सम्पादकीय

श्रमिकमार्फत समृद्धि

नेपालमा वैदेशिक रोजगारी केवल आयआर्जनको माध्यम मात्र नभई सामाजिक संरचना, सोच र जीवनशैली परिवर्तन गर्ने शक्तिशाली कारक बनेको छ। स्वदेशमै अवसर नहुँदा गाउँघरबाट लाखौं युवा बिदेसिनु एकतिर बाध्यता हो भने अर्कातिर विश्वव्यापीकरणले ल्याएको अवसर पनि हो। त्यसले नयाँ ज्ञान र अवसरको पनि सिर्जना गर्नेछ र स्वदेशमै फर्केर गरिने उद्यमशीलताको नयाँ बाटो खोल्ने छ। बागलुङका तेजबहादुर घर्तीमगर एउटा यस्तै प्रेरका हुन्। १६ वर्ष खाडी मुलुकमा श्रम गरेर फर्किएका घर्तीमगरले अहिले गाउँमै बाख्रापालन सुरु गरेका छन्। उनले अहिले गाउँमा सफल व्यवसायीको पहिचान बनाएका छन्। विदेशी भूमिमा वर्षौं कठोर श्रम गरेर स्वदेश फर्किएका धेरै तेजबहादुरहरूले आफ्नो गाउँठाउँमा नयाँ उद्यम सुरु गरेका छन् र आफूलाई मात्र होइन, समाजलाई नै परिश्रम गरेर नेपालमै नहुने केही छैन भन्ने उदाहरण पेस गरेका छन्।

१८ घण्टा विदेशमा श्रम गर्दा पनि सीमित आम्दानी मात्र हुने अनुभव बोकेर स्वदेश फर्केका उनले गाउँको बाँझो जमिनलाई उपयोग गर्दै बाख्रापालन सुरु गरे। अहिले त्यसलाई व्यवस्थित व्यवसायमा रूपान्तरण गरेका छन्। सुरुमा घरमै रहेका आठ वटा बाख्राबाट सुरु गरिएको उनको यात्रा अहिले एक सय ५० भन्दा बढी बाख्रामा विस्तार भएको छ। उनले खोरलाई आधुनिक ढंगले निर्माण गरेका छन् र बाँझो जमिनमा घाँसखेती गरेका छन्। उत्पादनलाई बजारसँग जोड्ने सोच विकास गरेका छन्। विकास पुगे पनि उजाड बन्दै गएको गाउँलाई जीवन्त बनाएर उनले पशुपालनको विस्तार होइन, रूपान्तरण सुरुवात गरेका छन्। आफ्नै गाउँठाउँमा गरे के हुँदैन भन्ने सन्देशसमेत दिएका छन्।

हुन त नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषणको योगदान अत्यन्त महत्त्वपूर्ण छ। हाल रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २२ देखि २५ प्रतिशत हिस्सा ओगटेको छ। लाखौं परिवारको जीवनयापन, शिक्षा, स्वास्थ्य, आवास र उपभोग खर्च रेमिट्यान्समै निर्भर छ। विदेशी मुद्रा सञ्चिति स्थिर राख्न पनि रेमिट्यान्सको भूमिका निर्णायक छ तर यसको संरचनात्मक कमजोरी भनेको ठुलो हिस्सा उत्पादनशील क्षेत्रमा होइन, उपभोगमै खर्च भइरहेको छ। यही कारण नेपाल अझै पनि आयात निर्भर अर्थतन्त्रमै सीमित छ। यस सन्दर्भमा तेजबहादुरजस्ता स्वदेश फर्केर आफ्नै गाउँठाउँमा उद्यमशीलता गर्ने जनशक्ति देशका लागि आवश्यक छ।

विदेशमा लामो समय श्रम गर्दा उनीहरूले केवल पैसा मात्र कमाएका हुँदैनन्, श्रमसंस्कृति, अनुशासन, समय व्यवस्थापन र जोखिम सहने क्षमता पनि सिक्छन्। उनीहरूले आर्जन गरेको अनुभवलाई मुलुकले उपयोग गर्नसक्नुपर्छ। त्यसलाई उद्यमशीलतामा रूपान्तरण गर्दै तेजबहादुरलाई परम्परागत होइन, व्यावसायिक कृषिलाई आत्मसाथ गर्न प्रेरित गर्नुपर्छ। बैंकबाट कर्जा लिन होस् वा फार्म दर्तासहितका विषयमा सरकारले सहजीकरण गरिदिनुपर्छ। कृषि भनेको गरिबी होइन, अवसर पनि हो भन्ने सोच विस्तार गर्दै युवालाई यसमा लाग्न प्रेरित गर्न पनि तीनै तहका सरकारको सकारात्मक प्रयासको आवश्यक छ। त्यसले विदेश पलायन भएको युवा श्रमशक्तिलाई स्वदेश फर्किएर व्यावसायिक ज्ञानको प्रयोग गर्न सक्नेछन्। त्यसले युवा मात्र होइन, पुँजी पलायन पनि कम हुनेछ, बाँझिएका जमिन हराभरा बन्नेछन्, हराउँदै गएको पारिवारिक एकतालाई जोड्ने छ। सरकारको भूमिकाले रोजगारीका लागि विदेश भौंतारिनुपर्ने बाध्यताको अन्त्य हुनेछ, आत्मर्निभर अर्थतन्त्रको राजमार्ग निर्माण हुनेछ।

त्यसका लागि नीतिगत तहमा स्पष्ट रणनीति आवश्यक छ। पहिलो, फर्किएका श्रमिकका लागि विशेष कोषमार्फत बिनाझन्झट कर्जा उपलब्ध गराउनुका साथै कृषि, पशुपालन, साना उद्योग र सेवा क्षेत्रमा व्यावहारिक तालिम अनिवार्य र सहजीकरण गर्नुपर्छ। उत्पादनलाई बजारसँग जोड्न मूल्य शृंखला विकास, शीतभण्डारण, यातायात र सहकारी सञ्जाल विस्तार उत्तिकै आवश्यक छ। स्थानीय तहले बाँझो जमिन उपयोग, प्रविधि हस्तान्तरण र अनुदान कार्यक्रममार्फत उद्यम र उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ। यस सन्दर्भमा वित्तीय साक्षरतामा पनि ध्यान दिनु जरुरी देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूले पनि वैदेशिक रोजगारबाट फर्किएका उद्यमीलाई प्राथमिकतामा राख्नुपर्छ। विदेशमा होइन, आफ्नै माटोमा श्रम र सिप प्रयोग गरेर जीवन मात्र होइन, देश पनि बदल्न सकिन्छ भन्ने प्रेरणा र भरोसा सरकारले जगाउन सक्नुपर्छ। त्यसले अवसरको खोजीमा बिदेसिएका हजारौं युवा स्वदेश फर्केनेछन् र सिप, पुँजी र अनुभवलाई देशमै सही उपयोग गर्ने अवस्था निर्माण हुनेछ। तत्पश्चात् रेमिट्यान्स निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र उद्यमशील अर्थतन्त्रमा रूपान्तरण गर्न सम्भव हुनेछ ।

प्रकाशित: १५ असार २०८३ ०६:०३ सोमबार

Download Nagarik App