सम्पादकीय

लुटेका हतियार र भागेका कैदी

भदौ २३ र २४ मा जेनजीको प्रदर्शनका क्रममा करिब ११ सयको हाराहारीमा हतियार लुटपाट भएको थियो। यस्ता हतियारमा सटगन, पेस्तोल, रिभलवर, राइफल, ग्यास गनलगायत छन्। यसैगरी हजारौंको सङ्ख्यामा गोलीगट्ठा र अन्य सुरक्षा सामग्री लुटिएको छ। यस क्रममा सबैभन्दा बढी काठमाडौंबाट मात्रै एक हजार १७ थान हतियार लुटिएको अभिलेख प्रहरीसँग छ। लुटिएका हतियार सङ्ख्या अझ धेरै हुन सक्ने आशंका छ।  प्रदर्शनीका क्रममा प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेका तस्बिर र भिडिओ भाइरल बनेका थिए। आन्दोलनका क्रममा प्रहरीलाई आत्मसमर्पण गर्न लगाउनेदेखि बर्दी र हतियार फुकाल्न लगाउने दुष्कार्यसमेत भएका थिए।

नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरिसकेको छ। आन्दोलनलगत्तै सैनिक तथा जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा लुटिएका हतियार, गोलीगट्ठा तथा सुरक्षा–सामग्री सुरक्षा–निकायलाई बुझाउन अनुरोध गरेको थियो। हतियारको दुरुपयोग भएमा जनधनको क्षतिसमेत हुन सक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। यसैगरी गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको साथबाट हराएका हतियार कोही व्यक्तिसँग भएमा फिर्ता गर्न असोज मसान्तसम्मको समय दिएको छ। गृहको सूचनामा यो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने र तोकिएको मितिपश्चात् कोही कसैसँग ती हराएका हतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

यी दुवै निकायले अनुरोध गरेयता लुटिएका हतियारमध्ये तीन सय हाराहारीमा फिर्ता अथवा बरामद भएका छन्। लुटिएकामध्ये केही हतियार सेनाले बरामद गरेको छ । हतियार तथा पेस्तोलसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ पनि गरेको छ । बाँकी आठ सयभन्दा बढी हतियार अझै गायब छन्।

लुटिएको हतियार आपराधिक समूह र लागुऔषध कारोबारीको हातमा पुगेको आशंका प्रहरीको छ। प्रहरीले शनिबार झापाबाट केही व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ भने असोज २१ गते कैलालीबाट एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। यसले के देखाउँछ भने लुटिएका हतियार देशभर पुगेका छन्।

हराएका यी हतियार खोज्न समिति बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीको दाबी छ। तैपनि ठुलो सङ्ख्यामा लुटिएका यी हतियारको दुरुपयोग हुँदा एकातिर सुरक्षा चुनौती बढेको छ भने अर्काेतिर सुरक्षाकर्मी हतियारविहीन हुनुपर्ने अवस्था आएको छ। कैलाली र झापामा लागुऔषध कारोबारीसँग हतियार फेला परेका घटनाले हतियार लागुऔषध कारोबारीको हातमा पुगेको आंशका प्रहरीको छ। यी समूहको हातमा पुगेका कारण हतियार फिर्ता हुन नसकेको र ढिलाइ भएको दाबी प्रहरीको छ। यसैगरी जेनजीको प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये पाँच हजार पाँच सय बढी बन्दी अझै फर्केका छैनन्। देशभरका २८ वटा कारागारबाट साढे १४ हजार कैदीबन्दी भागेका थिए।

यसरी ठुलो संख्यामा बन्दी नफर्केपछि उनीहरूबाट परिवार या समाजमा पुनः अप्रिय घटना हुन सक्ने आशंका बढेको छ। भागेका यी बन्दी गाउँघरमै लुकेर बस्ने र नभए छिमेकी राष्ट्र भागेर जाने सम्भावना एकातिर छ भने आपराधिक पृष्ठभूमि भएका कैदीले पुनः अपराध गर्न सक्ने सम्भावना उत्तिकै देखिएको छ। नेपाल प्रहरीका अनुसार भागेका बन्दीमध्येमा एक जनाले भारतमा पुगेर एकको हत्या गरेका छन् र एक जनाले पत्नीको हत्या गरेका छन्। एक बन्दी खुकुरी प्रहार गर्ने अपराधमा समेत संलग्न भएको प्रहरीको भनाइ छ। बन्दी अवधि पूरा नगरेका धेरैबाट पुनः अपराधको जोखिम हुने प्रहरीको तर्क सही छ। यसरी सुरक्षाका हिसाबले जेनजी प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी दुवै ठुला समस्या बनेका छन्। यी दुवै विषयलाई गम्भीरतापूर्वक हेरिनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो।

विशेषज्ञहरूको भनाइमा लुटिएका हतियारहरू गैरजिम्मेवार समूह वा व्यक्तिगत रिसइबीका घटनामा समेत प्रयोग भए यसले समाजमा अशान्ति फैलिन सक्छ। यसले एकातिर समाजमा भय, अविश्वास र अराजकता बढाउने जोखिम रहन्छ भने अर्कातिर दीर्घकालीन सुरक्षा संकट निम्तिन सक्छ। अहिले सरकारले सुरु गरेको हतियार पुनः प्राप्ति गर्ने विशेष अभियानलाई अझ सशक्त पार्नुपर्ने आवश्यकता छ। यसैगरी फरार बन्दीलाई फिर्ता गर्न प्रहरी प्रशासनलाई आम नागरिकको सहयोग उत्तिकै अपरिहार्य छ। यी दुवै विषयलाई सम्बोधन गर्न सरकारले चालेको अभियानलाई नागरिक समाज र आम जनताको सहयोग आवश्यक छ। सम्बद्ध सबै पक्षको तदारुकता र सहकार्यले सम्भावित हिंसा र अराजकता रोक्न सहज हुन्छ। यसमा कुनै हेलचक्रयाइँ गरिएमा यसको मूल्य निकै ठुलो हुनेछ। अन्यथा सर्वसाधारणको जीवन जोखिममा हुन्छ।  

प्रकाशित: २७ आश्विन २०८२ ०६:०५ सोमबार