खेल नै यस्तो क्षेत्र हो, जसले नागरिकलाई मात्र होइन, देशलाई समत जोड्छ। कहिलेकाहीं त्यो राजनीतिक असहमतिको प्रदर्शनसमेत हुन पुग्छ। दक्षिण एसिया क्षेत्रमा भइरहेको एउटा खेल आयोजनाले सबैको ध्यान तानेको छ। आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटको दशौं संस्करण हर्षोल्लासबिच भारत र श्रीलंकमा शनिबार सुरु भएको छ। १९ वर्षे इतिहास बोकेको टी ट्वान्टी विश्वकप नेपालीका लागि झन् विशेष छ। किनकि नेपालले तेस्रो पटक विश्वकप खेल्दै छ। नेपालले सन् २०१२ मा पहिलोपल्ट विश्वकप खेलेको थियो। फेरि विश्वकप मञ्चमा पुग्न नेपाली खेलाडीले १० वर्ष पर्खनुप¥यो तर तेस्रो सहभागिता नेपालले लगत्तै बनायो।
लगातार दोस्रो विश्वकप खेल्न लागेको नेपाल इतिहास रच्न चाहन्छ। पछिल्ला दुई संस्करणमा भने समूहचरण पार गर्न सकेको छैन। यसपल्ट नेपाल छिमेकी राष्ट्रमा इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रँदै छ। यस विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। नेपाल दुई पल्ट विश्वकप विजेता रहेको समूह ‘सी’मा छ। नेपालले दुईपल्ट दुई च्याम्पियन इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्डसँग खेल्नेछ। समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। यही समूहबाट नेपाली टोलीले दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको छ।
आइसिसीको पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा नखेल्ने भएपछि यो समूहबाट दोस्रो चरणमा पुग्न एसोसिएट राष्ट्रका लागि थप सहज भएको छ। मुस्ताफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग (आइपिएल) बाट निकालिएपछि दुई देशबिच द्वन्द्व सिर्जना हुँदा त्यसको परिणाम बंगलादेशले भारतीय भूमिमा नै विश्वकप नखेल्ने निर्णय गरेको हो। आइसिसीले पनि बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेपछि विश्वकपमा थप विवाद सिर्जना भयो। आफू बंगलादेशको साथमा रहेको सन्देश दिन पाकिस्तानले पनि भारतसँग आगामी फेब्रुअरी १५ मा श्रीलंकामा हुने विश्वकप खेल नै बहिस्कार गरेको छ।
विश्व क्रिकेटका शक्ति राष्ट्र देशको राजनीतिमा पिल्सिरहेको समय नेपाल भने यस विश्वकपमा नयाँ इतिहास रच्न लक्ष्यमा छ। सोहीअनुरूप नेपाली टोलीले तयारी पनि गरिरहेको छ। नेपाल ५० ओभरको विश्वकपमा छनोट चरणसम्म मात्र पुग्न सकेको छ। तर, छोटो फरम्याटमा भने नेपाली टोली तीनपल्ट विश्व खेल्दै छ। एसोसिएट राष्ट्र अमेरिकाले घरेलु भूमिमा भएको गत विश्वकपमा सुपर आठसम्म स्थान बनाउँदै इतिहास बनाएको थियो। त्यही सफलताले नै अमेरिका यसपल्ट सिधै विश्वकप खेल्दै छ। नेपालका स्टार सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र कप्तान रोहित पौडेलजस्ता खेलाडीले भारतीय भूमिबाट क्रिकेट कल्चर सिकेका हुन्। अन्य क्रिकेटर पनि भारतीय पिचमा खेलेको अनुभव छ। धेरै नेपालीको यो खेलका लागि कर्मभूमि भारत हो।
त्यसैले विश्वकपका चारै प्रतिस्पर्धामा नेपालले राम्रो समर्थकको साथ पाउनेछ। सीमा जोडिएको देशमा विश्वकपमा हुँदा धेरै नेपाली समर्थक देशका लागि आउँदै छन्। यसले गर्दा नेपाली टोलीका लागि समर्थक १२औं खेलाडी बन्नेमा दुई मत छैन। नेपालले इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँग खेल्दा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। क्रिकेटको जन्मभूमिमा इङ्ग्ल्यान्ड हो। वेस्ट इन्डिज छोटो फरम्याटको क्रिकेटमा उत्कृष्ट टोली मानिन्छ। दुवै राष्ट्र नेपालका लागि सबैभन्दा चुनौती हुनेछ। नेपाली खेलाडीलाई सानो गल्ती गर्ने पनि छुट हुने छैन। विश्व मञ्चमा यी दुईमध्ये एक टोलीलाई मात्रै हराउन सकेमा नेपाली क्रिकेटका लागि विश्वकप जितेसरह नै हुनेछ। यो सफलताले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन ठुलो मद्दत गर्नेछ। यसले विश्वका फ्रेन्चाइज क्रिकेटमा नेपाली खेलाडीप्रति हेर्ने नजरमा सकारात्मक परिवर्तन आउनेछ। त्यसकारण यो विश्वकप देशका लागि मात्र होइन, खेलाडीको व्यक्तिगत वृत्तिविकासमा पनि ठुलो भूमिमा खेल्ने माध्यम बन्नेछ।
आइसिसीले क्रिकेटमा नेपाली समर्थकको आकर्षण देखेर नै आफ्ना सामाजिक सञ्जालमा नेपालबारे चर्चा गर्ने गर्छ। त्यो चर्चा सामाजिक सञ्जालमा मात्र होइन, विश्व खेल मैदानमा पनि हुन सके नेपाली क्रिकेटले ठुलो फड्को मार्नेछ। नेपालले विश्वकप क्रिकेटमा कुल सात खेल खेलेको छ। त्यसमध्ये दुई खेल मात्र जित्न सकेको छ।
नेपालले पहिलोपल्ट विश्वकपमा सहभागिता हङकङ र अफगानिस्तानलाई हराएको थियो। तर, पछिल्लो सहभागितामा नेपाल चारमध्ये एउटा पनि जित निकाल्न असफल भयो। तर, यसपल्ट भने नेपाल दुई वटा एसोसिएट राष्ट्रसँगै एउटा टेस्ट राष्ट्रलाई नै पराजित गर्ने लक्ष्यमा छ। नेपालको समूहमा रहेको इटालीले पहिलोपल्ट विश्वकप खेल्न लागेको हो। स्कटल्यान्डले भने सात पटक यस फरम्याटको विश्वकप खेलिसकेको छ। छनोटमा असफल भएर पनि विश्वकप खेल्न पाएको स्कटल्यान्ड कमजोर टोली भने होइन। एसोसिएट क्रिकेटका स्टार खेलाडी स्कटल्यान्डमा छन्।
इङ्ग्ल्यान्डकै संविधानअनुसार चल्ने स्कटल्यान्डले त्यहाँबाट क्रिकेटमा पनि धेरै पक्ष सिकेका छन्। तर, सन् २०२१ को विश्वकपमा सुपर १२ मा पुग्नुबाहेक स्कटल्यान्डको क्रिकेटका लागि सुखद बन्न सकेको छैन। भाग्यमानी रूपमा विश्वकपमा खेल्न पाएको स्कटल्यान्ड यसपल्ट अवसर खेर जान दिने पक्षमा छैन। युरोपेली क्रिकेटमा सनसनी मच्चाएको इटाली पनि एसोसिएट क्रिकेटमा स्थापित हुँदै गरेको राष्ट्र हो। विश्वकप अगाडि अभ्यास खेलमा इटालीले दुवै खेल एसोसिएट क्रिकेटका हस्ती क्यानडा र संयुक्त अरब इमिरेट्स (युएई) जस्ता ठुला राष्ट्रलाई हराएको छ। पछिल्लो १० खेलमध्ये आयरल्यान्ड, स्कटल्यान्ड र हङकङजस्ता राष्ट्रलाई स्तब्ध पार्दै आफूलाई उदाउँदै शक्तिका रूपमा स्थापित गरिरहेको छ। अस्ट्रेलियन मूलका खेलाडीको साथमा इटालीले सनसनी मच्चाइरहे पनि नेपाल कमजोर राष्ट्र भने होइन। गत वर्ष वेस्ट इन्डिजलाई हराउँदै नेपाली टोलीले पनि आफूलाई प्रमाणित गरिसकेको छ। क्यारेबियन राष्ट्रमाथि जितपछि नेपाली खेलाडीमा आत्मबल बढ्दै गएको देखिन्छ। फेरि एकपल्ट त्यस्तै जितको प्रतीक्षामा नेपाली खेलाडी छन्।
नेपालसँगै अनुभवी स्टार सोमपाल कामीका लागि पनि यो विश्वकप विशेष छ। विश्वकप मञ्चमा नेपालले डेब्यु गर्दा सोमपाल युवा स्टार थिए। उनै सोमपाल तेस्रोपल्ट विश्वकप खेल्दै छन्। ३१ वर्षे सोमपालका लागि सम्भवत यो विश्वकप अन्तिम हुन सक्नेछ। सोमपालले पनि आफ्नो तेस्रो सहभागिता यादगार बनाउन चाहन्छन्। नेपालका लागि तीन विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् सोमपाल। भारतबाट क्रिकेट सिकेका सोमपालका लागि यही भूमिमा विश्वकप खेल्नु अर्को ठुलो यादगार क्षण हो। जसलाई नेपालसँगै उनी पनि विशेष बनाउन चाहन्छन्। टोलीको १२औं खेलाडी ‘दर्शक’ पनि यो ऐतिहासिक जितमा साक्षी बन्ने पर्खाइमा छन्।
नेपालमा अहिले निर्वाचनको सँघारमा छन्। आगामी फागुन २१ गते निर्वाचनको मिति तय छ। दलहरू जनताको घरघरमा पुगिरहेका छन्। तर, जनताको मन भने भारतीय भूमिमा आफ्ना खेलाडीको प्रतिस्पर्धा गरेको हेर्ने पर्खाइमा छन्। जुन पर्खाइमा क्रिकेट जन्माउने राष्ट्र इङ्ग्ल्यान्डविरुद्ध आइतबार प्रतिस्पर्धासँगै पूरा हुनेछ। देशलाई नै एकतामा बाध्ने सबैभन्दा बलियो माध्यम नै खेल हो। निर्वाचनका समयमा एक उम्मेदवार र पार्टी अर्कोलाई आरोप लगाउँदै आफूलाई उत्कृष्ट बनाउने प्रयत्नमा छन्। यसले देशका जनताको मन पनि विभाजित भइरहेको छ। देशका राजनीतिले छुटिएका मनहरू छिमेकी राष्ट्रमा नेपाल खेलिरहँदा जोडिने आशा छ।
क्रिकेटको मैदानमा खेलाडीहरूले देखाउने संघर्ष, साहस र आत्मबलले देशलाई एक ढिक्का बनाउने छ। यही कामनासहित नेपाली टोलीलाई शुभकामना!
प्रकाशित: २५ माघ २०८२ ०६:०० आइतबार