सम्पादकीय

प्रदूषणको प्रभाव

हिउँदका दिन आउनासाथ काठमाडौं उपत्यकाका बासिन्दाका निम्ति कहर सुरु हुन्छ। चिसोले प्रदूषण जमिन सतहमा थिग्रिन थालेपछि यसको प्रत्यक्ष प्रभाव जनसमुदायलाई पर्न थाल्छ। गर्मी महिनामा नियमित वर्षा हुँदा प्रदूषण यहाँको वायुमण्डलमा बसिरहन पाउँदैन। नियमित वर्षाले यसलाई पखाल्छ। स्वच्छ वायु सास फेर्न सर्वसाधारणलाई सहज हुन्छ। यस्तो बेला घरबाहिर निस्किन, व्यायाम र नियमित कामका निम्ति पनि सहज हुन्छ। हिउँद आउनेबित्तिकै घरबाहिरको स्थिति गाह्रो हुन्छ। घरभित्रै पनि प्रदूषणको प्रभाव नपर्ने होइन।

अहिले फेरि मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकामा प्रदूषणको प्रभाव वृद्ध, बालबालिका र संवेदनशील स्वास्थ्य भएका व्यक्तिमा पर्न थालेको छ। अस्पतालमा श्वासप्रश्वासको समस्या लिएर जानेहरूको संख्या बढिरहेको छ। काठमाडौं उपत्यकाबाट वरिपरि पहाड र हिमालका शृंखला देख्न सकिन्छ। तर, प्रदूषणको बाक्लो पर्दाले ती भनेजति सहज देखिँदैनन्। यसको अर्थ हो– हाम्रो वरिपरि प्रशस्त मात्रामा धुलोका कण र सवारी आदिको धुवाँ निस्किदा परेको प्रभाव देखिन्छ। तुवाँलो लागेको पनि यसैकारण हो। हवाईमार्गबाट काठमाडौं उपत्यकामा आउने र जाने यात्रुले सजिलैसँग यो उपत्यका तुवाँलो र प्रदूषणले ढाकेको आकाश मार्गबाट देख्न सक्छन्।

प्राकृतिक रूपमा काठमाडौं उपत्यका कचौरा आकारको छ। वर्षा नभएको बेलामा यहाँको प्रदूषण सजिलै बाहिर जाँदैन। दिउँसो राम्ररी घाम लागेर तातेपछि भने प्रदूषण माथि सर्दै जान्छ र राम्ररी हावा चलेको खण्डमा यहाँबाट उडेर जान्छ। तर, घाम राम्ररी लाग्न नसक्दा र चिसो बढ्दा यहाँ भाइरल संक्रमण बढी हुन्छ। यस्तो मौसम र प्रदूषणको अवस्थामा घातक ब्याक्टेरियाको संक्रमण बढ्छ। यसैको परिणामस्वरूप यहाँ श्वासप्रश्वासका बिरामी बढ्छन्। अहिले राजधानी उपत्यकाका अस्पतालमा यस्ता बिरामी बढेको देख्दा यसलाई सहजै अनुमान लगाउन सकिन्छ।

मंसिर १५ देखि सामान्यतः हिउँद लागेको ठानिन्छ। यसै पनि हामीकहाँ चाडबाड सकिएपछि हिउँद याम सुरु हुन्छ। वर्षायाममा यहाँको वायु विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड अनुकूल हुन्छ। निरन्तर वर्षा भइरहने हो भने काठमाडौंमा प्रदूषणको खासै चिन्ता गर्नुपर्दैन। अहिले तुलनात्मक रूपमा विद्युतीय सवारीको प्रचलन बढेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको गुणस्तर पनि राम्रो छ। युरो मापदण्ड अपनाएका सवारी आयात गर्नुपर्ने बाध्यकारी अवस्थाले पनि यसमा सुधार गरेको छ। विगतको तुलनामा निर्माण कार्य पनि केही हदसम्म पूरा भएको छ। यति हुँदाहुँदै पनि यहाँ प्रदूषण बढ्नुमा नियमित ढंगले यहाँको वायुमण्डलको सफाइ हुने परिस्थिति नहुनु हो।

प्राकृतिक रूपमा वर्षा नहुने भएपछि यसमा सुधार गर्न अन्य उपाय अपनाउनुको विकल्प छैन। त्यसका निम्ति यहाँ सकेसम्म बढी बोटबिरुवा हुनुपर्छ। प्रदूषणका कारक चिनेर त्यसमा नियन्त्रण गर्ने उपाय कडाइका साथ लागु हुनुपर्छ। हालका दिनमा प्रदूषण भनेको कुनै मुलुकभित्रको कारण मात्र जिम्मेवार हुँदैन। अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका गतिविधिले पनि यसलाई असर पार्छ। कार्बन उत्सर्जन कम गर्ने मुलुकले भूमिका खेल्नुपर्छ। यसमा बहुपक्षीय समस्या हो भने समाधानका निम्ति त्यसरी नै पहल हुनुपर्छ। त्यसैगरी देशभित्र पनि प्रदूषण कम गर्न सरकारले कडाइसाथ गतिविधि सञ्चालन गर्नुको विकल्प छैन।

काठमाडौं उपत्यकामा त्यतिकै प्रदूषण भइरहेको छैन। यहाँ भइरहेको विकास निर्माणको काममा पनि प्रदूषण नहुने गरी मापदण्ड तोक्नु जरुरी छ। यहाँ प्रदूषण बढ्नुमा अनेकन् कारण छन्। अझै पनि यहाँ पुराना सवारी साधन छन्, जसले धेरै प्रदूषण गर्छन्। त्यसैगरी काठमाडौंमा निरन्तर निर्माण–कार्य भइरहेको छ। निर्माण–कार्यबाट निस्किने धुलोको भूमिका पनि उत्तिकै छ। काठमाडौंमा इँटाभट्टा, औद्योगिक गतिविधिका साथै फोहोर जलाउने काम पनि हुन्छ। यसले समेत यहाँ प्रदूषण बढाउन योगदान गरेको छ।

हाम्रो मुलुकमा प्रदूषणले प्रति वर्ष २६ हजारदेखि ४१ हजार तीन सय व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालमा प्रदूषण मृत्यु र अपांगताको मुख्य कारक हुने गरेको छ। यसले नेपालीको आयु करिब ३.४ वर्षले कम गरेको छ। नेपालीलाई प्रदूषणका कारण मुटु र फोक्सोको रोग, फोक्सोको क्यान्सर र मधुमेहसमेत हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन्। यस्तो स्थितिमा मुलुकको जनसंख्यालाई प्रदूषणबाट जोगाउने गरी नीति निर्माण गर्नु आवश्यक छ। आम नागरिकको स्वास्थ्यभन्दा ठुलो अरू केही छैन। त्यसमा पनि ठुलो जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकालाई बस्न योग्य बनाउनुको विकल्प छैन। यहाँ बस्न नसकेर बाहिर जाने भन्ने कुरा हुँदैन। काठमाडौंको बसोबास कहर होइन, रहर बन्न सक्नुपर्छ।  

प्रकाशित: १७ मंसिर २०८२ ०६:०० बुधबार