रायः सरकारी जागिर वा वैदेशिक श्रमसँग मात्र जोडेर हेर्ने गल्ती गरेका छौं। वास्तविकता के हो भने नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मध्यम उद्यम नै हुन सक्छन्। प्रत्येक गाउँमा परम्परागत सिपमा आधारित केही व्यवस्थित उद्यम सञ्चालन भए भने त्यसले स्थानीय रोजगारी सिर्जना मात्र गर्दैन, आन्तरिक अर्थचक्रलाई पनि चलायमान बनाउँछ । पैसा गाउँमै घुम्छ, सेवा क्षेत्र विस्तार हुन्छ अनि सामाजिक संरचना बलियो बन्छ।

बिदेसिने युवाले पठाएको रेमिटेन्सले अहिले अर्थतन्त्र धानेको छ तर यो दीर्घकालीन विकासको आधार बन्न सक्दैन। उत्पादनविहीन उपभोगले अर्थतन्त्रलाई बलियो बनाउँदैन। आत्मनिर्भरता र दिगो विकासका लागि स्थानीय उत्पादन र उद्यमशीलता अपरिहार्य सर्त हो। ज्ञानेन्द्र विश्वकर्माजस्ता युवाहरू अपवाद होइनन्, सम्भावित परिवर्तनका अग्रदूत हुन्। उनीहरूको कथा प्रेरणाको स्रोत मात्र नभई नीतिनिर्माणका लागि दिशासूचक बन्नुपर्छ। परम्परागत पेसा संरक्षणलाई केवल सांस्कृतिक मुद्दा होइन, रोजगारी र आर्थिक विकासको रणनीतिक अजेन्डाका रूपमा लिन सक्दा मात्र वास्तविक परिवर्तन सम्भव छ।

अन्ततः देश आमचुनावको सँघारमा रहेको बेला यो प्रश्न झन् पेचिलो बनेको छ - हामी परम्परालाई संग्रहालयमा थन्क्याउने कि अर्थतन्त्रको गतिशील शक्तिमा रूपान्तरण गर्ने? निर्णय आजको हो तर प्रभाव पुस्तौंसम्म रहनेछ।

प्रकाशित: १३ फाल्गुन २०८२ ०६:०० बुधबार