निर्वाचन आयोगले आमनिर्वाचन परिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै सरकार निर्माणको प्रक्रिया अगाडि बढ्दै छ। त्यसअघि नै झन्डै दुईतिहाइनजिक सांसद संख्या पुर्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनाउने अभ्यासमा जुटिसकेको छ। यसै क्रममा मंगलबार र बुधबार यसले आफ्ना सांसदलाई प्रशिक्षण दिइसकेको छ। तिनले योगदेखि विधि निर्माणसम्मका विषयमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। सरकार निर्माणको तयारीमा लागेको दलले आफ्ना सदस्यलाई तयारी अवस्थामा राख्नु स्वाभाविक हो। रास्वपाको उत्साहले मुलुकको दैनिक शासन सञ्चालनदेखि विकास निर्माणको नेतृत्व गर्ने तयारी गरिरहेको सन्देश दिएको छ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ८२ सांसदसहितको दरिलो उपस्थिति आफैंमा एउटा दलका निम्ति अवसर हो। यससँगै दरिलो उपस्थितिलाई प्रभावकारी बनाउनुपर्ने गम्भीर चुनौती पनि यो दलसामु छ। विशेष गरी यो दलका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्रीका निम्ति प्रस्तावित वरिष्ठ नेता बालेन्द्र शाहका निम्ति गम्भीर अवसर हो। यी दुवैले प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनलाई सहज तुल्याउनुपर्ने हुन्छ। निर्वाचन परिणाम आएसँगै त्यो जिम्मेवारीबोध गरेको देखिएको छ। राजनीतिमा यस्ता अवसर बिरलै आउँछन्। त्यसमा पनि हाम्रो मुलुकमा कहिल्यै स्थायित्व भएन भन्ने गुनासोबिच आममतदाताले खुलेर यो अवसर प्रदान गरेका छन्। यसकारण पनि यसलाई सदुपयोग गर्नुपर्ने हुन्छ।
प्रायः हाम्रो मुलुकमा कुनै पनि दलले एक पटक बहुमत पाइसकेपछिको अर्को निर्वाचनमा त्यस्तै उपलब्धि हासिल गर्न सकेका छैनन्। सत्ताप्रतिको आमनागरिकको असन्तुष्टि अर्थात् ‘एन्टी इन्कम्बेन्सी’ पक्ष हाम्रो मुलुकमा प्रबल भएको मानिन्छ। हाम्रा नागरिक मत दिँदा पनि अत्यन्त उदार हुन्छन् र चित्त नबुझेपछि हदैसम्मको अनुदार पनि। त्यही भएर नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफूहरूको ठुलो समर्थक पंक्ति रहेको बताउँदै आए पनि त्यो यथार्थमा अनुदित भएन। यसको अर्थ हाम्रा मतदाता आवश्यकताअनुसार आफ्नो मत परिवर्तन गर्न सक्षम रहेको देखिन्छ।
निर्वाचनपछि सरकार निर्माणको तहमा पुगेको रास्वपाको आगामी यात्राप्रति मुलुकले अत्यन्त उत्सुकतापूर्वक हेरिरहेको छ। यस दलका नेताका धारणाप्रति पनि उत्तिकै सजगता देखिन्छ। तिनले गर्ने व्यवहार कस्तो हुन्छ भन्ने पक्षमा पनि सबैको ध्यान गइरहेको छ। प्रशिक्षणका क्रममा यसका सभापति लामिछानेका धारणाबाट यो दल निकै संवेदनशील रूपमा प्रस्तुत हुन खोजको देखिन्छ। सांसदहरूलाई बोल्नुअघि विचार गर्न गरिएको आग्रह सम्भावित विवादबाट जोगिने अभ्यासका रूपमा देखिएको छ। सामाजिक सञ्जालको युगमा अभिव्यक्तिहरू विवादमा पार्न नहुनेतर्फ यो दल जानकार छ।
यो मुलुकको सबैभन्दा ठुलो समस्या भनेको बिचौलियातन्त्र हो। यसबाट जोगिन गरिएको आग्रहबाट बुझ्न सकिन्छ, यी पक्षतर्फ यो दलको ध्यान पुगिसकेको छ। कसैसँग भेटघाट गर्नुअघि वा कहीं खाना खानुअघिसमेत विचार पुर्याउन आग्रह गरिएको छ। वास्तवमा मुलुकमा कुनै पनि काम सम्पन्न गर्न बिचौलियाको सहयोग लिनु नपर्ने भयो भने स्वाभाविक रूपमा त्यसले सकारात्मक प्रभाव पार्ने छ। सरकार कार्यालयमा सामान्य सेवा लिनेदेखि कुनै उद्यमका निम्ति प्रयास गर्दासमेत बिचौलिया हाबी हुन्छन्। ठेक्कापट्टा र सरकारी काममा पनि यिनकै बोलवाला छ। त्यसैले यसबाट जोगिएर अगाडि बढ्ने र राज्यका निकायले स्वतः नागरिकका काम गर्ने अवस्था आउनु सकारात्मक पक्ष हो।
सबैभन्दा महत्त्वपूर्ण पक्ष वर्तमान संविधानप्रतिको प्रतिबद्धता हो। दलका सभापति लामिछानेले यो संविधानप्रतिको प्रतिबद्धता नडगमगाएको बताएका छन्। रास्वपा सरकारमा आएपछि संविधान र यसले गरेका व्यवस्थाबारे बेलाबेलामा प्रश्न उठे पनि यसप्रति सकारात्मक देखिएको बताउनु राम्रो पक्ष हो। निःसन्देह कुनै पनि संविधान आफैंमा पूर्ण हुँदैन तर संविधानसभाले बनाएको यो संविधानका कतिपय पक्षले मुलुकको लोकतन्त्रलाई सुन्दर बनाएको छ। कुनै पनि लोकतन्त्रको विकल्प भनेको थप लोकतन्त्र हो। अहिलेको संविधान र व्यवस्थालाई थप लोकप्रिय बनाउँदै जान यहाँका दलहरू सक्रिय हुनुको विकल्प छैन।
संविधानको विषयलाई पटक–पटक हेरफेर गरिरहन खोज्दा त्यसले समस्या उत्पन्न पनि गर्न सक्छ। हाम्रो संविधानको विशेषता भन्नु नै समावेशी चरित्र हो। आज मुलुकमा सबै क्षेत्र, वर्ग र जातिले यसमा आफ्नो स्वामित्व रहेको महसुस गरेका छन्। महिला, सीमान्त र अन्य क्षेत्रले यसमा कुनै न कुनै रूपमा आफ्नो स्थान पाएका छन्। विशेष गरी महिला प्रतिनिधित्वको पक्षमा यसले उल्लेख्य भूमिका खेलेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले धेरै हिसाबले मुलुकको लोकतन्त्रलाई प्रभावित गरेको छ। पटक–पटक राजनीतिक मुद्दामा मात्र अलमलिँदा अपेक्षित उपलब्धि हासिल हुन सक्दैन। त्यसैले प्रतिनिधित्व व्यवस्थालाई फराकिलो बनाउँदै अगाडि बढ्नेतिर ध्यान दिनु उचित हुन्छ। भइरहेका उदार व्यवस्थालाई हटाएर अनुदार प्रवृत्ति हाबी नहोस् भन्नेमा ध्यान पुग्न सक्नुपर्छ।
प्रकाशित: ५ चैत्र २०८२ ०६:१७ बिहीबार