सम्पादकीय

भयकारी भान्छा

भर्खरैको एउटा समाचारअनुसार भरतपुर महानगरपालिका–४ धर्मचोकस्थित एउटा पार्टी प्यालेसमा आयोजित भोजमा खाएका झन्डै सयजना बिरामी भएका छन्। बिरामीमध्ये ५० जनाको विभिन्न अस्तालमा उपचार नै गर्नुपरेको छ। सामान्यतः कुनै समारोहपछि भोज हुनु स्वाभाविक हो। यस्तो भोजमा सहभागी हुनु हाम्रो पारिवारिक, सामाजिक र सांस्कृतिक निरन्तरताकै एउटा पक्ष हो तर यस्तो भोजमा जाँदा अचेल धेरै खाने कि नखाने भनेर सोच्नुपर्ने गम्भीर अवस्था आएको छ। धेरै व्यक्तिको सहभागिता भएका यस्ता भोजमा पस्किने सामग्रीको गुणस्तरमा ध्यान दिइँदैन। अत्यधिक नाफाको उद्देश्यका कारण कमसल वस्तु खान दिने गरेको देखिन्छ।

यही वैशाख २३ गते भोज भएको थियो। त्यही भोज खानेहरू धमाधम बिरामी हुन थालेका छन्। गुणस्तरहीन, प्रदूषित र अस्वस्थकर खाना खाएपछि मानिसहरू बिरामी हुनु स्वाभाविक हो। प्रायः यस्ता भोज वा अन्य भोजनालय, रेस्टुरेन्ट आदिमा खाना खाएपछि ‘फुड पोइजनिङ’को गुनासो गर्ने मानिस हामीले भेट्ने गरेका छौं। बिरामी भइनहाले पनि त्यसलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने, सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने र भविष्यमा यस्तो नहोस् भन्नेतर्फ भूमिका खेलेको पाइँदैन। ‘फुड पोइजनिङ’ हाम्रो मुलुकमा बेवास्ता गरिएको एउटा गम्भीर स्वास्थ्य समस्या हो।

विशेषगरी वर्षायाममा खानाबाट स्वास्थ्य समस्या आउने सम्भावना बढी हुन्छ। पानी प्रदूषित हुन्छ। स्वास्थ्य र स्वच्छतामा कमै ध्यान जाने गरेको छ। कतिपय अवस्थामा जंगली च्याउ आदि खाएर पनि बिरामी भएको सुनिन्छ। सकेसम्म प्रामाणिक सामग्री मात्र उपभोग गर्नु उचित हुन्छ। कतिपय उच्च हिमाली भेगमा समेत खान नहुने वर्गका च्याउ खाएर बिरामी भएको र ज्यानै गएको पनि सुनिन्छ । गत वर्ष रोल्पाको खुमेलमा मृत्युसंस्कारअन्तर्गत १३औं दिनमा गरिएको भोजमा गएका एक सय १० जना झाडापखाना लागेर बिरामी भएका थिए। त्यतिबेला केहीलाई अस्पताल भर्नासमेत गर्नुपरेको थियो।

विकसित समाजमा खाना तयारीदेखि नै विशेष ध्यान पुर्‍याइन्छ। गुणस्तरीय खाना दिने ठाउँमा कपाल ढाकेर बनाउने, ताजा सामग्री प्रस्तुत गर्ने र खाना तयार पार्ने तेलमसला आदिको गुणस्तरमा पनि ध्यान दिने गरेको पाइन्छ। आफूले दिएको खाना खाएर कोही पनि बिरामी नहून् भन्ने उद्देश्य हुनुपर्छ। थाइल्यान्डलगायतका दक्षिणपूर्वी मुलुकमा सडक खानाकै संस्कृति देखिन्छ । त्यहाँको सडकमा अनेकन् विधि र प्रकृतिका खाना पाइन्छन् । तर, शुद्धतामा तिनले विशेष ध्यान पुर्‍याउँछन्। खाना तयार पारेपछि कतिबेलासम्ममा खाइसक्ने भनेर समेत तिनले उल्लेख गरेका हुन्छ। बासी खाना खाँदा बिरामी परिने पक्षलाई पनि तिनले त्यतिकै ध्यान दिएको पाइन्छ।

हाम्रो संस्कृतिमा ताजा खानेकुराको उत्तिकै प्रसंग देखिन्छ। तैपनि आजकल व्यावसायिक ढंगले गरिने यस्ता काममा ध्यान नपुर्‍याई लापरबाही गरेको देखिन्छ। काठमाडौंलगातका कतिपय ठाउँमा विवाह, व्रतबन्ध आदि कार्यमा पस्किने खानाको गुणस्तरलाई ध्यानमा राखेर कैयन्ले नखाने गरेको देखिन्छ। उपभोक्तामा खानाप्रतिको चिन्ता देखेपछि गुणस्तर बढाउन पनि उनीहरूले खोजेको देखिन्छ। कतिपय ठाउँमा पाहुनाले खाना मन पराएको वा नपराएको बुझेर त्यसमा समयानुकूल सुधार गरेको पनि देखिन्छ।

खाद्यान्न गुणस्तर सुधारका निम्ति खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रणसम्बन्धी निकायको ध्यान गम्भीर रूपमा जानु आवश्यक छ। खाद्यान्न गुणस्तर अनुगमनका निम्ति आकस्मिक जाँच गर्ने व्यवस्था हुनुपर्छ। कसैले अरूको स्वास्थ्यमा जोखिम पार्ने अवस्था देखिन्छ भने त्यहाँ समयमै हस्तक्षेप गर्नुपर्छ। लापरवाहीपूर्वक अरूको स्वास्थ्यमा हानि पुर्‍याउनेमाथि गम्भीर छानबिन र कारबाही हुनुपर्ने देखिन्छ । पार्टीभोजमा पस्किने खाद्य वस्तु मात्र होइन, बजारमा भएका सामग्रीमा पनि उत्तिकै विचार पुर्‍याउनुपर्ने देखिन्छ।

कम गुणस्तरका खाद्य वस्तु आयात गरेर बजारमा नाफा गरिरहेको पनि देखिन्छ। म्याद नाघेको चकलेटआदि खाद्य सामग्री आयात गरी नयाँ स्टिकर लगाएर बिक्री गरेको कथा हामीले विगतमा सुनेका छौं। यसरी जनस्वास्थ्यमा असर पर्ने सामग्री भन्सारविन्दुमै रोक्न सक्नुपर्छ। बाहिरबाट कौडीको मूल्यमा ल्याएका सामग्री देशमा महँगोमा बिक्री गर्न पाउने भएपछि नाफाखोर व्यक्तिहरूले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर धावा बोल्ने अवस्था हुन्छ। हेर्दा सामान्यजस्ता लाग्ने ‘फुड पोइजनिङ’देखि कम गुणस्तरका सामग्री बेच्नेसम्मका कार्यमा गम्भीर स्वार्थ जोडिएको हुन्छ। यस्तो स्थिति आउन नदिन सरकारले गम्भीर कदम चाल्नुपर्छ। अर्काको स्वास्थ्य बिगारेर नाफा कमाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुको विकल्प छैन।

प्रकाशित: २८ वैशाख २०८३ ०६:०३ सोमबार