सम्पादकीय

गाजा युद्धविरामको गन्तव्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजामा युद्धविराम भएको छ। गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले सबै जीवित बन्धकहरू हस्तान्तरण गरेको छ र त्यसको साटो इजरायली सेनाले करिब दुई हजार  प्यालेस्टिनी बन्दी तथा हिरासतमा राखिएकाहरूलाई रिहा गरेको छ।

युद्धविराम सम्झौताअनुसार सोमबार प्यालेस्टिनी सशस्त्र लडाकु समूह (हमास) लगायतका अन्य समूहद्वारा २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बन्धक बनाई लगिएका बाँकी सबै जीवित बन्धकलाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो।

२०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा करिब १२ हजार मानिस मारिएका थिए र दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसपछि इजरायलको सैन्य कारबाहीमा १८ हजारभन्दा बढी बालबालिकासहित ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

यो साताको सुरुमा भएको विकासक्रमलाई गाजामा दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्यको दिशामा महत्त्वपूर्ण कदम मानिएको छ। यसैबिच इजरायली र प्यालेस्टिनीहरूले सोमबार ठुलो संख्यामा भएको बन्धक र बन्दीहरूको सट्टापट्टाको खुसीयाली मनाएका छन्।

यो समग्र घटनाक्रममा अमेरिकी राष्ट्रपतिको सक्रियता निकै स्वागतयोग्य छ। बन्धक रिहाइको ठिकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका थिए। उनले इजरायली संसद्लाई सम्बोधन गर्दै दुई वर्षभन्दा लामो समयदेखि गाजामा राखिएका बन्धकको रिहाइले मध्यपूर्वमा नयाँ युगको ऐतिहासिक बिहानीको संकेत गरेको दाबी गरेका थिए। कुनै अमेरिकी राष्ट्रपतिले इजरायली दललाई सम्बोधन गरेको सन् २००८ पछि यो पहिलो पटक हो।

द्वन्द्वरत पक्षबिचको पहिलो चरण सम्पन्न भएपछि यसलाई दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषय टड्कारो छ। त्यही सिलसिलामा गाजा शान्ति योजनाको अर्काे चरणका क्रममा राष्ट्रपति ट्रम्प इजिप्टको सर्म अल–सेखमा विश्वका अन्य २० राष्ट्रका नेता सहभागी बैठकमा समेत सहभागी भएका छन्। उक्त सम्मेलनमा इजिप्ट, कतार, टर्की र अमेरिकाले युद्धविराम सम्झौताको ‘ग्यारेन्टर’का रूपमा घोषणामा हस्ताक्षर गरेका छन्। सम्झौताले दुई वर्षदेखिको युद्धलाई अन्त्य गर्ने उद्देश्य राखेको छ।

विशेषगरी दुई वर्ष लामो यो युद्धले गाजा खण्डहर जस्तै बनेको छ। गाजामा ठुलो मानवीय संकट निम्तिएको थियो। गाजाका सर्वसाधारण अत्यावश्यक खाद्यपदार्थ, औषधी तथा खानेपानीको चरम अभाव झेलिरहेको थिए। संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा वास्तविक प्रगति भएको जनाएको छ। गएको शुक्रबारदेखि खाना पकाउने ग्यास, खाना, औषधी, फलफूल र टेन्टजस्ता सामग्री गाजामा पठाउन थालिएको छ। युद्धको चपेटामा रहेको मध्यपूर्वमा तत्कालका लागि शान्तिको वातावरण देखिएको छ।

इजरायली बन्धकहरू मुक्त हुनुअघि ट्रम्पको योजनाअनुसार इजरायली सैनिकले आफ्नो नियन्त्रण ५३ प्रतिशत मात्रै कायम हुनेगरी गाजाबाट पछि हटेका छन्। यसैगरी विभिन्न देशका सैनिक र अमेरिकी सेनाको सुपरिवेक्षणमा हुने एउटा टोलीले गाजाको युद्धविरामको निगरानी गर्ने तयारी छ। शान्ति योजनाअन्तर्गत गाजालाई सैन्यमुक्त क्षेत्र बनाइने र सबै सैन्य, आतंक र आक्रमणका लागि प्रयोग गरिने संरचनाहरू नष्ट पारिने उल्लेख छ। योजनानुसार गाजामा प्यालेस्टिनी प्राविधिक विज्ञहरूको नेतृत्वमा गठित एउटा अस्थायी सङ्क्रमणकालीन समितिले शासन गर्ने अनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यक्षता र ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेअर पनि संलग्न एक ‘बोर्ड अफ पिस’ले उक्त समितिको कार्यको निगरानी गर्नेछ। विज्ञहरूको एउटा समितिले गाजा पुनःनिर्माण गर्न ‘ट्रम्प आर्थिक विकास योजना’ तयार पार्नेछन्।

यसो हुँदाहुँदै पनि ट्रम्पको दाबी, कूटनीतिक उत्सव र दुवै तर्फका पारिवारिक पुनर्मिलनबिच युद्धविरामलाई दीर्घकालीन बनाउन अझै धेरै चुनौती छन्। शान्ति योजनाका आगामी चरण जटिलताले भरिएका छन् र त्यसमा अघि बढ्न गहन छलफलको खाँचो देखिन्छ।

यसमा अझै बाँकी रहेको विषय भनेको हमासले हतियार बिसाउन अस्वीकार गर्नु हो। प्यालेस्टिनी राज्य स्थापित भएपछि मात्र आफूले अस्त्रशस्त्र त्याग्ने हमासको पुरानो अडान कायमै छ। ट्रम्पले अघि सारेको योजनाका विषयमा गत साता प्रतिक्रिया व्यक्त गर्दा हमासले निरस्त्रीकरणबारे कुनै टिप्पणी गरेको थिएन। यसैगरी इजरायलले यो योजनामा पूर्णतः सहमत भए पनि युद्ध टुंगिएपछि गाजामा प्यालेस्टिनी प्राधिकरण संलग्न हुने विषयमा नेतान्याहुले विमति प्रकट गर्दै आएका छन्।

आगामी दिनमा विवाद उत्पन्न हुन सक्ने अर्को विषय इजरायली सेनाको फिर्ती हो। इजरायलले गाजाको ५३ प्रतिशत भूभाग नियन्त्रणमा लिएको हुँदा सैनिकहरूलाई प्रथम चरणमा फिर्ता गर्ने जनाएको थियो। ह्वाइट हाउसको योजनाअन्तर्गत थप सैनिकहरू क्रमशः ४० प्रतिशत अनि १५ प्रतिशतको अवस्थामा फिर्ता हुने उल्लेख छ।

अन्तिम चरणको फिर्ती चाहिँ गाजालाई विद्रोही आतंकको जोखिमबाट पूर्णतः मुक्त गरेपछि मात्र हुने बताइएको छ। सबै सैनिक फिर्ता गर्न स्पष्ट समयसीमा नतोकिएको अवस्थामा त्यसबारे हमासले स्पष्टता खोज्न सक्छ।

पछिल्लो युद्धविरामसँगै द्वन्द्वको एक भयानक कालखण्डबाट मध्यपूर्व शान्तिको यात्रातर्फ अघि बढेको छ। यसलाई चिरस्थायी र दीर्घकालीन बनाउन कुनै कसर बाँकी राख्नुहुँदैन। यसले मध्यपूर्व मात्र होइन, समग्र विश्व शान्तिमा सहयोग पुग्नेछ । तर, दुःखको कुरा हाम्रो मुलुकका विपिन जोशीको भने हमासले आफ्नो नियन्त्रणमा राखेर पनि सकुशल फिर्ता गर्न सकेन। नेपालले सधैं हमासका निम्ति संयुक्त राष्ट्रसंघमा मतदान गरेको छ तर विपिनलाई सकुशल मुक्त गर्न भने यो शान्तिप्रक्रिया असफल रह्यो। विपिनको सहादतले कालान्तरसम्म नेपाल–इजरायल सम्बन्धको सम्झना गराइरहनेछ।  

प्रकाशित: २९ आश्विन २०८२ ०६:०५ बुधबार