सम्पादकीय

प्राकृत नेपाल

देशमा राजनीतिक अनिश्चितता र अन्योल कायम रहिरहेका बेला हालै सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनको नतिजाले खुसी सञ्चार गरेको छ। अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययन नतिजाले नेपाल विश्वमै मानव–प्रकृतिबिचको सम्बन्धको हिसाबले पहिलो राष्ट्रमा स्थापित गरेको छ। विश्वका कुल ६१ राष्ट्रमा गरिएको अध्ययनले ‘नेचर कनेक्टेड’ राष्ट्रको सूचीमा नेपाल सबैभन्दा अगाडि आउनु पक्कै पनि गर्वको विषय हो। 

अध्ययनका क्रममा ६१ राष्ट्रका ५७ हजार सहभागीलाई सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई प्रभाव पार्छन् भन्ने प्रश्न सोधिएको थियो र नतिजालाई विश्लेषण गरिएको थियो। वातावरण तथा समाजसम्बन्धी वैज्ञानिक जर्नल एम्बिओमा गत शनिबार प्रकाशित उक्त प्रतिवेदनका अनुसार सबैभन्दा बढी प्रकृतिसँग जोडिएका राष्ट्रको सूचीमा विश्वका अन्य सबै राष्ट्रलाई पछाडि पार्दै नेपाल पहिलो नम्बरमा आएको हो। 

‘प्रकृति–सामीप्य’लाई एक स्थापित अवधारणा मानिन्छ, जसले कुनै व्यक्तिको प्रकृतिसँगको संज्ञानात्मक र भावनात्मक सम्बन्धलाई झल्काउँछ। यो मनोवैज्ञानिक अवधारणाअन्तर्गत कुनै व्यक्तिको अन्य जीवजन्तुसँगको  सम्बन्ध मापन गरिन्छ। विभिन्न अध्ययनले प्रकृतिसँगको सम्बन्ध बलियो हुँदा व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुने र ऊ वातावरण–मैत्री व्यवहारमा बढी संलग्न हुने देखाएका छन्। यसैगरी प्रकृतिसँगको कमजोर सम्बन्धका कारण सम्बद्ध व्यक्तिले व्यक्तिगत भौतिक लाभलाई प्राथमिकता दिने हुँदा यसलाई जैविक विविधताको ह्राससमेत निम्त्याउने कारक मानिन्छ। 

बेलायत र अस्ट्रियाका अनुसन्धानकर्ताको टोलीले गरेको यो अध्ययनले विज्ञानभन्दा बढी धर्म र आस्थालाई महत्त्व दिने समाजमा  प्रकृतिसँगको सम्बन्ध पनि बलियो हुने देखाएको छ। बेलायतको डर्बी विश्वविद्यालयका प्राध्यापक माइल्स रिचर्डसनले  नेतृत्व गरेको उक्त अध्ययनले प्रकृतिसँगको सम्बन्धलाई कमजोर पार्ने कारकमा उच्च सहरीकरण, औसत आम्दानी र इन्टरनेट प्रयोगको दर रहेको देखाएको छ। 

त्यसो त, नेपाली जनता प्रकृतिमैत्री भएका कैयन् उदाहरण छन्। नेपालमा प्राचीन कालदेखि नै प्रकृति, वातावरण र जीवजन्तुप्रति आदर र संरक्षणको परम्परा रहिआएको छ। हाम्रा धार्मिक तथा सांस्कृतिक परम्परामा वन, नदी, पहाड, वृक्ष र जनावरलाई देवीदेवताका रूपमा पुज्ने चलन छ। पिपल र वरलाई  पूजा गर्ने, नाग पञ्चमीमा सर्पको पूजा गर्ने आम चलन छ। छठ, जनै पूर्णिमादेखि तिहारमा गरिने गोवर्धन पूजा, काग र कुकुरलाई गरिने पूजादेखि हरेक पर्व र उत्सवमा  प्रकृतिप्रति श्रद्धा व्यक्त गरिन्छ र यस्ता कार्यमा प्रकृतिसँगको अन्योन्याश्रित सम्बन्ध हुन्छ। नेपालका धार्मिक मठमन्दिरनजिकै पवित्र वन संरक्षण गर्ने चलनले जैविक विविधतालाई संरक्षण गर्न सहयोग गरेको छ। 

नेपालको सामुदायिक वन व्यवस्थापन विश्वकै सफल उदाहरणमध्ये एक हो। देशभर छरिएका सामुदायिक वन उपभोक्ता समूहका लाखौँ सदस्य वन संरक्षणमा सक्रिय छन्। यसबाहेक, परम्परागत कृषि प्रणाली नेपाली किसानको अझै पनि रोजाइमा छ। जैविक खेती गर्ने, प्रांगारिक मल, गोठ मल र परम्परागत बिउ प्रयोग गर्ने चलन अझै पनि जीवित छ भने धान, मकै, कोदो, फापरजस्ता परम्परागत जातका अन्नको संरक्षणले जैविक विविधतालाई जोगाएको छ।

वातावरण र जैविक विविधता संरक्षणका लागि जनसहभागिता एक अपरिहार्य सर्त मानिन्छ। बाघ, हात्ती, गैँडा, पान्डादेखि अनेकन् लोपोन्मुख प्रजातिको संरक्षणमा समुदायको भूमिका अहम् छ। केही छिटपुट वन्यजन्तु र मानव द्वन्द्वका घटना घटेपनि ती जनावरको संख्या वृद्धिको तुलनामा यी घटनाको वृद्धि नभएको विज्ञ मान्छन्।

यी सबै प्रमाणले नेपाली जनता केवल वातावरणका उपभोगकर्ता मात्र होइनन्, प्रकृतिका संरक्षक हुन् भन्ने प्रस्ट हुन्छ। नेपालमा धार्मिक आस्था, सांस्कृतिक मूल्य, सामुदायिक प्रयास र जीवनशैलीमै प्रकृतिसँगको सामञ्जस्य छ। त्यही कारणले नेपाली समाजप्रकृतिमैत्री छ। यी र यस्ता अनेकन् कारणले ‘नेचर कनेक्टेड’ सूचीमा नेपाल पहिलो नम्बरमा आएको मान्न सकिन्छ। 

विश्वका अन्य देशको तुलनामा मानिस र प्रकृतिबिचको सम्बन्धमा नेपाल पहिलो स्थानमा आउनु सुखद हो तर यसलाई निरन्तरता दिन र दिगो पार्न उत्तिकै आवश्यक छ।  त्यो किन आवश्यक छ भने अहिले नेपाल अत्यधिक सहरीकरणको दौडमा छ। विश्वव्यापीकरण र उदारीकरणको दौडमा सम्पत्ति आर्जन र भौतिक सुख सुविधालाई प्रधान मान्ने चलन बढ्दो क्रममा छ। हाम्रा मूल्यमान्यता ह्रासोन्मुख हुँदा हाम्रो समग्र पहिचान गुम्ने जोखिम  रहन्छ। 

नेपालले पनि समाजको बढ्दो सहरीकरण र आधुनिकीकरणको पृष्ठभूमिमा मानिस र प्रकृतिबिचको सम्बन्धलाई जीवित राख्न विशेष तदारुकता देखाउन जरुरी छ। हरेक व्यक्तिले गर्ने प्रयास र जागरुकताले नेपाल अझ हरित, सुन्दर, दिगो र प्रकृतिमैत्री बन्न सक्छ। प्रकृतिसँगको सहअस्तित्वमा मात्र मानव समाजको दीर्घकालीन भविष्य सुनिश्चित रहन्छ।

प्रकाशित: २१ कार्तिक २०८२ ०६:०६ शुक्रबार