सम्पादकीय

जलवायु कार्यमा परनिर्भरता कहिलेसम्म?

कोप–३१ मा नेपालले हिमालको मुद्दालाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिको औपचारिक कार्यसूचीमा स्थापित गर्न भरमग्दुर प्रयास गर्‍यो। नेपाल, भुटान र किर्गिस्तानले अघि सारेको पर्वतीय मुद्दाले सम्मेलनको अन्तिम चरणमा केही स्थान पाए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन।

सम्मेलनमा अघि सारिएको आवरण निर्णयमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी दुईवर्षे कार्ययोजना समेटिएको थियो। अन्तिम समयमा आवरण निर्णय नै पारित हुन नसकेपछि हिमालसम्बन्धी प्रस्ताव पनि औपचारिक निर्णय बन्न सकेन।

नेपालको कूटनीतिक प्रयासको बाबजुद प्रगति हुन नसक्नु दु:खद हो तर हिमालको मुद्दा अन्तर्राष्ट्रिय जलवायु वार्तामा स्थापित गर्ने प्रयास यहीं रोकिनुहुँदैन। आगामी कोप–३२ सम्म नेपालले अझ बलियो तयारी, क्षेत्रीय सहकार्य र वैज्ञानिक प्रमाणसहित यो मुद्दा पुन: उठाउनुपर्छ। त्यसका लागि नेपालको जलवायु कुटनीतिलाई थप सशक्त र प्रभावकारी पार्नुपर्नेछ। त्यसो त, अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनु मात्र नेपालको जलवायु प्राथमिकता पूरा गर्ने बाटो होइन। कोप–३१ को समापन र असफलतापछिको सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको नेपालले आफ्नै देशभित्र जलवायु कार्यलाई कसरी गति दिन्छ र त्यसका लागि आवश्यक स्रोत कसरी जुटाउँछ भन्ने हो।

नेपालले जलवायु परिवर्तनका क्षेत्रमा महत्वाकांक्षी प्रतिबद्धता जनाएको छ। तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन गर्न सरकारले सन् २०३५ सम्म एक खर्ब १४ अर्ब ७५ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। यसमध्ये उत्सर्जन न्यूनीकरणका लागि मात्रै ७३ अर्ब ७४ करोड डलर चाहिन्छ। उक्त रकमको ८५ प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय जलवायु वित्त र सहयोगबाट जुटाउने नेपालको अपेक्षा छ। आफ्नै स्रोतबाट जुटाउने प्रतिबद्धता भने १० अर्ब ८२ करोड ४० लाख डलर मात्र छ। अनुकूलन, हानि तथा नोक्सानीलगायतका कार्यक्रमका लागि थप स्रोत आवश्यक छ।

विश्वव्यापी आर्थिक अनिश्चितता, विकसित मुलुकहरूको सहायता प्रतिबद्धतामा देखिएको सुस्तता र अन्तर्राष्ट्रिय जलवायु वित्तको सीमित उपलब्धताबिच नेपालले आफ्नो कार्ययोजनाको ठुलो हिस्सा बाह्य सहयोगबाटै जुट्ने अपेक्षा गर्नु जोखिमपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ तर त्यसैको प्रतीक्षामा आफ्ना कार्यक्रम रोक्नु झन् प्रत्युत्पादक हुनेछ।

नेपालले जलवायु वित्त जुटाउन वैकल्पिक उपाय तत्काल खोज्नुपर्छ। पहिलो, हरित ऋणपत्र जारी गर्ने सम्भावना अघि बढाउन सकिन्छ। सरकारले जलविद्युत्, विद्युतीय यातायात, जलवायुमैत्री पूर्वाधार, बाढी नियन्त्रण र जलाधार संरक्षणजस्ता क्षेत्रमा लगानी जुटाउन हरित ऋणपत्र प्रयोग गर्न सक्छ। ऋणपत्रबाट उठेको रकम कहाँ खर्च भयो र त्यसले कस्तो परिणाम दियो भन्ने पारदर्शी व्यवस्था अनिवार्य हुनुपर्छ। दोस्रो, सरकारले आफ्नै राजस्वको निश्चित हिस्सा जलवायु कार्यका लागि छुट्याउने नीति बनाउनुपर्छ।

पेट्रोलियम पदार्थको बिक्री तथा आयातमा लाग्ने विद्यमान करको केही हिस्सा जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणमा खर्च गर्ने व्यवस्था गर्न सकिन्छ। आवश्यक परे सामाजिक न्यायलाई ध्यानमा राखेर सीमित जलवायु शुल्क लगाउने विकल्प पनि अध्ययन गर्नुपर्छ। तेस्रो, जलवायु वित्तलाई सरकारी बजेटको एउटा शीर्षकमा सीमित नराखी निजी क्षेत्र र स्थानीय सरकारको लगानीसमेत परिचालन गर्नुपर्छ। जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणजस्ता क्षेत्रमा ऋणको बोझ थप्नुको सट्टा अनुदान र आफ्नै सार्वजनिक स्रोतलाई प्राथमिकता दिनुपर्छ।

अहिले जलवायु कार्यक्रम विभिन्न मन्त्रालय, निकाय र तहमा छरिएका छन्। एउटै प्रकृतिका कार्यक्रम दोहोरिने, बजेट खर्च नहुने र जिम्मेवारी स्पष्ट नहुने समस्या हटाउन एकीकृत कार्यान्वयन तथा अनुगमन प्रणाली आवश्यक छ। एनडिसी ३.० ले निर्धारण गरेका लक्ष्यलाई वार्षिक बजेट, क्षेत्रगत कार्यक्रम र स्थानीय तहका योजनासँग जोड्नुपर्छ। जलवायु बजेटको प्रभावकारिता मापन गर्ने प्रणाली पनि बनाउनुपर्छ।

सँगसँगै नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तका लागि आफ्नो दाबी कमजोर बनाउनुहुँदैन। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु संकटको असर असमान रूपमा भोग्नुपरेको छ। त्यसैले जलवायु न्याय, अनुकूलन वित्त र हानि तथा नोक्सानीको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय दबाब जारी राख्नुपर्छ। न्यायको माग गर्दैगर्दा आफ्नै जिम्मेवारीबाट पन्छिन मिल्दैन।

अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री र मन्त्रीहरूले गर्ने भाषण, प्रस्तुत गर्ने प्रतिबद्धता र उठाउने मुद्दाको महत्व छ तर त्यसको वास्तविक अर्थ देशभित्र हुने कार्यान्वयनले मात्र पुष्टि गर्छ। हिमाललाई औपचारिक अजेन्डा बनाउन नसकेको निराशालाई नेपालले घरेलु जलवायु कार्यको अवसरमा बदल्नुपर्छ।

आगामी कोपमा कसरी प्रस्तुत हुने भन्ने तयारीसँगै देशभित्र के गर्ने र त्यसका लागि पैसा कहाँबाट जुटाउने भन्ने स्पष्ट योजना बनाउनु आवश्यक छ। अब नेपालको जलवायु कूटनीतिको सफलता अन्तर्राष्ट्रिय मञ्चमा उठाएको आवाजले मात्र होइन, आफ्नै स्रोत परिचालन गरेर नागरिकको जीविका र पूर्वाधारलाई जलवायु जोखिमबाट कति सुरक्षित बनाउन सक्यो भन्नेले मापन हुनुपर्छ। 

प्रकाशित: ९ मंसिर २०८३ ०६:२२ बुधबार

Download Nagarik App