सम्पादकीय

नयाँ वर्ष २०८३

फेरि नयाँ वर्ष हाम्रो आँगनमा आइपुगेको छ। प्रत्येक वर्ष वसन्त ऋतुमा आउने हाम्रो नयाँ वर्ष संसारमै अद्वितीय छ। वैशाख महिनाको पहिलो दिनलाई नयाँ वर्षका रूपमा मनाउने थुप्रै मुलुक छन्। त्यसमा हामी पनि पर्छौं। ‘वैशाखी’ भनेर पनि यो दिनलाई सम्झना गरिन्छ। 

हाम्रा निम्ति यो वर्ष धेरै हिसाबले महत्वको छ। गत वर्ष हाम्रो मुलुकका निम्ति एउटा कठिनाइको समय रह्यो। देशमा गत वर्ष भदौ २३ को जेनजी विद्रोह र त्यसको भोलिपल्ट भएको आगजनी, तोडफोड र लुटपाट आफैंमा अँध्यारो समयका रूपमा इतिहासमा दर्ज भएको छ। तैपनि त्यो भीषण स्थिति साम्य भई समयमै मुलुक शान्तिपूर्ण बाटोमा हिँडेको छ।

जति छिटो मुलुकको सत्ता कब्जा भयो, त्यति कहिल्यै भएको थिएन। २७ घण्टामा देशको स्थिति छिन्नभिन्न भयो। तैपनि फागुन २१ मा भएको निर्वाचनले मुलुकमा नयाँ शक्तिहरूको उदय भएको छ। देशलाई नयाँ बाटोमा लैजाने जिम्मा गत जेनजी आन्दोलनका नेतृत्वकर्ता र प्रेरकहरूका काँधमा गएको छ। 

झन्डै चार दशकदेखि मुलुकको राजनीति समालिरहेका नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलको हातबाट यतिबेला तुलनात्मक रूपमा सबैभन्दा पछिल्लो इतिहास भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टीले शासनको जिम्मा लिएका छन्। पुराना भनिएका मधेसी दलको वर्चस्व पनि यतिबेला घटेको छ। माओवादी आन्दोलनका उथलपुथलमय १० वर्ष बोकेको दल पनि यतिखेर अर्कै नाममा विभिन्न वामपन्थी दललाई एक ठाउँमा ल्याएर सक्रिय भइरहेको छ। 

गत वर्ष हाम्रो मुलुकका निम्ति मात्र होइन, अन्तर्राष्ट्रिय जगत्का निम्ति पनि उथलपुथलको वर्ष रह्यो। यतिबेला एक धुव्रीय विश्व बहुधुव्रीय बन्ने कठिनतम अवस्थाउन्मुख देखिन्छ। पश्चिम एसियामा यतिबेला युद्धको कालो बादल मडारिएको छ। रुस र युक्रेनबिचको युद्धले पनि अझै टुंगो पाइसकेको छैन। अमेरिकाले विश्वलाई ‘कारोबारी सम्बन्ध’ सिकाइरहेको छ। 

एउटा विषम स्थितिमा संसार गुज्रिरहेको छ। पेट्रोलियम पदार्थको अभाव छ। खाना पकाउने ग्यासको पनि त्यस्तै असजिलो भइरहेको छ। मूल्यवृद्धि भइरहेको छ। संसारको एउटा कुनामा युद्ध वा दुर्भिक्ष फैलिँदा हामी पनि त्यसबाट अलग्गिन सक्दैनौं। संसार आज एकअर्कासँग अभिन्न रूपमा जोडिएको छ। यथार्थमै विश्वव्यापीकरणको प्रभावमा हामी पुगिसकेका छौं। संसारमा राम्रो या नराम्रो जे हुन्छ, त्यसबाट हामी अभिन्न रूपमा रहन्छौं।

सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन भइसकेको छ। अहिलेसम्मको स्थिति हेर्दा आगामी वर्षहरू अझ रोमाञ्चक हुने देखिँदै छ। विशेष गरी कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा संसारले उच्चतम विकास गरेको छ। यसले हाम्रा कामलाई प्रभावित गर्न थालिसकेको छ। मानिसले आफूलाई थप प्रभावकारी र रचनात्मक बनाउन यसको प्रयोग हुने नै छ। कतिपय कामका निम्ति धेरै दिन मेहनत गर्नुपर्नेमा त्यसलाई छिटो बनाउन यसले सहयोग गरेको छ। 

जीवन हिजोभन्दा आज सहज पनि बन्दै छ। सूचना प्रविधिले ज्ञान र मनोरञ्जनका आयामलाई पनि परिवर्तन गर्न थालेको छ। सिर्जना पनि हिजोभन्दा भिन्न हिसाबले जाने नै छ। प्रत्येक पटक नयाँ पक्ष जीवनमा आउँदा मानिस आत्तिने गरेको हो। अहिले यसले पनि मानिसलाई अत्याइरहेको छ। तैपनि नयाँ नयाँ पक्षलाई आत्मसात् गर्दै विकासको मार्गमा उन्मुख हुनु मानिसको कर्तव्य हुन्छ। 

हाम्रो जीवनमा सूचना र जानकारी उपभोगको तरिका पनि फेरिएको छ। हिजो परम्परागत सञ्चार माध्यम पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट सूचना र जानकारी लिने पुस्ता बिस्तारै सामाजिक सञ्जालको सूचना बाढीबाट प्रभावित भइरहेको छ। अझ सामाजिक सञ्जालको अल्गोरिदमबाट खटाइएका सामग्री र आफूलाई मनपर्ने मात्र अन्तर्वस्तुको निर्भरताले सर्वसाधारणलाई ‘इकोच्याम्बर’मा रहन बाध्य पारिरहेको छ। यस्तो अवस्थामा आफूलाई सिर्जनशील बनाउन र दायरा फराकिलो बनाउन पनि सोच्ने बेला भइसकेको छ। 

मानिसहरू बढ्ता आक्रोशित, तनावपूर्ण र प्रतिक्रियावादी भएको देखिन्छ। आफ्नै लागि समय दिएर र इन्टरनेटका सामग्रीको उपभोगलाई संयमित प्रयोगबाट फेरि पनि कतिपय गुमेका पक्ष आर्जन गर्न सकिन्छ। बितेका केही वर्षमा हामीले आफैंलाई एकान्तमा राख्न छाडेको धेरै भएको छ। हामी आक्रोशित छौं, अत्तालिएका छौं, आफैंबाट हराइरहेका छौं। युद्ध विभीषिका, अप्ठ्यारा र निरन्तरका परिवर्तनले हामी थाकेका छौं। आशा छ– आगामी वर्ष हाम्राबिच केही शान्ति हुनेछ। 
अन्त्यमा भूमि शेरचनको यो कविता अंश– 
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा झुन्ड्याउनु छ
फेरि एकचोटि
सँगीसाथीहरूको सूची बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरू बोकेर 
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र !

प्रकाशित: १ वैशाख २०८३ ०६:०२ मंगलबार

Download Nagarik App