सम्पादकीय

उत्पादनशील अर्थतन्त्र

नेपालको वैदेशिक व्यापारको पछिल्लो तथ्यांकले अर्थतन्त्रको पुरानो तर जटिल समस्यालाई पुनः उजागर गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये १८ खर्ब ९४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात भने दुई खर्ब ७७ अर्ब रुपैयाँमा सीमित छ। मुलुकको व्यापार घाटा १६ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ। जुन गत वर्षको तुलनामा करिब १६ प्रतिशतले बढी हो। निर्यातले इतिहासकै उच्च बिन्दु छोएको भए पनि आयातको तुलनामा त्यसको हिस्सा १२.८ प्रतिशतमा सीमित छ।

व्यापार घाटा यो वर्षको मात्र समस्या होइन। नेपाल लामो समयदेखि आयातमा आधारित अर्थतन्त्रका रूपमा विकसित हुँदै आएको छ। दैनिक उपभोगका वस्तु, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, खाद्यान्न, तरकारी, फलफूलदेखि पशुजन्य उत्पादनसम्मका लागि विदेशमा निर्भरता छ। स्वदेशी उत्पादन कमजोर हुँदा विदेशी वस्तुको आयात बढ्दै गएको छ। उत्पादनभन्दा उपभोगमा आधारित आर्थिक संरचनाले व्यापार असन्तुलनलाई झन् गहिरो बनाएको छ।

नेपालमा उत्पादन गर्न सकिने धेरै वस्तु पनि विदेशबाट आयात भइरहेका छन्। कृषि तथा पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सक्ने प्रशस्त सम्भावना हुँदाहुँदै वार्षिक करिब चार खर्ब रुपैयाँ बराबरका यस्ता वस्तु विदेशबाट भित्रिरहेका छन्। हजारौं हेक्टर खेतीयोग्य जमिन बाँझो छ तर नेपाली भान्सामा पाक्ने तरकारी, फलफूल र खाद्यान्न विदेशी बजारमा निर्भर छन्। यसले कृषि क्षेत्रको व्यवसायीकरण कमजोर भएको, उत्पादन प्रणाली प्रभावकारी बन्न नसकेको र युवाशक्ति कृषिबाट पलायन भइरहेको यथार्थलाई उजागर गर्छ।

व्यापार घाटा बढ्नुमा बाह्य कारण पनि छन्। पछिल्लो समय इरान–इजरायल तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। विश्व आपूर्ति शृंखलामा आएको अवरोध र ढुवानी लागतमा भएको वृद्धिले आयात महँगो बनेको छ। ११ महिनामा मात्रै एक खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, एक खर्ब १९ अर्ब रुपैयाँको कच्चा सोयाबिन तेल, ६८ अर्ब रुपैयाँको पेट्रोल तथा ५२ अर्ब रुपैयाँभन्दा बढीको एलपी ग्यास आयात भएको छ। ऊर्जा क्षेत्रमा आयात निर्भरता उच्च रहँदा अन्तर्राष्ट्रिय बजारको प्रभाव सिधै नेपालको अर्थतन्त्रमा पर्नु स्वाभाविक हो।

यो वर्षको ११ महिनामा निर्यातले नयाँ कीर्तिमान कायम गरेको छ। दुई खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। जुन नेपालको इतिहासमै सबैभन्दा उच्च हो। यो उपलब्धि पनि सन्तोषजनक मान्न सकिँदैन। निर्यातको ठुलो हिस्सा प्रशोधित सोयाबिन तेलमा आधारित छ। तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्ने प्रक्रियाले विदेशी मुद्रा आर्जन त गर्छ तर यसले वास्तविक उत्पादन क्षमता विस्तार भएको संकेत गर्दैन। अलैंची, कार्पेट, चिया, जडीबुटी, तयारी पोसाक र अन्य परम्परागत वस्तुको निर्यात सानो परिणाममा छ। भारतले नेपाली चियाको निर्यातमा लगाएको अवरोध तथा अन्तर्राष्ट्रिय बजारमा बढेको अनिश्चितताले निर्यात वृद्धिदरलाई पनि प्रभावित गरेको छ।

व्यापार घाटा घटाउने सबैभन्दा प्रभावकारी उपाय आयात प्रतिस्थापन र निर्यात विस्तार नै हो। यसको आधार स्वदेशी उत्पादन वृद्धि हो। कृषि, पशुपालन, जडीबुटी, वनजन्य उत्पादन, ऊर्जा, खानीजन्य उद्योग र पर्यटन क्षेत्रमा अपार सम्भावना भए पनि तिनलाई व्यवस्थित रूपमा उत्पादन र बजारसँग जोड्न सकिएको छैन।विशेषगरी कृषि क्षेत्रमा संरचनागत सुधार अपरिहार्य बनेको छ। बाँझो जमिनको उपयोग, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, गुणस्तरीय बिउबिजन र मलको उपलब्धता तथा कृषि उत्पादनको व्यवसायीकरणमा ध्यान दिनुपर्छ। किसानलाई उत्पादनमा आकर्षित गर्न बजारको सुनिश्चितता, न्यूनतम समर्थन मूल्य र कृषि बिमाजस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। कृषि उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्न सके मूल्य अभिवृद्धि हुने मात्र होइन, आयात हुने वस्तुको स्थान स्वदेशी उत्पादनले लिन सक्छ।

उत्पादनमूलक उद्योगको विकास अर्को महत्त्वपूर्ण पक्ष हो। औद्योगिक क्षेत्र विस्तार, सहुलियतपूर्ण कर्जा, स्थिर कर नीति, विद्युत् आपूर्तिको सुनिश्चितता र पूर्वाधार विकासबिना उत्पादन वृद्धि सम्भव हुँदैन। उद्योग स्थापना र सञ्चालनका प्रक्रियालाई सरल र लगानीमैत्री बनाउन आवश्यक छ। निजी क्षेत्रलाई उत्पादनमुखी लगानीतर्फ आकर्षित गर्न सरकारले प्रोत्साहनमूलक नीति ल्याउनुपर्छ। निर्यात बढाउन भन्सार प्रक्रिया सरलीकरण, ढुवानी पूर्वाधार सुधार, उत्पादन लागत घटाउने नीति तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणलाई प्राथमिकता दिनुपर्छ। नेपाली उत्पादनको ब्रान्डिङ र बजार प्रवर्धनमा पनि राज्यले विशेष ध्यान दिन आवश्यक छ। केवल उत्पादन गरेर मात्र पुग्दैन, त्यसलाई विश्व बजारसम्म प्रतिस्पर्धी रूपमा पुर्‍याउन सक्नुपर्छ।

व्यापार घाटा केवल तथ्यांकको विषय होइन, यो राष्ट्रिय उत्पादन, रोजगारी, औद्योगिकीकरण र आर्थिक आत्मनिर्भरतासँग जोडिएको विषय हो। निरन्तर बढ्दो व्यापार घाटाले विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्ने, बाह्य क्षेत्र असन्तुलित बनाउने र अर्थतन्त्रलाई अझ बढी आयातमा निर्भर बनाउने खतरा रहन्छ।

स्वदेशमा उत्पादन गर्न सकिने वस्तु विदेशबाट आयात गर्ने वर्तमान प्रवृत्ति अन्त्य नगरेसम्म व्यापार घाटाको खाडल पुरिँदैन। बाँझो खेतलाई उत्पादनसँग, उद्योगलाई बजारसँग र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र व्यापार असन्तुलनलाई क्रमशः घटाउन सकिन्छ। उत्पादनशील अर्थतन्त्र निर्माणमा जोड दिँदै निर्यातमुखी विकासको मार्ग अवलम्बन गर्नु नै अहिलेको आवश्यकता हो।

प्रकाशित: ११ असार २०८३ ०६:०० बिहीबार

Download Nagarik App