प्रत्येक वर्ष मे ३ का दिन अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। यो वर्ष आइतबार यो दिवस यहाँका सरोकारवाला निकाय र पत्रकार जगत्ले मनाएको छ। विशेष गरी नेपाल पत्रकार महासंघको अगुवाइमा प्रभातफेरीलगायतका कार्यक्रम आयोजना गरेर यसको महत्ता समाजलाई बुझाउने कोसिस भएको छ।
संसारभरि बितेको वर्ष प्रेस जगत्का निम्ति विषम रह्यो। प्रेस स्वतन्त्रताका निम्ति क्रियाशील संस्था रिपोटर्स विथआउट बोर्डर्स (आरएसएफ) ले सार्वजनिक गरेको सन् २०२६ प्रेस स्वतन्त्रता सूचीअनुसार विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रता सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। बितेका २५ वर्षमा यो सबैभन्दा न्यून विन्दु हो। विश्वका एक सय ८० मुलुकको सर्वेक्षण गर्दा आधाभन्दा बढी मुलुकको प्रेसको स्थितिलाई ‘कठिन’ वा ‘धेरै गम्भीर’ भनेर चित्रण गरिएको छ।
नेपालका निम्ति गत वर्ष त्यतिकै कठिन रह्यो। गत वर्ष भदौ २३ को जेनजी आन्दोलन, त्यसको भोलिपल्ट भएको तोडफोड, आजजनी र विध्वंसमा प्रेसले व्यापक क्षति ब्यहोर्नुपरेको थियो। मिडियाका भवन जल्ने, पत्रकारमाथि आक्रमण हुने र मारिनेसम्मका घटना भएका छन्। फ्रिडम फोरमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष एक सय ४५ सञ्चारकर्मी प्रभावित भएका थिए। यसमा मृत्यु र अन्य किसिमका धम्की, अवरोध, हिंसालगायतका घटना पत्रकारिता क्षेत्रले भोग्नुपरेको थियो। यसले पत्रकारिताका निम्ति सहज वातावरण नभएको देखाएको छ।
हाम्रो मुलुकमा अहिले मात्र होइन, विगत सरकारहरूकै पालादेखि पत्रकारितालाई कमजोर बनाउने अभ्यास सुरु भएको हो। विशेष गरी सञ्चारगृहको आम्दानीको स्रोत सुकाउन विगतमा धेरै अभ्यास भएका छन्। कानुनी अप्ठ्यारा सिर्जना गर्नेदेखि विज्ञापन स्रोत सुकाउनेसम्मका काम भएका छन्।
पत्रकार भनेका मानव अधिकार रक्षक पनि हुन्। तिनलाई राम्ररी काम गर्न नदिँदा र अनावश्यक रूपमा ‘ट्रोल’ गर्दा पत्रकारिताकर्ममा अवरोध आउँछ। पत्रकारिता कमजोर हुँदा आवाजविहीनको आवाज बन्न नसक्ने अवस्था आउँछ। जहाँ पत्रकारिता कमजोर हुन्छ, स्वाभाविक रूपमा लोकतन्त्र पनि कमजोर हुन्छ। पत्रकारिता कमजोर हुनु भनेको मुलुकको आलोचनात्मक चेतसमेत कमजोर हुनु हो। सरकार र यसका समर्थकलाई पछिल्ला वर्षहरूमा विपक्षीप्रतिको व्यापक रोष देखिन्छ। आफूलाई मन परेका व्यक्ति सत्तामा हुँदा पूजा गर्ने र विपक्षमा रहेकालाई विरोध गर्ने पछिल्ला वर्षहरूको प्रवृत्ति हो।
विशेष गरी सामाजिक सञ्जालका कारण समाजमा सूचना प्रवाहको ‘इकोसिस्टम’ परिवर्तन भएको छ। अहिले धेरै व्यक्तिले आफैं पनि सूचना प्रवाह गरिरहेका हुन्छन्। यस्तो अवस्थामा प्रामाणिक सूचना नहुन पनि सक्छ। परम्परागत पत्रकारितामा कुनै पनि सूचनालाई प्रामाणिक रूपमा मात्र सार्वजनिक गर्नुपर्छ। तर, व्यक्ति विशेषले कुनै पनि सूचना पाएपछि प्रामाणिकताको भन्दा पनि ‘भ्युज’को ध्यान हुन सक्छ। कतिपय राजनीतिक व्यक्तिलाई पनि पत्रकारिताभन्दा सामाजिक सञ्जालको मात्र उपयोग गरेर आफ्नो अनुकूलताको सूचना प्रवाह गर्ने बानी लागेको देखिन्छ।
हाम्रो मुलुकमा अहिले मात्र होइन, विगत सरकारहरूकै पालादेखि पत्रकारितालाई कमजोर बनाउने अभ्यास सुरु भएको हो। विशेष गरी सञ्चारगृहको आम्दानीको स्रोत सुकाउन विगतमा धेरै अभ्यास भएका छन्। कानुनी अप्ठ्यारा सिर्जना गर्नेदेखि विज्ञापन स्रोत सुकाउनेसम्मका काम भएका छन्। सञ्चार माध्यम सकिए भने आफ्ना दुःख पनि सकिन्छन् भन्ने तिनलाई लागेको थियो। दुःखको कुरा सञ्चार माध्यम कमजोर हुँदै जाने र व्यक्ति केन्द्रित सूचनाको बाढी आउँदा यथार्थ पक्ष सार्वजनिक हुन गाह्रो हुन्छ।
संगठित किसिमले विगतमा हुँदै आएको पत्रकारिताको अभ्यासविपरीतको अवस्था अहिले संसारभरि देखिएको छ। त्यसमा पनि लोकरिझ्याइँबाट आउने सरकारहरू प्रेसप्रति अनुदार बन्ने अवस्था देखिन थालेको छ। विगतमा तुलनात्मक रूपमा नेपालको प्रेसको अवस्था खुलाजस्तो देखिए पनि यसको आर्थिक स्रोत कमजोर हुँदै गएपछि स्वतः थप कमजोर हुँदै गएको हो। लोकतन्त्रमा जति धेरै सञ्चार माध्यम खुल्छन्, त्यति नै विचार प्रवाह बढ्छ।
आजको दिनमा सबैभन्दा धेरै सूचनाको विविधता चाहिएको छ। आमउपभोक्ताले उपभोग गर्ने अन्तर्वस्तुका आधारमा आउने सामग्रीले एकपक्षीय धारणा मात्र बनाउन योगदान गर्छ। यसले व्यक्तिमा आफूले हेरेको अन्तर्वस्तु नै सबैभन्दा सत्य हुने र ‘इकोच्याम्बर’मा रहने प्रवृत्तिको विकास भएको छ। स्वतन्त्र सञ्चार माध्यमबाट आउने वाद, विवाद र प्रतिवादले आलोचनात्मक चेत बढाउन अवश्यै मद्दत गर्ने गरेको हो।
यसै पनि छापा माध्यम कमजोर बन्दै गएको र डिजिटल सामग्रीको आधिक्य भएको अहिलेको समयमा प्रेस स्वतन्त्रता कसरी प्रत्याभूत हुने हो ? स्वतन्त्र सामग्रीले कसरी आम मानिसको मनोभाव र विश्वास जित्ने हो ? त्यसको पनि कठिन अवस्था आएको छ। यस्तो अवस्थामा प्रेस स्वतन्त्रताको दियो जोगाइराख्न थप मेहनत गर्ने बेला आएको छ। आज अन्तर्वस्तु उत्पादन गरिरहेका गैरपत्रकारहरूले यहाँ अड्डा जमाइरहेका छन् भने पत्रकारितामै लागेर रहेको जनशक्तिले आफूलाई समयानुकूल परिवर्तन गर्दै प्रेस स्वतन्त्रता जोगाउनुपर्ने अवस्था आएको छ।
प्रकाशित: २२ वैशाख २०८३ ०६:१४ मंगलबार