नेपालको सडक पूर्वाधार विकासले पछिल्ला वर्षहरूमा नयाँ गति लिएको छ। पुल, राजमार्ग र द्रुतमार्गसँगै अब सडक सुरुङमार्ग निर्माण र सञ्चालनको युगमा देश प्रवेश गरेको छ। काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य प्रवेशद्वार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग विधिवत् सञ्चालनमा आउनु यसैको प्रतीकात्मक उपलब्धि हो। सोमबार यो सुरुङ मार्गको शुभारम्भ भएको छ।
काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक वर्षौंदेखि ट्राफिक जाम, दुर्घटना र पहिरोको समस्याले ग्रसित रहँदै आएको थियो। विशेषगरी वर्षायाममा सवारी साधन घण्टौं जाममा बस्नुपर्ने, मालवाहक गाडी ढिलो पुग्ने र यात्रुले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था सामान्यजस्तै बनिसकेको थियो। यस्तो परिस्थितिमा सिस्नेखोला–बलम्बु जोड्ने आधुनिक सुरुङमार्ग सञ्चालनमा आउनु केवल एउटा पूर्वाधार परियोजनाको सम्पन्न मात्र होइन, सडक यातायात व्यवस्थापनमा गुणात्मक परिवर्तनको सुरुवात पनि हो।
सुरुङमार्गको सबैभन्दा ठुलो उपलब्धि समयको बचत होसमय आफैंमा आर्थिक स्रोत हो। यात्रुको समय बचत हुनुका साथै सार्वजनिक यातायात, मालवाहक ट्रक, व्यावसायिक सवारी र अत्यावश्यक सेवाका साधनले एकै दिनमा बढी यात्रा गर्न सक्छन्। यसले इन्धन मात्र होइन, श्रम, सञ्चालन खर्च र उत्पादनशील समयसमेत जोगाउँछ। सुरुङमार्ग सञ्चालनसँगै उठेको मुख्य प्रश्न टोल शुल्कको हो। हलुका सवारीका लागि ६० देखि ६५ रुपैयाँ तथा ठुला मालवाहक सवारीका लागि ६ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। विशेषगरी ढुवानी व्यवसायीले यो शुल्कलाई महँगो भएको टिप्पणी भएको छ। सुरुङमार्गको उपयोगितालाई केवल टोल शुल्कसँग तुलना गरेर निष्कर्ष निकाल्न मिल्दैन। शुल्कलाई लागत विश्लेषणका आधारमा घटाउन सकिन्छ।
सुरुङमार्गको अर्को महत्त्वपूर्ण पक्ष सडक सुरक्षा हो। नागढुंगा खण्ड पहिरो, तीव्र घुम्ती, उकालो–ओरालो र अत्यधिक सवारी चापका कारण दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा परिचित छ। आधुनिक सुरुङमार्गमा अत्याधुनिक भेन्टिलेसन प्रणाली, आपत्कालीन सुरुङ, नियमित दुरीमा क्रस–प्यासेज, अग्नि सुरक्षा, निगरानी प्रणाली र उद्धार व्यवस्थाको प्रबन्ध गरिएको छ। यी संरचनाले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
नागढुंगा सुरुङमार्ग नेपालको पहिलो आधुनिक सडक सुरुङ भए पनि यो अन्तिम परियोजना भने होइन। विश्वका विकसित मुलुकहरू धेरै पहिला नै सडक मार्गलाई सुरुङ युगमा प्रवेश गराएर विकास र निर्माणको नयाँ चरणमा प्रवेश गरिसकेका छन्। तर, हामी बल्ल यो चरणमा प्रवेश गरेका छौं। यससँगै सरकारले देशका विभिन्न स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन अघि बढाएको छ। सिद्धबाबा सुरुङ निर्माणाधीन अवस्थामा छ भने काठमाडौं–तराई÷मधेस द्रुतमार्गअन्तर्गत तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
टोखा–छहरे–गुर्जेभन्ज्याङ, दोलालघाट–चर्नावती, हात्तीसार–बबई, खुर्कोट–चियाबारी, शिवपुर–भालुबाङ, रानीघाट–भुरीगाउँ तथा सुर्खेत–बर्दिया खण्डमा समेत सुरुङमार्गको अध्ययन गरिएको छ। काठमाडौं उपत्यकाभित्रका केही व्यस्त सडकमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ। यी योजनाले नेपाल क्रमशः आधुनिक सडक सञ्जालतर्फ अघि बढिरहेको संकेत गर्छन्। जुन सुखद पक्ष हो। नागढुंगा–सिस्नेखोला सुरुङमार्गकै जस लिने होडमा राजनीतिक नेतृत्व र सरकार लाग्नु सुखद पक्ष होइन। झलनाथ खनाल नेतृत्वमा गठन भएको सरकारले नागढुंगा–नौबिसे खण्डमा सुरुङमार्ग निर्माण गर्ने पहिलो निर्णय गरेको हो। केपी ओली नेतृत्व सरकारले त्यसको जग हालेको हो र अहिले त्यसले पूर्णता पाएको छ।
आज एउटा सुरुङ मार्गको जस लिने होडभन्दा त्यसबाट पार गरेर जाने वा आउने राजमार्गको दुरवस्थाको जिम्मा लिने र त्यसलाई छिटो सहज बनाउन लाग्नुपर्छ। नेपालको भौगोलिक बनोट र कठिनाइलाई समेत केन्द्रमा राखेर सडक सञ्जालमा यसको अधिकतम प्रयोगमा लाग्नुपर्छ। हिमाल र पहाड छिचोल्दै सडक निर्माण गर्दा लामो दुरी, तीव्र घुम्ती, पहिरो र वातावरणीय क्षतिको समस्या छ।
सुरुङमार्गले यात्रा छोट्याउनुका साथै वन क्षेत्रको संरक्षण, पहाड कटानमा कमी, वर्षायाममा सडक अवरुद्ध हुने समस्यासमेत कम गर्न सक्छ, साथै यात्रालाई सुरक्षित बनाउनेछ। नागढुंगा सुरुङमार्गले नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गरेको छ। यसको सफलता केवल २.७ किलोमिटर लामो सुरुङ निर्माणमा सीमित छैन, यसले देशलाई आधुनिक, सुरक्षित र द्रुत यातायात प्रणालीतर्फ उन्मुख गराएको छ।
सुरुवाती चरणमा शुल्क, सञ्चालन र व्यवस्थापनका विषयमा केही बहस र चुनौती देखिन सक्छन् तर समय, इन्धन, मर्मत खर्च, दुर्घटना न्यूनीकरण, वातावरणीय लाभ र आर्थिक उत्पादकत्वलाई समग्र रूपमा मूल्यांकन गर्दा सुरुङमार्गको दीर्घकालीन लाभ स्पष्ट देखिन्छ। सुरुङ मार्गजस्ता पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै देशका अन्य जोखिमयुक्त सडक खण्डमा पनि आधुनिक सुरुङमार्ग निर्माणलाई तीव्रता दिनुपर्छ।
प्रकाशित: १३ श्रावण २०८३ ०६:०७ बुधबार