सम्पादकीय

प्रसूतिमा प्रगति

परोपकार प्रसूतिगृहमा पुरुषको शुक्रकीटको गुणस्तर परीक्षण गर्ने अत्याधुनिक अटोमेटेड ‘सेमेन एनालाइजर’ सेवा सञ्चालन गर्नु प्रजनन स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि हो।

अझ महत्वपूर्ण, सरकारी अस्पतालअन्तर्गत यो प्रविधि भित्र्याउनेमा प्रसूतिगृह दोस्रो अस्पताल बनेको छ। यो सेवा यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा मात्र उपलब्ध थियो। करिब ५० लाख रुपैयाँ मूल्यको यो उपकरणले शुक्रकीटको संख्या मात्र होइन, त्यसको टाउको, घाँटी, शरीर र पुच्छरको आकार तथा संरचनासमेत सूक्ष्म रूपमा परीक्षण गर्न सक्छ। यो अत्याधुनिक उपकरणले बाँझोपनाको उपचारलाई थप वैज्ञानिक, विश्वसनीय र सर्वसाधारणको पहुँचयोग्य बनाउने अपेक्षा गर्न सकिन्छ।

यो सुरुवातलाई एउटा मेसिन थपिएको समाचारका रूपमा मात्र बुझ्नुहुँदैन। जटिल बन्दै गएको प्रजनन स्वास्थ्य उपचार र हेराइको आमधारणालाई पनि यसले सम्बोधन गर्न योगदान गर्नेछ। हाम्रो समाजमा सन्तान नभए त्यसको दोष महिलाकै हुने गलत धारणा अझै पनि विद्यमान छ। अझै पनि बाँझोपनाका लागि नेपाली समाजमा महिलाको कमजोरी वा दोषका रूपमा हेर्ने प्रवृत्ति छ।

विवाह भएको केही समयमै गर्भ नरहे महिला नै आफन्त, छिमेकी र परिवारको प्रश्नको केन्द्र बन्छिन्। उपचारका लागि पनि सुरुमा महिलालाई नै अस्पताल पुर्‍याइन्छ। पुरुषको प्रजनन स्वास्थ्य परीक्षण आवश्यक छ कि छैन भन्ने प्रश्नसमेत धेरै परिवारमा उठ्दैछैन। यसको परिणामस्वरूप महिलाले अनावश्यक मानसिक तनाव, सामाजिक लाञ्छना र पारिवारिक हिंसासमेत बेहोर्नुपर्ने हुन्छ।

विज्ञानले पहिल्यै स्पष्ट गरिसेकेको छ-बाँझोपना महिला वा पुरुषमध्ये कुनै एकको मात्र समस्या होइन। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रजनन उमेरका करिब ६ मध्ये एक व्यक्ति जीवनको कुनै न कुनै समयमा बाँझोपनाबाट प्रभावित हुन्छन्। यसको कारण पुरुष, महिला, दुवै पक्ष वा कहिलेकाहीं पत्ता नलाग्ने कारण हुन सक्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा बाँझोपनाका लागि पुरुष पक्षको योगदान २३.९ प्रतिशत देखिएको थियो। अर्को नेपाली अध्ययनले महिला कारण ३४ प्रतिशत, पुरुषको कारण ३०.१ प्रतिशत र दुवै पक्षका कारण २२.४ प्रतिशत देखाएको थियो। यी अध्ययनका नमुना र स्थान फरक भएकाले तिनलाई देशव्यापि दरका रूपमा लिन मिल्दैन तर एउटा कुरा स्पष्ट हुन्छ, पुरुष पक्षलाई बेवास्ता गरेर बाँझोपनाको पूर्ण तस्बिर बुझ्न सकिँदैन।

त्यसो त, बाँझोपना बदलिँदो जीवनशैलीसँग जोडिन्छ। धूमपान, मदिरा, गुट्खा तथा अन्य सुर्तीजन्य पदार्थको सेवन, असथ्य खानपान, शारीरिक व्यायामको कमी, मोटोपना, तनाव र निद्राको अभावजस्ता पक्षले प्रजनन स्वास्थ्यमा असर पार्न सक्छन्। विश्व स्वास्थ्य संगठनले पनि धूमपान, अत्यधिक मदिरा सेवन र मोटोपनालाई महिला तथा पुरुष दुवैमा बाँझोपनासँग सम्बन्धित जीवनशैलीगत जोखिमका रूपमा उल्लेख गरेको छ।

नेपालमा वैदेशिक रोजगारीका क्रममा अत्यधिक गर्मीमा काम गर्ने पुरुषको संख्या ठूलो छ। शुक्रकीट उत्पादनका लागि शरीरको सामान्य तापक्रमभन्दा केही कम तापक्रम आवश्यक हुने भएकाले अत्यधिक तापको दीर्घकालीन प्रभावबारे पनि गम्भीर अध्ययन आवश्यक छ। यस विषयमा अनुमान र हल्लाभन्दा वैज्ञानिक अनुसन्धान आवश्यक छ। यो समस्याका लागि जीवनशैलीलाई मात्र दोष दिएर पुग्दैन। संक्रमण, हर्मोनसम्बन्धी समस्या, प्रजनन अंगको समस्या, आनुवंशिक कारणलगायत धेरै चिकित्सकीय कारणले पनि पुरुषको प्रजनन क्षमता प्रभावित हुन सक्छ। त्यसैले कसैलाई अकारण दोषारोपण होइन, वैज्ञानिक परीक्षण पहिलो प्राथमिकता हुनुपर्छ।

यस सन्दर्भमा प्रसूतिगृहको नयाँ उपकरणको झन् महत्व देखिन्छ। यसअघि सामान्य उपकरणबाट गलत वा अपूर्ण परिणाम आउन सक्ने अवस्थाले उपचार असफल हुने जोखिम थियो भने अब सूक्ष्म परीक्षणबाट वास्तविक समस्या पहिचान गर्न सहज हुनेछ। अन्यत्रभन्दा सरकारी अस्पतालमै सुलभ मूल्यमा सेवा दिने तयारी निजी क्षेत्रको तुलनामा उपचारलाई धेरै परिवारको पहुँचमा पुर्‍याउने अवसर पनि हो।

अब सरकारले यस्ता उपकरण काठमाडौं,का केही अस्पतालमा सीमित नराखी प्रदेश र जिल्ला तहसम्म आवश्यकताअनुसार विस्तार गर्नुपर्छ। दक्ष जनशक्ति, गुणस्तरीय रिएजेन्ट, नियमित मर्मत र परीक्षणको गुणस्तर सुनिश्चित गर्नुपर्छ।

साथै बाँझोपनासम्बन्धी जनचेतना अनिवार्य गर्नुपर्छ। हाम्रो सोच बदलिनुपर्छ। बाँझोपना महिलाको मात्र दोष होइन, पुरुषको अपमान पनि होइन। यो स्वास्थ्यसम्बन्धी समस्या हो र दम्पती दुवैले समान जिम्मेवारीसाथ यसको उपचार खोज्नुपर्छ।

प्रकाशित: २ भाद्र २०८३ ०६:१३ मंगलबार