सम्पादकीय

मीनबहादुरको मन

एउटा चर्चित गीत छ-‘धन हुनेको मन ठुलो कि मन हुनेको धन?’ धन र मनबिच कुनै साइनो छैन। धन हुनेको पनि मन नहुन सक्छ। मन हुनेसँग धन नहुन पनि सक्छ। धन हुने र मन पनि हुने भनेको ‘सुनमा सुगन्ध’ हो। हो, यस्तै अवस्थामा छन्– भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङ। 

अचेल मिनबहादुरलाई मन पनि ठुलै भएको व्यापारीका रूपमा चिनिन थालेको छ। उनले आफ्नो व्यापार विस्तार गर्दै आएका छन्। व्यापार विस्तारसँगै उनको सेवा कार्य पनि बढिरहेको छ। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई हस्तान्तरण गरेको इएचएस भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। साढे नौ करोड रूपैयाँ लागतको नवनिर्मित भवन शिक्षण अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो। 

आफ्ना स्वर्गीय मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा निर्मित उक्त भवनले उनको दानीपनको परिचय दिएको छ। उनले शिक्षण अस्पताललाई गरेको यो नै पहिलो सहयोग होइन। उनले यसअघि पनि पटक–पटक उल्लेख्य स्तरको योगदान गरेका छन्। उनले २०६८ सालमा १० करोड रूपैयाँको लागतमा आकस्मिक कक्षको भवन बनाइदिएको स्मृतिमा अझै छ। डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल निर्माणका लागि उनले गत वैशाखमा ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका थिए। आफूले कमाएको सम्पत्तिबाट सर्वजन हितका निम्ति उनले गर्दै आएको यो काम आफैंमा प्रेरक छ। यसले सार्वजनिक स्वास्थ्य सेवा विस्तार र गुणस्तरका निम्ति अनुपम योगदान पुर्‍याउन सक्छ। 

हामीकहाँ प्राय: व्यापार व्यवसाय गर्ने मानिसलाई होच्याउने गरिएको छ। कुनै पनि समाजमा उद्यमशीलताको प्रशंसा गर्नु, धनी हुन प्रयत्न गर्नु र विस्तारै त्यसबाट आएको मुनाफा बृहत्तर नागरिकका हितमा प्रयोग गर्न तत्पर हुने अवस्था आउनु सकारात्मक पक्ष हो। धन कमाउनुलाई नकारात्मक कामका रूपमा चित्रण गर्नु हुँदैन। प्रसिद्ध चिनियाँ दार्शनिक कन्फ्युसियसले धनी आचारयुक्त हुनुपर्नेमा जोड दिएका छन्। बेइमानी र अन्यायपूर्ण तरिकाले आर्जन गरिएको धनलाई अपमानका रूपमा उनले लिने गरेका छन्। उनले गरिबीकै अवस्थामा पनि नैतिक मान्यतालाई पालना गर्दै अघि बढ्नुलाई वास्तविक अर्थको कुलिनता मानेका छन्। कन्फ्युसियसले धनी वा गरिब जोसुकैलाई आफ्नो सामाजिक स्थितिअनुसार दायित्व निर्वाह गर्न निर्देश गरेका छन्। 

आफूले आर्जन गरेको निश्चित रकम सार्वजनिक हितका निम्ति दान गर्नु अत्यन्तै उपयुक्त कार्य हो। सामाजिक कार्यका निम्ति मीनबहादुरले गरिरहेको पछिल्लो दानकार्यलाई उनको पुण्यकर्मका रूपमा लिन सकिन्छ। सबैले कमाइ गरिरहेका छन्। धेरै धनीले धेरै गरुन, ठिक्कको आम्दानी हुनेले पनि निश्चित प्रतिशत समाज सेवा कार्यमा लगाउन् त्यसले स्वाभाविकरूपमा हाम्रो समाजमा समाजवादी चरित्र निर्माणमा मद्दत गर्न सक्छ। त्यसमा पनि हाम्रो संस्कार र संस्कृतिमा कुनै न कुनै रूपमा सहयोग गर्ने प्रवृत्ति रहेको छ। पश्चिमाहरूले भन्ने गरेको ‘फिलान्थ्रोपी’ हाम्रो संस्कार र परम्परामै रहेको छ। खालि अहिले त्यसलाई जगाउनु मात्र परेको छ। 

भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैले धन कमाएका भए पनि दानपुण्यको काम कमैले गरेको बताएका छन्। गुरुङ दम्पतिले गरेको यो ठुलो दानको उनले प्रशंसा गरेका छन्। यो कार्यबाट अरूलाई पनि प्रेरणा जाग्नु उचित हुन्छ। त्यसै पनि अचेल करर्पोरेट सोसल रेस्पोन्सिविलिटी (सिआरएस) अन्तर्गत यस्ता सेवाका निम्ति सबैलाई ठाउँ छ। कैयन ठुला संस्थाहरूले पनि कुनै न कुनै रूपमा यस्तो खर्च गर्दै आएका छन्। सकेसम्म यस्तो खर्च धेरै मानिसको हित कार्यमा लगाउनु उचित हुन्छ। 

भारतमा रतन टाटा यस्ता सेवा कार्यका निम्ति चर्चित थिए। गत वर्ष अक्टोबर ९ मा उनको निधन भए पनि उनको दानपुण्यको चर्चा निरन्तर भइरहन्छ। यस्ता असल कार्यका सन्दर्भमा उनलाई सम्झने धेरै मानिस छन्। त्यसैगरी विश्व प्रसिद्ध धनी मानिसमा बिल गेट्स, वारेन बफेट आदिको नाम यसको अग्रपंक्तिमा आउँछ। तिनले गरेको ठुलो दानले तिनको सम्पत्ति घटेन बरु तिनका कम्पनीको सेयर मूल्य बढ्यो। आम मानिसले यस्ता उदारमना व्यक्तिको दानपुण्यलाई ध्यानमा राखेर सकेसम्म तिनैका वस्तु तथा सेवा उपभोग गरेर अझ विस्तारित हुन मदत गर्छन्। कतिपय घटनाक्रममा भाटभटेनीका सञ्चालक विवादमा पनि आएका छन्। यस्ता व्यक्तिमाथि कतिपय अवस्थामा पूर्वाग्रह राखिएको पनि हुन सक्छ। त्यसमा पनि हाम्रोजस्तो मुलुकमा आफ्नो व्यापार व्यवसाय जोगाउन वा विस्तार गर्न पनि कुनै न कुनै राजनीतिक व्यक्तिको छाता ओढ्नु पर्ने बाध्यता हुन्छ। वास्तवमा कुनै पनि व्यक्तिले ढुक्कसँग काम गर्न सक्ने वातावरण बनाइदिनु राज्यको कर्तव्य हुन आउँछ।

कुनै पनि मानिस पूराका पूरा आदर्श नहुन सक्छ तर भाटभटेनीजस्तो व्यापारिक संस्थाको शृंखला खडा गर्ने र त्यसबाट आएको केही मुनाफा सार्वजनिक सेवामा लगाउने उनको यो कार्यको प्रशंसा नगरी रहन सकिँदैन। उनलाई यसका निम्ति साधुवाद भन्नुपर्छ। गुरुङ दम्पतिको शुभकार्य र उदारमना व्यवहार हाम्रो समाजमा फैलँदै जाओस् भन्ने अपेक्षा गर्नु अस्वाभाविक होइन। भवन हस्तान्तरण समारोहमा गुरुङले व्यक्त गरेका यी शब्दको मूल्य ठुलो छ। उनी भन्छन्, ‘भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरी सफा मनले सहयोग गर्न हामी तयार छौं।’ 

धन र मन दुबै ठुलो भएका मीनबहादुर दम्पतिलाई हेरेपछि ‘धन हुनेको मन ठुलो कि मन हुनेको धन ठुलो’ भनेर सोधिरहनु पर्दैन। धन हुनेको मन पनि ठुलो हुन्छ। यस्तो ठुलो मन भयो भने काम पनि ठुलै हुन्छ। धन पनि झन् बढ्दै जान्छ।

प्रकाशित: ३१ असार २०८२ ०६:०७ मंगलबार

#editorial #NagarikNews #Min Bahadur Gurung