नेपालको कुल भूभागको २३.३९ प्रतिशत भूमि संरक्षित क्षेत्रअन्तर्गत पर्छ। यसले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यही प्रयासका कारण नेपालले बाघ, गैंडा, हात्ती र घडियालजस्ता प्रमुख प्रजातिको संरक्षण र पुनस्र्थापनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। सन् २०१० मा अन्तर्राष्ट्रिय समुदायले ‘सेन्ट पिटर्सबर्ग टाइगर समिट’मा विश्वका जंगली बाघहरूको संख्या दोब्बर बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेको थियो। सन् २०१० को संख्यालाई आधार मानेर नेपाल लगायत १३ वटा बाघ पाइने देशले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिज्ञा गरेका थिए।
सो प्रतिबद्धताअनुसार सन् २०१० मा मात्र एक सय २१ बाघको संख्या रहेको नेपालले सन् २०२२ मा यसलाई झन्डै तीन गुणाले बढाएर तीन सय ५५ मा पुर्याएको छ। दुर्लभ प्रजाति संरक्षणमा नेपालले हासिल गरेको यो सफलताले विश्वव्यापी प्रशंसा समेत पायो र यो नेपालले गर्व गर्ने विषय बन्यो। वासस्थान सुधार, आहारा प्रजातिको संख्या वृद्धि, संरक्षण क्षेत्र विस्तार, चोरी सिकारी नियन्त्रण, समुदायस्तरका संरक्षण गतिविधिले यो सम्भव भएको हो। नेपाल सरकार, अन्य साझेदार संस्था, समुदाय र समग्र सरोकारको यो अभियानमा हातेमालो र सहकार्य पनि यो सफलताको कारक हो।
बाघको संख्या बढेसँगै तिनको वासस्थान व्यवस्थापन तथा बाघ र मानिसबिच हुने द्वन्द्व न्यूनीकरणमा ध्यान दिनु पर्ने विषय महत्त्वपूर्ण बनेको छ। पछिल्ला वर्षमा जलवायु परिवर्तन कहरले जैविक विविधतालाई समेत ह्रास गरेको छ। जलवायु परिवर्तनका कारण आफू बस्दै आएको र विचरण गर्दै आएको वासस्थान प्रतिकूल हुँदा बाघलगायत अन्य जीव उपयुक्त वासस्थानको खोजीमा लाग्नु स्वाभाविक हो। जलवायु परिवर्तनले समग्र जल चक्र, खाद्य चक्र र पारिस्थितिकीय प्रणालीलाई प्रभावित पार्ने र यसले जैविक विविधिताको संरक्षणमा पनि चुनौती थप्ने मानिन्छ। परिवर्तित परिस्थितिमा अनुकूलन हुन नसक्दा खास प्रजाति लोप हुने अवस्था समेत सिर्जना हुन्छ।
जलवायु परिवर्तनका कारण नेपालका दुर्लभ प्रजातिमा के कसो प्रभाव परिरहेको छ भन्नेमा त्यति धेरै अध्ययन भएका छैनन्। हालै नेपाली र अन्तर्राष्ट्रिय वैज्ञानिकले जलवायु परिवर्तनका विभिन्न परिदृश्यमा बाघको वासस्थानमा कस्तो प्रभाव पर्नेछ भन्ने आँकलन एक अध्ययनमार्फत गरेका छन्। वैज्ञानिक जर्नल ‘इकोलोजी एन्ड इभोलुसन’मा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले असामान्य मौसमी घटना, बढ्दो औद्योगिकीकरण, सहरीकरण र भूउपयोगमा भएको तीव्र परिवर्तनले बाघको विचरण, फैलावट र वासस्थानमा प्रत्यक्ष असर पार्ने देखाएको छ। जलवायु परिर्तनका कारण हुने विषम वर्षा तथा तापक्रमको ढाँचा परिवर्तन हुँदा बाघ ठाउँ सर्ने सम्भावना रहन्छ। बाघको वासस्थान मानवीय बस्ती नजिक सर्दा मानिस–बाघबिच द्वन्द्व बढ्ने अध्ययनले चेतावनी दिएको छ।
यस अध्ययनले हाल बाघ पाइने संरक्षित क्षेत्रभन्दा अन्यत्र र नेपालको उत्तर पूर्वी क्षेत्रमा बाघको वासस्थान बढ्ने प्रक्षेपण गरेको छ। यसरी नयाँ वासस्थानहरू प्रायः संरक्षित क्षेत्रभन्दा बाहिर हुने देखिएको छ। हाल ६४ प्रतिशत बाघको वासस्थान संरक्षित क्षेत्र र बाँकी ३६ प्रतिशत बाहिर रहेको अवस्थामा भविष्यमा संरक्षति क्षेत्रबाहिरको हिस्सा ५८ देखि ६४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण अध्ययनको छ। यसले के देखाउँछ भने नेपालले हालसम्म गरेका संरक्षण प्रयास र पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाका कार्यलाई जलवायु परिवर्तनको चुनौतीले थप जटिल पार्ने देखिएको छ। यसरी बाघको मुख्य वासस्थान संरक्षित क्षेत्रभन्दा बाहिर हुने देखिएको सन्दर्भमा नयाँ संरक्षण रणनीति अख्तियार गर्नुपर्ने देखिन्छ।
प्रस्ट छ, बाघका लागि अनुकूलन वासस्थान खुम्चिँदा अथवा विनाश हुँदा बाघले नयाँ वासस्थानको खोजी गर्छ तर सहरीकरण, विकास निर्माणका कारण बाघको सम्भावित वासस्थानमा मानवीय चाप बढ्दो छ। घना जंगलमा बस्न रुचाउने बाघले मानिसको उपस्थितिलाई रुचाउँदैन। मानिसलाई आक्रमण गर्नेमा अधिकांश घाइते बाघ, बुढो बाघ तथा हुर्कंदै गरेको डमरु हुने गरेको मानिन्छ। यो हिसाबले यस्ता समस्याग्रस्त बाघको आवागमनमा निगरानी व्यवस्थालाई सुदृढ पार्नुपर्ने देखिन्छ।
यसैगरी बाघको सम्भावित बसाइँसराइका लागि करिडोर कनेक्टिभिटी तथा पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना पनि उत्तिकै महत्त्वपूर्ण विषय हो। भारतसँग सीमा जोडिएका नेपालका संरक्षित क्षेत्रबाट भारतका संरक्षित क्षेत्रमा समेत बाघको आवागमन भइरहेको सन्दर्भमा दुवै देशले यी प्रजातिको संरक्षणमा थप प्रयास गर्न आवश्यक छ। वन्यजन्तुको चोरी–सिकारी रोक्न दुई देशले मिलेर प्रशासनिक कार्य पनि गरेका छन्। यसलाई नयाँ उचाइमा लग्न जरुरी छ।
जैविक मार्गको व्यवस्थापन, निगरानी व्यवस्थालाई सुदृढ पार्नुका साथै वन्यजन्तु र मानवबिचको सहअस्तित्वको भावनालाई थप सशक्त पार्न आवश्यक छ। त्यसो गर्न सकेमा मात्र दुर्लभ प्रजातिका रूपमा रहेको बाघको संरक्षण सम्भव हुने देखिन्छ।
प्रकाशित: १ मंसिर २०८२ ०६:०५ सोमबार