नेपालमा मनसुन केवल मौसमीय परिवर्तनको नाम मात्र होइन, यो हरेक वर्ष दोहोरिने अवसर र चुनौती दुवै हो। कृषि उत्पादन, जलस्रोतको पुनर्भरण र प्राकृतिक प्रणालीको सन्तुलनका लागि मनसुन अपरिहार्य छ। तर यही मनसुन बाढी, पहिरो, डुबान, सडक अवरोध, महामारी तथा जनधनको ठुलो क्षतिको कारण पनि बन्दै आएको छ।
मनसुन कुनै अप्रत्याशित घटना होइन। यो कहिले सुरु हुन्छ, कुन क्षेत्रमा बढी वर्षा हुन्छ, कुन नदीमा बाढीको जोखिम बढी हुन्छ र कुन भूभाग पहिरोको दृष्टिले संवेदनशील छ भन्नेबारे राज्य, विज्ञ र स्थानीय समुदायलाई पर्याप्त जानकारी छ। तैपनि हरेक वर्ष मनसुनी विपद्का कारण नागरिकले ज्यान गुमाउनु र ठुलो आर्थिक क्षति ब्यहोर्नु परिरहेको छ। यसले हाम्रो तयारी, व्यवस्थापन र उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ।
विपद् आफैंमा समस्या होइन, विपद्को जोखिमप्रति हाम्रो अपर्याप्त तयारी नै ठुलो समस्या हो। विगतका अनुभवले देखाएको छ कि अधिकांश क्षति पूर्वतयारीको अभाव, अव्यवस्थित बसोबास, कमजोर पूर्वाधार, सूचना प्रवाहमा ढिलाइ तथा जोखिमप्रति नागरिक सचेतनाको कमीका कारण हुने गरेको छ। मनसुन सुरु भएपछि मात्र सक्रिय हुने प्रवृत्तिले समस्या समाधान गर्दैन। जोखिम न्यूनीकरणका उपायहरू मनसुन सुरु हुनुअघि नै कार्यान्वयन गरिनुपर्छ।
सरकारको पहिलो दायित्व जोखिम पहिचान र पूर्वतयारी हो। बाढी तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रको अद्यावधिक नक्सांकन, नदी तटीय बस्तीहरूको निगरानी, कमजोर संरचनाको परीक्षण तथा सम्भावित प्रभावित समुदायको सूची तयार गर्नु अत्यावश्यक छ। जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय र पहुँचयोग्य बनाउनु आवश्यक छ।
आज प्रविधिको युगमा मौसम र बाढीसम्बन्धी सूचना समयमै नागरिकसम्म पुर्याउन कुनै कठिनाइ हुनुहुँदैन। मोबाइल सन्देश, सामुदायिक रेडियो, सामाजिक सञ्जाल र स्थानीय तहका संयन्त्रमार्फत चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ।
स्थानीय सरकारहरूको भूमिका झन् महत्त्वपूर्ण छ। स्थानीय तह नागरिकसँग सबैभन्दा नजिकको सरकार भएकाले जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्था, राहत सामग्रीको भण्डारण तथा उद्धार अभ्यास नियमित रूपमा सञ्चालन गर्नुपर्छ। मनसुनको समयमा प्रयोग हुने वैकल्पिक सडक, सुरक्षित आश्रयस्थल र आपत्कालीन सम्पर्क प्रणालीको पूर्वतयारीले क्षति न्यूनीकरणमा ठुलो योगदान पुर्याउन सक्छ।
सुरक्षा निकायको परिचालन पनि योजनाबद्ध हुनुपर्छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले विगतमा विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। तर उद्धार कार्य केवल घटना भएपछि सुरु हुने प्रक्रिया होइन। जोखिमयुक्त क्षेत्रमा आवश्यक जनशक्ति, उपकरण, डुंगा, हेलिकोप्टर तथा सञ्चार प्रणालीको पूर्वव्यवस्था हुनुपर्छ। स्थानीय समुदायसँग संयुक्त अभ्यास सञ्चालन गर्दा वास्तविक विपद्का बेला समन्वय प्रभावकारी हुन्छ। उद्धार टोलीको तैनाथी जोखिमको मूल्यांकनका आधारमा अग्रिम रूपमा गरिनुपर्छ।
विपद् व्यवस्थापन केवल सरकार र सुरक्षा निकायको जिम्मेवारी होइन। नागरिक स्वयं पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। मौसमसम्बन्धी सूचना नियमित रूपमा सुन्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने, नदी तथा खोलाको बहाव बढेका बेला सावधानी अपनाउने र स्थानीय प्रशासनका निर्देशन पालना गर्ने नागरिक कर्तव्य हुन्। धेरै दुर्घटना चेतावनीको बेवास्ता गर्दा हुने गरेका छन्। बाढी आएको बेला खोला तर्ने प्रयास, पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास वा यात्रा तथा जोखिमपूर्ण गतिविधिले जनधनको क्षति बढाउँछ।
मनसुनसँगै बाढीपहिरो मात्र होइन, हैजा, झाडापखाला, डेंगी तथा अन्य सरुवा रोगको जोखिम पनि बढ्छ। त्यसैले स्वास्थ्य क्षेत्रको तयारी समान रूपमा आवश्यक छ। स्वच्छ खानेपानी, सरसफाइ, औषधि भण्डारण, स्वास्थ्यकर्मीको परिचालन तथा जनचेतनामूलक अभियानलाई प्राथमिकता दिनुपर्छ। विपद्पछि रोगको प्रकोप फैलिन नदिन पूर्वतयारी नै सबैभन्दा प्रभावकारी उपाय हो।
नेपालले प्रत्येक वर्ष मनसुनी विपद्को पीडा भोग्दै आएको छ। अब पनि पुरानै ढर्रामा प्रतिक्रिया मात्र जनाएर पुग्दैन। जोखिमको पूर्वानुमान गर्न सकिने अवस्थामा क्षतिलाई भाग्य वा प्राकृतिक नियति भनेर टार्न मिल्दैन। प्रभावकारी योजना, समयमै चेतावनी, जिम्मेवार नागरिक व्यवहार, सक्षम स्थानीय सरकार र चुस्त सुरक्षा संयन्त्रबिचको समन्वयले मात्र मनसुनी विपद्को क्षति न्यून गर्न सकिन्छ।
मनसुनलाई रोक्न सकिँदैन तर मनसुनबाट हुने क्षति अवश्य घटाउन सकिन्छ। त्यसका लागि विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि तयारी गर्ने संस्कृतिको विकास गर्नुपर्छ। सचेत नागरिक, जिम्मेवार राज्य र संगठित समाज नै सुरक्षित नेपालको आधार हो।
प्रकाशित: १० असार २०८३ ०५:५४ बुधबार