भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको ख्वपः आदर निकेतन ज्येष्ठ नागरिकको हेरचाहलाई सामाजिक सुरक्षाको अभिन्न अंग बनाउने प्रयास गरेको छ। जन्मदेखि मृत्युसम्म नागरिकको जिम्मेवारी लिने नीतिको सार नारामा होइन, सेवाको पहुँच, गुणस्तरसहितको निरन्तरताले मात्र भक्तपुर नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले सार्थकता पाउने छ। अन्य स्थानीय तहलाई पनि नागरिकसँग जोडिएर यस्तै कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने छ। स्थानीय तहहरूले यस्ता धेरै राम्रा कार्यक्रम विगतमा पनि सुरु गरेका थिए। त्यसले निरन्तरता नपाउँदा नागरिकमा त्यसले राहतभन्दा र स्थानीय तहप्रतिको विश्वासलाई कमजोर बनाएको छ।
समाजको विकासलाई सडक, भवन र भौतिक पूर्वाधारले मात्रै मापन गर्न सकिँदैन। समाजले आफ्ना ज्येष्ठ नागरिकलाई कति सम्मान दिन्छ, उनीहरूको जीवन कति सुरक्षित बनाउँछ र असहाय अवस्थामा कति साथ दिन्छ भन्ने कुराले पनि विकासको वास्तविक स्तर देखाउँछ। यही दृष्टिले भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको ख्वपः आदर निकेतनलाई हेर्नुपर्छ।
नागरिकले खोजेको लोककल्याणकारी राज्य हो। विधि, विधान मात्र होइन, कानुनी शासनसहित राज्यबाट आधारभूत सुविधा र सुरक्षाको प्रत्याभूतिको खोजी हो। अझ बालबालिका र जेष्ठ नागरिकलाई सुरक्षित वातावरणमा राख्ने, स्वास्थ्य सेवा उपलब्ध गराउने र सामाजिक सहभागिताको अवसर दिने लक्ष्य राज्यले राख्नुपर्छ। नगरपालिकाले यसलाई नागरिकको जन्मदेखि मृत्युसम्मका सामाजिक आवश्यकतामा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने समाजवादी नीतिको अभ्यासका रूपमा प्रस्तुत गरेको छ। यस पहलको महत्त्व कुनै राजनीतिक सिद्धान्तको व्याख्यामा मात्र सीमित छैन। यसको वास्तविक महत्त्व ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित, सम्मानजनक र सहज बनाउने सार्वजनिक दायित्वसँग जोडिएको छ।
त्यति मात्र होइन, मानिसको जीवनमा बाल्यकाल र वृद्धावस्था अरूको सहयोग बढी आवश्यक पर्ने चरण हो। बालबालिकाको स्याहार र शिक्षामा राज्यको भूमिका स्वीकार गरिएजस्तै ज्येष्ठ नागरिकको सुरक्षा, स्वास्थ्य र सम्मानमा पनि राज्यको जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुन्छ।
उमेर बढ्दै जाँदा व्यक्तिको शारीरिक क्षमता कमजोर हुन सक्छ, नियमित स्वास्थ्य सेवाको आवश्यकता बढ्न सक्छ र पारिवारिक सहारा पनि सीमित हुन सक्छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई आफ्नै भरमा छाड्नु सामाजिक न्यायको अवधारणासँग मेल खाँदैन।
नेपाली समाजमा परम्परागत रूपमा ज्येष्ठ नागरिकको हेरचाह परिवारको जिम्मेवारी मानिँदै आएको छ। अहिले संयुक्त परिवारको संरचना कमजोर हुँदै जानु, रोजगारीका लागि सन्तान बिदेसिनु र बदलिँदो जीवनशैलीका कारण वृद्धवृद्धाको हेरचाह चुनौतीपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई सम्बोधन गर्न स्थानीय सरकारले अग्रसरता लिनु सकारात्मक पहल हो।
संविधानले स्थानीय तहलाई नागरिकको नजिकको सरकारका रूपमा स्थापित गरेको छ। नागरिकका दैनिक आवश्यकता, सामाजिक सुरक्षा र आधारभूत सेवासँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय सरकारबाटै यस्ता कार्यक्रम सञ्चालन हुनु स्वाभाविक र आवश्यक छ।
ज्येष्ठ नागरिकको हेरचाह भनेको खाना र आवास मात्रै होइन, उनीहरूको स्वास्थ्यका साथै व्यक्तिगत रुचि, सामाजिक सम्बन्ध र आत्मसम्मानलाई पनि उत्तिकै ख्याल गर्नुपर्छ। आदर निकेतनलाई केवल आवासीय सुविधाका रूपमा सीमित नगरी आत्मीयता, सहभागिता र सक्रिय जीवनको अवसर प्रदान गर्ने संस्थाका रूपमा विकास गर्नुपर्छ। त्यसका लागि आवश्यक पर्ने सबै प्रबन्ध मिलाउनु पर्नेछ। नगरपालिकाले भजनकीर्तन, परम्परागत खेल र मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसले ज्येष्ठ नागरिकको दैनिकीलाई मात्र सहज बनाउँदै स्थानीय कला, संस्कृति र परम्पराको पुस्तान्तरण र हस्तान्तरणमा पनि सहयोग पुग्नेछ। त्यसले वृद्धवृद्धालाई बोझ ठान्ने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको अनुभव, ज्ञान र योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्छ। जेष्ठ नागरिकलाई पनि उमेर बढ्दै गएपछि बढ्ने एक्लोपन कम गर्नेछ।
स्थानीय तह वा कुनै पनि तहले सञ्चालन गर्ने यस्ता कार्यक्रम विशेषगरी एक्लै बस्ने, परिवारबाट नियमित सहयोग नपाउने, आर्थिक रूपमा कमजोर र दीर्घकालीन हेरचाह आवश्यक पर्ने ज्येष्ठ नागरिकमा केन्द्रित हुनुपर्छ। भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यसँगै ज्येष्ठ नागरिकको हेरचाहलाई पनि जोड्ने जुन प्रयास गरेको छ, त्यो सकारात्मक छ। यसतर्फ अन्य स्थानीय तह र सरकारहरूले पनि सोच्नुपर्छ। यसलाई प्रभावकारी बनाउन बजेट, दक्ष जनशक्ति, सेवाको मापदण्ड र पारदर्शी सञ्चालन प्रणाली सुनिश्चित गर्नुपर्छ।
प्रकाशित: ८ आश्विन २०८३ ०६:१८ बिहीबार