सम्पादकीय

मूल्यवान् मौनता

मौनताको अर्थबोध ठुलो छ। जटिल परिस्थितिमा पनि मौनता खोजिन्छ। निर्वाचनका बेला हामीले मौनताको समयलाई महत्त्वसाथ लिने गर्छौं। प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार बिहान लामबद्ध हुने बेलासम्म हामी मौनताको अवधिमा छौं। सोमबार राति १२ बजेबाट सुरु भएको यो मौन अवधिमा अहिले हामी छौं। गत भदौको जेनजी आन्दोलनका कारण अहिले निर्वाचन हुँदै छ। यो निर्वाचन मुलुकमा सिर्जित जटिल परिस्थितिका कारण दुई वर्षअघि सरेको हो। निर्वाचन घोषणापछि मतदानको क्षणसम्म आइपुग्दाको कोलाहलबिच यो मौनताले आम मतदातालाई केही समयका निम्ति राहत दिएको छ।

मौन अवधि वा शून्य समयका रूपमा यसलाई अथ्र्याइन्छ। यो बेला मत माग्नेहरू व्यस्त रहे। तिनलाई सुन्दासुन्दा मतदाता झनै थकित भएका छन्। यो शान्त अवधिमा मतदाताले अब आफ्नो निर्णय गर्ने बेला हो। धेरैका सुनियो, तिनका कुरा बुझियो र अब मतदान गर्ने दल र तिनका नेताबारे निर्णय गर्ने यो बेला हो। मतदाताको एउटा मत हो। यो राष्ट्रका निम्ति जीवन र मरणको सवाल पनि हो। यही मतले देश बनाउने र बिगार्ने निर्णय हुन सक्छ। मतदाताका निम्ति यतिबेला देश मात्र होइन, परदेश पनि हेर्नुपर्ने हुन्छ। आजको सूचना प्रविधिको विकासको उच्चताको समयमा संसारको परिस्थितिलाई हेरेर पनि निर्णय गर्नुपर्ने हुन्छ। विकास, अविकास, संकट र सफलता सबैलाई आममतदाताले प्रेरणाका रूपमा लिएर निर्णय गर्नुपर्ने हुन्छ।

मौन अवधिको अभ्यास मतदातासँग मत माग्न नपाइने समयका रूपमा चित्रित छ। यो मत माग्ने र तिनलाई प्रभावित गर्ने सबै गतिविधिमा रोक लागेको हुन्छ। यो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठीको आयोजना गर्न पाइँदैन। यो मौनताको अवधि सञ्चार माध्यमका निम्ति पनि उत्तिकै लागु हुन्छ। यस अवधिमा उम्मेदवारबारे चर्चा गर्न पाइँदैन। अनलाइन माध्यमबाट कुनै किसिमको प्रचार गर्न पाइँदैन भनिएको छ। देशभित्रका माध्यममाथि निगरानी गर्न सके पनि निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सञ्चार माध्यममाथि कुनै किसिमको रोक लगाउने अवस्था छैन। यही मौन अवधिलाई उपयोग गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खास व्यक्तिलाई लाभ पुग्नेगरी सामग्री प्रसार गरिरहेका छन्।

यी घटनाक्रमले आजको समयमा विशेष गरी इन्टरनेटमा आधारित सामग्रीको नियमन र अनुगमनका निम्ति विशेष व्यवस्था गर्न राज्यले तयारी गर्नुपर्ने देखिएको छ। त्यसमा पनि यी माध्यमको प्रयोग गरेर व्यक्तिको मनोदशालाई एकोहोर्‍याउने गरेको पनि देखिएको छ। कैयन् मुलुकमा निर्वाचनमा यसको दुरुपयोग भएको देखिएको छ। आजको विश्वव्यापीकरणको समयमा प्रभाव भने जहाँसुकैबाट उपयोग हुन सक्ने देखिएको छ। निर्वाचन आयोगले यस्ता सामग्री हटाउन आग्रह गरेको भए पनि ती यथावत् रूपमा इन्टरनेटका माध्यमबाट फैलिइरहेका छन्। मुलुकभित्रका सञ्चार माध्यमले भने यसको परिपालना गरेका छन् तर त्यसरी नै परिपालना अरूलाई गराउन नसक्दा भने त्यसको दुष्परिणाम भोग्नुपर्ने अवस्था यतिबेला देखिएको छ।  

निर्वाचन भनेको सुसंस्कारको परिचय दिने अवसर पनि हो। यतिबेला व्यक्तिहरू भावुकतामा हुन्छन्। आफूले समर्थन गरेको व्यक्तिप्रतिको अतिशय विश्वास हुन्छ। तिनलाई सहयोग पुर्‍याउन धेरैले मौन अवधिको दुरुपयोग गर्ने खतरा पनि हुन्छ। हामीकहाँ यही अवधिलाई धेरै दुरुपयोग गरिन्छ। भन्ने बेलामा मौन भन्ने तर धेरै आन्तरिक गन्जागोल पनि हुन्छ। आममतदाताले ढुक्कले आफ्ना प्रतिनिधिबारे सोच्न पाउँदैनन्। यस्तो बेलामा पैसाको शक्तिले पनि आफ्नो प्रभाव देखाउने खतरा उत्तिकै रहन्छ। मौनताका ४८ घण्टामै सबैभन्दा धेरै दुरुपयोगको खतरा रहन्छ। यसकारण पनि सबै पक्षले यो समयलाई सकारात्मक ढंगले अगाडि बढाउन ध्यान दिनुपर्ने देखिन्छ।

निर्वाचनमा सबै उम्मेदवार जित्दैनन्। एकजनाले नै जित्ने हो। सम्बन्धित व्यक्तिको प्रभावकारिताका आधारमा नै आममतदाताको मत जाने हो। जसरी पनि चुनाव जित्न खोजेर पुग्दैन। मतदाताको मन जित्न तिनलाई नीति र कामबाट नै सम्भव छ। कहिले को लोकप्रिय होलान्, कहिले को। यो तिनको कामकै आधारमा हुन्छ। कहिले यसका निम्ति लहर पनि चल्छ। सधैं लहर चलोस् भन्नका निम्ति काम पनि त्यसरी नै गर्नुपर्ने हुन्छ। त्यसैले जसरी पनि जित्ने भनेर सोच्नुभन्दा पनि आममतदातालाई सहज ढंगले निर्णय गर्ने गरी अवसर दिनु उचित हुन्छ। त्यसका निम्ति दल, उम्मेदवारलगायतले ध्यान दिनुपर्छ। मौनताको अवधि मूल्यवान् छ। यसबाट सकारात्मक परिणाम आउने गरी सहजीकरण गर्न सबै पक्षले ध्यान दिनुपर्छ। लोकतन्त्रमा निर्वाचन प्रक्रियालाई जति परिपक्व बनाइन्छ, त्यति नै यो सर्वस्वीकार्य हुन्छ।  

प्रकाशित: २० फाल्गुन २०८२ ०६:१२ बुधबार