सम्पादकीय

पदकपछाडिको पीडा

विश्वको शक्तिशाली राष्ट्र अमेरिकासँगै मेक्सिको र क्यानडामा चार दिनपछि विश्वकप फुटबल आयोजना सुरु हुँदै छ । विश्वकै लोकप्रिय खेल फुटबलको विश्वकप सुरु हुन लाग्दा विश्व खेलकुद र फुटबलप्रेमीमा उत्साह भरिएको छ । खेलबारे निकै चासो राख्ने नेपालमा पनि उत्साह देखिन्छ।

भौगोलिक रूपमा सानो देश नेपालले खेलकुदबाट विश्व जगतमा ठुलो छाप छोड्न भने सकेको छैन । विश्वकप फुटबलको छनोटमा अहिलेसम्म पहिलो चरण नेपालले पार गर्न सकेको छैन । अपवादका रूपमा नेपालको पुरुष क्रिकेट टोलीले सुस्ताएको नेपाली खेलकुदमा उत्साह दिएको छ । क्रिकेटको विश्व जगत्मा लोकप्रियता निकै कम छ । थोरै देशले मात्र क्रिकेटमा लगानी गर्छन्।

विश्व खेलकुदका ठुला राष्ट्र अमेरिका, रसिया, जापान, जर्मनी, फ्रान्स, इटाली र हंगेरीले ओलम्पिक पदकमा अग्रस्थान ओगट्छन् । यी राष्ट्रले क्रिकेटमा खासै चासो राख्दैनन् । त्यसैले पनि नेपालजस्ता राष्ट्रहरूले क्रिकेटमा तीन पल्टसम्म विश्वकप खेल्न सकेका छन् । विश्वमा सबैतिर खेलिने खेलमा भने नेपालले राम्रो गर्न सकिरहेको छैन । विश्व च्याम्पियनसिप या ओलम्पिकमा पदक जित्नु नेपालका लागि दन्ते कथाजस्तै भएको छ । एसियन खेलकुदमा पनि नेपालले राम्रो गर्न सकिरहेको छैन । सन् २००६ यता एसियन खेलकुदका संस्करणमा एउटा मात्र पदकमा सीमित भएको छ । गत चीनको एसियन खेलकुद (२०२२) लगत्तै दोहोरो अंकको पदक जित्ने लक्ष्यसहित नेपालले मिसन २६ नामबाट १० खेललाई समेटेर विशेष तयारी गरेको थियो । तर दुर्भाग्य भन्नुपर्छ, नेपालको सबैभन्दा सफल खेल मानिने तेक्वान्दो एसियन खेलकुदका लागि छनोट नै हुन सकेन । तीन वर्षदेखिको तयारी अर्थहीन बनेको छ । राज्यले दीर्घकालीन योजनासहित तयारी पनि गरेको छ । नतिजा भने आउन सकेको छैन । यसले नेपालको प्रशिक्षण शैलीमा समस्या छ कि भन्ने शंका पनि उत्पन्न गरेको छ । तेक्वान्दोमा लामो समयदेखि विदेशी प्रशिक्षक छन् । खेलाडीहरू आफ्नो भविष्य सम्झेर राम्ररी खेल्न सकिरहेका छैनन् कि ? राज्यले त्यसमा ध्यान दिन नसकेको हो कि ? किनकि एउटा राष्ट्रिय खेलाडीले मासिक तलब पनि पाउँदैनन्।

नेपाली क्रिकेटरले लाखौं रुपैयाँ पाउँछन् । फुटबलका राष्ट्रिय खेलाडीले १०–१५ हजार मासिक प्राप्त गर्छन् । विडम्बना नै भन्नुपर्छ, अन्य खेलका राष्ट्रिय खेलाडीले त्यो सुविधा प्राप्त गरेका छैनन् । मार्सल आट्र्सका त धेरै खेलाडी एक्स्पोजरका लागि आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पनि हुने गर्छन् । राज्यले खेलाडीलाई केही पनि नदिएको होइन । करातेका एरिका गुरुङजस्ता नेपालका सफल खेलाडीलाई राज्यले लगानी गरिरहेको छ । तर त्यस्तै सफल एरिका जन्माउन राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । खेलाडीले सहज रूपमा खेल्ने वातावरण सिर्जना भइरहेको छैन । आगामी सेप्टेम्बरमा जापानमा २०औं एसियाली खेलकुद आयोजना हुँदै छ । त्यो आयोजना आउन चार महिनाभन्दा कम समय बाँकी छ । अहिलेसम्म कुन कुन खेलाडी र कुन कुन खेलले त्यहाँ खेल्छ भन्ने टुंगो भइसकेको छैन । नेपाली खेलकुदको मेरुदण्ड मानिएको राष्ट्रिय खेलकुद नियमित आयोजना नहुँदा खेलाडीहरू निराश छन् । जीवन धान्न धौधौ परेपछि खेलाडीहरू दिनानुदिन विदेश पलायनको शृंखला रोकिएको छैन । नेपालमा खेलकुदको चर्चा बढेको छ । के यो चर्चाले मात्र देशको खेलकुद अगाडि बढ्न सक्ला?

नेपाली समर्थकको उत्साह, खेलाडीहरूको अन्तर्राष्ट्रिय प्रदर्शन र सामाजिक सञ्जालको पहुँचले खेललाई जनजीवनको अभिन्न हिस्सा बनाइदिएको छ । यही कारण अहिले देशभरका खेलप्रेमीको नजर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा केन्द्रित छ । खेल केवल मनोरञ्जनको साधन मात्र होइन । यो राष्ट्रिय गौरव, एकता र आत्मविश्वासको माध्यम पनि हो।

नेपालको महिला फुटबल टोली पछिल्लो एक दशकदेखि दक्षिण एसियामा शक्ति राष्ट्र बन्ने संघर्षमा छ । पुरुष फुटबल भने निकै कमजोर छ । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र दशकौंदेखिको राजनीतिक खिचातानीले नतिजा आउन सकेको छैन । अहिले देशमा बलियो दुईतिहाइको सरकार छ । यो दुईतिहाइको सरकारले पनि नेपाली खेलकुदलाई खासै उत्साह थप्न सकेको छैन । हालका खेलकुद पदाधिकारीलाई पनि खेलकुदको वर्तमान समस्याप्रति खासै चासो देखिएको छैन । यसले दीर्घकालसम्म नेपाली खेलकुदमा समस्या निम्त्याउनेछ।

नेपाली खेलाडीको मेहनत, प्रशिक्षकको योगदान र सीमित स्रोतसाधनबिचको संघर्षले मात्र नेपाली खेलकुदलाई धेरै समयसम्म धान्न सक्दैन । सीमित सफलतालाई समग्र खेलकुदको विकास मान्नुहुँदैन । खेलकुदको दीर्घकालीन रूपमा सफल बनाउन संरचना, लगानी र योजना आवश्यक पर्छ।

नेपालमा खेलाडी जन्मिन्छन् तर खेल प्रणाली अझै परिपक्व हुन सकेको छैन । प्रतियोगिता सकिएपछि खेलाडीहरू फेरि पुरानै समस्यासँग जुध्न बाध्य हुन्छन् । प्रशिक्षणको अभाव, पूर्वाधारको कमी, आर्थिक असुरक्षा र दीर्घकालीन योजना नहुनु नेपाली खेलकुदका पुराना रोग हुन् । सरकारले पछिल्लो बजेट भाषणमा खेल जीवनपश्चात् खेलाडीले निःशुल्क स्वास्थ्य उपचार पाउने घोषणा गरेको छ । तर अहिलेको आवश्यकता भनेको खेलिरहँदा खेलाडीले सहज जीवन धान्नु हो । त्यसपछि मात्र खेलाडीहरूको विदेश पलायनको शंखला रोकिन्छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको चर्चा भइरहँदा यी समस्यामाथि पनि उत्तिकै गम्भीर बहस आवश्यक छ । क्रिकेटले पछिल्ला वर्षमा नेपाली खेलकुदलाई नयाँ उचाइ दिएको छ । विश्वकप सहभागिता, अन्तर्राष्ट्रिय मान्यता र विश्वभर फैलिएको समर्थक समुदायले नेपाललाई नयाँ पहिचान दिएको छ तर फुटबल, भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स वा अन्य खेल पनि उत्तिकै सम्भावना बोकेका क्षेत्र हुन् । करातेकी एउटा खेलाडी एरिकाले दिएको सफलताले नेपाली खेलकुदमा प्राण भरिएको छ । यस्तो हुनु पक्कै राम्रो सन्देश होइन । नेपालको सबैभन्दा सफल खेल तेक्वान्दो जसले दुई चरण पार गरेर ओलम्पिक खेलेको छ । जुन खेल एसियाली खेलकुदमा सर्वाधिक पदक विजेता पनि हो । अहिले त्यही खेल आगामी एसियन खेलकुदका लागि छनोट नै हुन नसक्नुले धेरै संकेत गरेको छ।

केही खेलाडीले व्यक्तिगत संघर्षका आधारमा पदक जितिरहेका छन् । उनीहरूको सफलतालाई संस्थागत उपलब्धिमा रूपान्तरण गर्न सके मात्र नेपाली खेलकुदले वास्तविक फड्को मार्न सक्छ । खेलको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक एकता हो । राजनीति, विचार र वर्गका आधारमा विभाजित समाजलाई एउटै झन्डामुनि उभ्याउने शक्ति खेलसँग छ । नेपाली टोलीले गोल गर्दा, विकेट लिँदा वा पदक जित्दा देशभरका मानिस एउटै खुसीमा रमाउँछन् । खेलले निर्माण गर्ने यही साझा भावनाले राष्ट्रिय एकतालाई बलियो बनाउँछ । त्यसैले खेलकुदमा लगानीलाई खर्च होइन, सामाजिक पुँजी निर्माणका रूपमा हेर्नुपर्छ।

आज नेपाली खेलाडीहरू केवल प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छैनन् । उनीहरू लाखौं युवाको सपना बोकेर खेलिरहेका छन् । उनीहरूको संघर्षमा भविष्यका खेलाडीले प्रेरणा खोजिरहेका छन् । राज्यले पनि अनुत्पादक क्षेत्र भनेर यसलाई लिनुहुँदैन । खेलकुदमाथिको लगानी बढाउनुपर्छ, साथै उक्त लगानीबारे पर्याप्त अनुगमन हुन पनि आवश्यक छ । खेलाडीलाई दीर्घकालीन बाँच्ने आधार, सम्मान, अवसर र सुरक्षा दिन सकियो भने अन्तर्राष्ट्रिय सफलताहरू स्वतः बढ्दै जानेछन्।  

प्रकाशित: २५ जेष्ठ २०८३ ०६:०५ सोमबार