पश्चिम नेपाल र उत्तरी भारतमा ‘ठुलो स्तरको भूकम्प आउन ढिला भइसकेको’ भन्ने बहस र आँकलन वर्षौंदेखि चल्दै आएको हो। यसले एक हिसाबले आममानिसको चिन्ता र बेचैनी बढाएको थियो तर रारा तालको गहिराइबाट निकालिएका ६ हजार वर्ष पुराना अवसादी नमुनाको विश्लेषणले यो धारणा वैज्ञानिक रूपमा सही नभएको संकेत गरेको छ।
बेलायतमा रहेको अनुसन्धान निकाय ब्रिटिस एन्ट्रान्टिक सर्भेका अनुसन्धानकर्ताले रारा ताललाई प्राकृतिक अभिलेखालयका रूपमा उपयोग गर्दै दीर्घकालीन भूकम्पीय इतिहास र भविष्यमा आउन सक्ने भूकम्पको जोखिमलाई फरक हिसाबले परिभाषित गरेका छन्। वैज्ञानिकहरूले दिएको नतिजा स्पष्ट छ– ठुला भूकम्पहरू निश्चित चक्रअनुसार होइन, अनियमित र समूहबद्ध ढाँचामा देखा पर्छन्।
‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित उक्त वैज्ञानिक अध्ययनले तालको गहिराइमा रहेका विशिष्ट तहहरूलाई विगतमा आएका शक्तिशाली कम्पनहरूको साक्षी मानेको छ। यो क्षेत्रमा विगत ६ हजार वर्षमा करिब ५० वटा ६.५ म्याग्निच्युड वा सोभन्दा ठुला भूकम्पका प्रमाण फेला परेका छन्। सन् १५०५ यता मात्र आठ ठुला कम्पन भएको तथ्यले भूकम्प नियमित तालिकामा नचल्ने पुष्टि गर्छ। यसले ‘सेस्मिक ग्याप’को लोकप्रिय व्याख्यालाई प्रश्नांकित गर्दै यसलाई ‘ज्ञानको खाली ठाउँ’ हुन सक्ने औंल्याएको छ। यसले त्यो क्षेत्रमा पृथ्वीको भित्र सञ्चित रहेको सेस्मिक ऊर्जा बेलाबखत आइरहेका साना–ठुला भूकम्पले बाहिर निकालेको र त्यसले ठुला स्तरको भूकम्पको जोखिमलाई केही हिसाबले न्यून गरेको वैज्ञानिक तर्क छ।
अनुसन्धानले यो क्षेत्रको भूकम्पीय प्रवृत्तिलाई इन्डोनेसिया, न्युजिल्यान्ड, चिली र अमेरिकाको प्यासिफिक नर्थवेस्टजस्ता क्षेत्रका दीर्घकालीन अभिलेखसँग तुलना गर्दा पनि उही अनियमित, समूहबद्ध ढाँचा देखिएको देखाएको छ। यसले हिमालय मात्र होइन, विश्वव्यापी रूपमा भूकम्प जोखिमबारे हाम्रो सोच परिमार्जन गर्न आवश्यकता औंल्याएको छ। जोखिम आँकलन मोडलहरूलाई सीमित अवलोकनभन्दा बाहिर लैजानु र गहिरो भूगर्भीय इतिहास जोड्नु अब अनिवार्य भएको सन्देश अध्ययनले दिएको छ।
यो वैज्ञानिक निष्कर्षले दुईवटा महत्त्वपूर्ण सन्देश दिन्छ। पहिलो, यसले ठुला स्तरको ‘ढिलो भइसकेको’ भन्ने भाष्यले सिर्जना गर्ने डरलाई केही हदसम्म निराकरण गरेको छ। वैज्ञानिकका अनुसार भूकम्प घडीको काँटाजस्तो चल्दैन। तर सँगसँगै योसँग जोडिएको दोस्रो पक्ष पनि छ, त्यो भनेको जोखिम घटेको भन्ने होइन। जोखिम सधैं असमान तर निरन्तर रहन्छ। सक्रिय अवधिपछि लामो शान्त समय आउन सक्छ तर शान्ति नै सुरक्षित भविष्यको ग्यारेन्टी होइन।
हामीले २०७२ सालको विनाशकारी भूकम्पमा करिब नौ हजार जीवन गुमायौं। त्यो पीडादायी स्मृतिले देखायो – कमजोर संरचना, अव्यवस्थित सहरीकरण र सीमित तयारीले प्राकृतिक जोखिमलाई मानवीय विपत्तिमा रूपान्तरण गर्छ। नयाँ अध्ययनले पुराना आवधिक मोडलहरूको सीमितता देखाउँदै जोखिम मूल्यांकनलाई अनियमित ढाँचाभित्र पुनर्परिभाषित गर्न आग्रह गरेको छ। यसको अर्थ भनेको नीति, लगानी र पूर्वतयारीलाई जुनसुकै बेलाको सम्भावनामा आधारित बनाउनु हो।
यस सन्दर्भमा सरकार र स्थानीय तहका लागि तीन प्राथमिकता स्पष्ट छन्। पहिलो, भवन संहिताको कडाइसाथ कार्यान्वयन गर्नुको विकल्प छैन। नयाँ निर्माणमा मात्र होइन, विद्यालय, अस्पताल, प्रशासनिक भवन र ऐतिहासिक सम्पदाको शीघ्र सुदृढीकरण अपरिहार्य छ। दोस्रो, जोखिम नक्सांकन र भूउपयोग योजना अद्यावधिक गर्दै अवैज्ञानिक प्लटिङ र नदीकिनार÷ढलान क्षेत्रको अनियन्त्रित बसोबास रोक्नुपर्छ। तेस्रो भनेको समुदायमा आधारित तयारी हो, जसअन्तर्गत पूर्व र प्रारम्भिक चेतावनी, आपतकालीन सञ्चार र राहत व्यवस्थालाई संस्थागत गर्नुपर्छ।
हिमालयको उत्पत्ति इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको सतत टकरावको परिणाम हो। यो प्रक्रिया आज पनि जारी छ, जसले क्षेत्रलाई विश्वकै उच्च भूकम्पीय जोखिममा राख्छ। त्यसैले ‘अहिले शान्त छ’ भन्ने तर्कले आत्मसन्तुष्टि जन्माउन हुँदैन। बरु शान्त अवधिलाई तयारी सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्छ। बजेट सीमित भए पनि प्राथमिकता स्पष्ट हुनुपर्छ। यस प्रसंगमा जीवनरक्षा, लचिलो पूर्वाधार र द्रुत प्रतिक्रिया क्षमता महŒवपूर्ण रहन्छन्।
अन्ततः रारा तालको अध्ययनले थोरै राहत दिएको छ, डरलाई कम गर्न र यसअघि रहेको भ्रम हटाउन मद्दत गरेको छ। अब यो क्षेत्रमा ठुला स्तरको भूकम्प आउन ‘ढिलो भइसकेको’ भन्ने मिथकको सट्टा ‘सधैं सम्भावित’ भन्ने यथार्थ स्वीकार्ने समय आएको छ। विज्ञानले घन्टी बजाइसकेको छ– ठुला भूकम्प समयतालिकामा आउँदैनन्। त्यसैले हाम्रो तयारी पनि समयतालिकामा होइन, स्थायी प्रतिबद्धता र तयारीमा आधारित हुनुपर्छ। नीतिनिर्माता, निजी क्षेत्र र नागरिक समाज सबैले मिलेर जोखिमलाई निरन्तर खतरा मानी सम्भावित विपद् थेग्न सक्ने नेपाल निर्माणतर्फ ठोस कदम चाल्नु नै यस अध्ययनको सार्थक निष्कर्ष हो।
प्रकाशित: ५ फाल्गुन २०८२ ०६:०५ मंगलबार