सम्पादकीय

घाटाको व्यापार

मुलुकको व्यापार घाटाको तथ्यांक कहालीलाग्दो छ। हुँदाहुँदा अफगानिस्तान र भुटानजस्ता दक्षिण एसियाका मुलुकसँगको व्यापारमा पनि नेपाल पछि परेको देखिन्छ। युद्धग्रस्त मुलुक युक्रेनसँग समेत नेपालको व्यापार घाटा छ भन्दा आश्चर्य हुन्छ। यस्ता मुलुकबाट पनि बढ्ता सामग्री आयात गर्ने तर नेपालबाट त्यहाँ निर्यात बढाउन नसक्ने अवस्था आफैंमा चिन्ताको विषय हो। 

नेपालको वार्षिक सवा १५ खर्ब रुपैयाँको व्यापार घाटा रहेको छ। यस्तो व्यापार घाटा एक सयभन्दा बढी मुलुकसँग रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा डेढ सय मुलुकसँग व्यापार भएकोमा एक सय १५ देशसँग नेपालको व्यापार घाटा छ। करिब ३३ देशसँग मात्रै नेपालको व्यापार नाफा देख्न सकिन्छ। 

यस आर्थिक वर्षको साउनदेखि मंसिरसम्म वैदेशिक व्यापारमा नेपालको व्यापार घाटा ६ खर्ब  ४९ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ। नेपालले निर्यात गरेका सामग्रीबाट एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ आम्दानी भएको छ सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँका वस्तु आयात भएका छन्। यसले हाम्रो मुलुकको वैदेशिक व्यापारको गहिरो खाडल देखिाउँछ। व्यापार घाटा बढिरहँदा पनि यसलाई कम गर्ने र निर्यात व्यापार बढाउने गरी काम गरिएको छैन। यसका लागि नीतिगत निर्णय भए पनि व्यवहारमा व्यापारमा सुधार भएको अनुभूति छैन। 

व्यापार घाटाको ठुलो अंश चीन र भारतसँग छ। यी दुई मुलुकसँग नै नेपालको धेरै व्यापार हुँदै आएको छ। नेपालले यी मुलुकमा निर्यात गर्न सकिने वस्तुको उत्पादन बढाउने हो भने नि:सन्देह व्यापारको स्थिति भिन्न हुन्थ्यो। 

नेपालले विप्रेषणबाट प्राप्त आम्दानीमा गौरव गर्दै आएको छ। यसरी आएको रकमको ठुलो हिस्सा भने उपभोग्य सामग्रीमै खर्च हुने गर्छ। उपभोग्य सामग्रीको उत्पादन मात्र पनि देशमा हुन सक्ने हो भने अहिलेको व्यापार घाटा कम मात्र हुने थिएन, अझ नेपाल लाभको स्थितिमा पुग्न गाह्रो हुने थिएन। 

पाँच महिनामा भारतसँगको व्यापारमा नेपाललाई तीन खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ घाटा भएको छ। नेपालले भारतबाट चार खर्ब ३४ अर्ब ६४ करोड रुपैयाँका वस्तु आयात गर्दा ९५ अर्ब ४२ करोडका सामग्री निर्यात गरेको छ। नेपाल थोरै मात्र रणनीतिक हुने हो भने पनि यस्तो हुने थिएन। नेपालका खेतबारी बाँझा छन्। स्वदेशमा उत्पादन हुने कृषि तथा पशुजन्य उत्पादन बढाउन सके पनि व्यापार घाटा कम हुन्छ। पाँच महिनाकै अवधिमा करिब डेढ खर्बका कृषि तथा पशुजन्य वस्तु आयात भएका छन्। औद्योगिकीकरण हुन नसक्दा औद्योगिक उत्पादनमा परनिर्भरता छ। 

भारतजस्तै चीनसँगको व्यापार घाटा पनि कहालीलाग्दो छ। एक खर्ब ६३ करोड रुपैयाँ चीनसँगको व्यापारमा नेपाललाई घाटा भएको छ। नेपालले चीनबाट एक खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँका वस्तु तथा सेवा आयात गरेको छ। यसै अवधिमा नेपालले ४६ करोड ६८ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ। चीनबाट पनि नेपालमा आउने सामग्रीमा अटोमोबाइल आदि उच्च मूल्यका वस्तु छन्। नेपालले चीनमा पछिल्ला वर्षमा खाद्यान्न, घाँस आदि निर्यात गर्दै आएको छ। नेपालले व्यावसायिक रूपमा अन्न उत्पादन बढाउने हो भने चीनमा निर्यात गर्न सकिन्छ। 

भारत मात्र होइन, सार्क क्षेत्रका सबै मुलुकसँग नेपाल व्यापार घाटामै रहनु आफैंमा लज्जास्पद कुरा हो। कुनै बेला नेपाल बंगलादेश, भुटान आदि मुलुकभन्दा व्यापार नाफामा निकै अगाडि थियो। हेर्दाहेर्दै ती मुलुकले नेपाललाई जितेका छन्। आफ्नो मुलुकको व्यापार क्षमता बढाउन ती मुलुकले गरेको उल्लेख्य कामबाट नेपालले सिक्नु उचित हुन्छ। बंगलादेशले कसरी आफूलाई गार्मेन्टको उत्पादनमा अग्रणी बनायो भन्ने आफैंमा रोचक छ। नेपालले पनि त्यस्तो काम गर्न नसक्ने होइन। 

नेपालको पस्मिना, गलैंचा, गार्मेन्ट, चिया आदिको बजार गुम्नु पछाडिका कारण खोज्ने काम भएको छैन। जुन क्षेत्रमा नेपालले प्रगति गरेर अगाडि बढ्न लाग्छ, ती क्षेत्रमा ग्रहण लाग्न थाल्छ। नेपालले आफ्ना उत्पादनको गुणस्तर सुनिश्चित गर्न नसक्दा बजार गुमाएको अवस्था छ। नेपाललाई माया गर्ने संसारभरि विभिन्न मुलुक छन्। नेपालले गरेका गुणस्तरीय उत्पादनलाई तिनले गौरवपूर्ण ढंगले उपभोग गर्न सक्छन्। 

त्यसका लागि गुणस्तर सुनिश्चित हुनुपर्छ। नेपाली ब्राण्डका जुत्ता, चाउचाउ आदि सामग्री विदेश गएका छन्। नेपालले कुकुरका लागि छुर्पी अर्थात् ‘डग चिउ’ जस्ता विशेष वस्तु निर्यात गर्दै आएको छ। तर, आफ्नो बजार जोगाउन रणनीति भएन भने यसमा पनि अरू नै आउने खतरा रहन्छ। नेपाली गलैंचा, पस्मिना आदिको बजार गुम्नुका कथाबाट पाठ सिक्नु आवश्यक छ। 

प्रकाशित: १६ पुस २०८२ ०६:०८ बुधबार